२०८१ सालका लागि १५ पात्रोलाई स्वीकृति

२०८१ सालका लागि १५ पात्रोलाई स्वीकृति
सुन्नुहोस्

काठमाडौं: नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले विसं २०८१ का लागि १५ पात्रो (पञ्चाङ्ग)लाई स्वीकृति दिएको छ। विसं २०८१ का लागि समितिले १५ वटा पात्रो (पञ्चाङ्ग)लाई स्वीकृति दिने निर्णय गरेको कार्यकारी निर्देशक सूर्यप्रसाद ढुङ्गेलले जानकारी दिए। स्वीकृति दिएका पात्रो माघ १५ गतेदेखि बजारमा आउने समितिले जनाएको छ।

आगामी वर्षका लागि तोयनाथ पन्तको, बाबुराम, नरनाथ, हिमाल, अठोला,  तारकेश्वर, सूर्य, आकाश दर्शन, बङ्गलामुखी, शुभ, बाबा गोरखनाथ, कीर्ति, सिद्धि, खप्तड तारानाथ र गौरीशङ्कर गरी १५ पात्रो (पञ्चाङ्ग) लाई स्वीकृति दिने निर्णय गरिएको समितिका सदस्य सचिवसमेत रहेका कार्यकारी निर्देशक  ढुङ्गेलले जानकारी दिए। समितिले विसं २०७९ देखि प्रकाशन सुरु गरेको ‘राष्ट्रिय पञ्चाङ्गम्’लाई पनि निरन्तरता दिइने जनाइएको छ।  

विसं २०७६ सम्म पुस अन्तिम साता नै पात्रो (पञ्चाङ्ग) प्रकाशन भइसक्थ्यो। विसं २०७७ पुस २० गते मन्त्रिपरिषद्ले समितिको गठन आदेश स्वीकृत गरेको थियो। त्यसअघि मन्त्रालयको पत्रका आधारमा मात्र समिति गठन भएर पात्रोलाई स्वीकृति दिने गरिएको थियो। गठन आदेश अनुसार समितिले स्वीकृति दिएका पात्रोमात्र प्रयोग गर्न आम मानिसलाई सूचना प्रकाशन गरी आह्वान गरिएको छ। 

पात्रोमा राखिने तिथि, बार, योग, नक्षत्र र करण गरी पाँच समूहलाई पञ्चाङ्ग भनिन्छ। पछिल्लो समय सामान्य मानिसले पनि बुझून् भनी घडीपलालाई बजेमा रुपान्तरण गरेर समेत पात्रोमा राखिने गरेको छ। पात्रोलाई अझै सुधार गर्नुपर्ने माग पनि उठ्ने गरेको छ जसअनुसार समितिले प्रत्येक वर्ष केही न केही सुधार गर्ने गरेको जनाइएको छ।

विसं २०७९ देखि नै समितिले भित्तेपात्रोलाई व्यवस्थित गर्ने भनिए पनि ठोस काम हुन सकेको छैन। विगतका दुई वर्ष स्वीकृति लिएरमात्र भित्तेपात्रो प्रकाशन गर्न समितिले सूचना प्रकाशन गरेको थियो। जसलाई यस वर्ष पनि निरन्तरता दिइएको छ तर स्वीकृति नलिएका भित्तेपात्रो प्रकाशन भए पनि समितिले कुनै कारबाही भने गरेको छैन। कारबाही गर्ने निर्देशिका नबनेकाले विगत वर्ष स्वीकृति नलिएका भित्तेपात्रोलाई केही गर्न नसकिएको उनले स्वीकारे। 

समितिको स्वीकृतिमा पात्रो निस्किएपछि त्यही सारेर भित्तेपात्रो प्रकाशन हुने गरेकाले त्यसलाई व्यवस्थित गर्न लागिएको हो। विसं २०७९ देखि नै भित्तेपात्रोलाई व्यवस्थित गर्न स्वीकृति लिन आउनु भनी समितिले सूचना प्रकाशन गरेको थियो। 

तर भित्तेपात्रो प्रकाशन गर्नेहरुले समितिसँग समन्वय गरेका छैनन्। यस वर्ष भने संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले निर्देशिका तयार पारेको छ। जसअनुसार मन्त्रालयका संस्कृति महाशाखा प्रमुख सहसचिवको संयोजकत्वमा गृह मन्त्रालयका प्रतिनिधिसहित सरोकार भएका निकायकासमेत प्रतिनिधिको सहभागितामा अनुगमन गरिने जनाइएको छ।

अनुगमन समितिले आवश्यकताअनुसार उपसमितिसमेत गठन गर्न सकिने जनाएको छ। निर्देशिका बनिसकेकाले यसपटक भने अनुगमनपछि स्वीकृति नलिई प्रकाशन हुने पात्रो र भित्तेपात्रोका प्रकाशक र सम्पादकलाई कारबाही गरिने भएको छ। समितिले स्वीकृति दिएका पात्रो सारेर भित्तेपात्रो प्रकाशन गर्ने तर स्वीकृति नलिनेलाई कारबाही गर्ने तयारी गरिएको हो।

सूचना तथा प्रसारण विभागले मात्र समितिको स्वीकृतिमा भित्तेपात्रो प्रकाशन गर्ने गरेको अध्यक्ष श्रीकृष्ण अधिकारीले जानकारी दिनुभयो। अन्य भित्तेपात्रो भने विभागको भित्तेपात्रो र समितिले स्वीकृति दिएका पात्रो (पञ्चाङ्ग) सारेर प्रकाशन हुने गरेकाले प्रतिलिपि अधिकारसम्बन्धी कानुनअनुसार पनि कारबाही प्रक्रिया अघि बढाउने विषयमा पनि छलफल सुरु भएको समितिले जनाएको छ। 

विगत वर्षजस्तो यस वर्ष भने स्वीकृति नलिएका पात्रो र भित्तेपात्रोलाई कानुनी कारबाही हुनबाट कसैले बचाउन नसक्ने भएकाले सचेत हुन समितिले आह्वान गरेको छ। रासस


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.