किसानलाई प्राङ्गारिक प्रमाणीकरण चिन्ह प्रदान

किसानलाई प्राङ्गारिक प्रमाणीकरण चिन्ह प्रदान
सुन्नुहोस्

सिन्धुपाल्चोक : सिन्धुपाल्चोकको पाँचपोखरी थाङ्पाल गाउँपालिका-३ भोताङका किसानलाई प्राङ्गारिक प्रमाणिकरण चिन्ह तथा प्रमाणपत्र प्रदान गरिएको छ।

भोताङ क्षेत्रमा रासायनिक मलको प्रयोग नगरी तरकारी तथा बाली उत्पादन गरिरहेका ४० कृषकलाई प्राङ्गारिक प्रमाणिकरण चिन्ह तथा प्रमाणपत्र प्रदान गरिएको हो। ‘हामीलाई यस अघि अर्गानिक के हो र रासायनिक के हो भन्ने नै थाहा थिएन, तैपनि आफूले जानेको सीप प्रयोग गरेर कृषि उपज उत्पादन गरिरहेका थियौं,' चिन्ह तथा प्रमाणपत्र ग्रहण गर्दै कृषक सुमेश तामाङले भने, 'हामीले कृषि उत्पादनमा कहिल्यै पनि रासायनिक मल प्रयोग गरेनौं। रासायनिक मल लिनको लागि दिनभर धाउनुपर्ने, भनेको समयमा नपाइने भएपछि नजानिकनै भए पनि स्थानीय गोबर, पातपतिङ्गरको मलमात्रै प्रयोग गर्दै आयौं।’

आफूहरूले उत्पादन गरेको कृषि उपजलाई प्राङ्गारिक भएको भन्दै प्रमाणिकरण चिन्ह तथा प्रमाणपत्र प्रदान गरेकोमा खुसी लागेको उनले सुनाए। ‘हामीले उत्पादन गरेको कृषिउपज विषादीरहित र स्वस्छ रहेको भन्ने प्रमाणित हुँदा खुसी त लागेकै छ, तर सँगसँगै केही दुःख पनि लागेको छ,' तामाङले भने, 'हामी यहाँ रासायनिक मल, विषादी नहालिकनै आलु, तरकारीहरू लगाउँछौं। तर त्यसको बजार छैन। हाम्रो उत्पादन बारीमै कुहिएर गएका छन्।’

कृषि उत्पादनलाई बजारीकरणमा सहयोग गर्ने हो भने भोताङका कुनै पनि युवा रोजगारीको लागि नविदेशिने उनले बताए। ‘बजारीकरणको समस्या त छँदैछ, बन्यजन्तुले समेत दुःख दिइरहेको छ। एक त लगाएको बाली खेतबारीमै कुहिन्छ, बाँकी भएको पनि बाँदर, बँदेल, दुम्सीजस्ता जनाबरले सखाप पार्छन्। हामी दोहोरो मारमा परिरहेका छौं,' उनले भने। उनले स्थानीय सरकारसँग बजार व्यवस्थापनसँगै कृषि विमाको कार्यक्रम ल्याउन ध्यानाकर्षण गराए।

पाँचपोखरी थाङ्पाल गाउँपालिका कृषि विकास शाखाको सहयोगमा सेर्च्यु बरलो साना किसान कृषि सहकारी संस्थाद्वारा सञ्चालित सहभागीतामूलक गुणस्तर निर्धारण प्रणाली (पि.जि.एस) अन्तर्गत प्राङ्गारिक प्रमाणिकरण चिन्ह तथा प्रमाणपत्र वितरण गरिएको कृषि शाखा प्रमुख निमराज गिरीले जानकारी दिए। प्राङ्गारिक सूचक पूरा गरी अर्गानिक कृषि उपज उत्पादन गरिरहेका किसानको छनौट गरी चिन्ह तथा प्रमाणपत्र प्रदान गरेको उनले बताए।

किसानलाई प्राङ्गारिक चिन्ह तथा प्रमाणपत्र प्रदान गर्दै गाउँपालिका अध्यक्ष टासी लामाले यो प्रमाणिकरणले गाउँपालिकालाई चिनाउन मद्धत पुग्ने बताए। ‘पाँचपोखरीको भोताङमा विषदी नहालेको तरकारी र कृषिजन्य खाद्यवस्तु उत्पादन हुन्छ भन्ने सन्देश तपाईँहरूले पाउनु भएको प्रमाणिकरण चिन्हले प्रष्ट्याएको छ,' लामाले भने।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.