घातक निर्णय

लुम्बिनीका पहिचान सिध्याउँदै ल्हारक्याल

लुम्बिनीका पहिचान सिध्याउँदै ल्हारक्याल

विवादित छविका व्यक्तिलाई लुम्बिनी विकास कोषको उपाध्यक्ष नियुक्त गरेपछि वर्तमान सरकारको चर्काे आलोचना भयो। आलोचनालाई पचाउँदै प्रधानमन्त्री प्रचण्डले उपाध्यक्ष नियुक्त भएका डा. ल्हारक्याललाई पार्टीको उच्च नेता भन्दै बचाऊ गरे। त्यसको गुन तिर्न लामाले प्रधानमन्त्री प्रचण्डका ‘खास मान्छे’ अर्थात् पूर्वघरबेटीका छोराको कम्पनीलाई बुद्धको अस्तुधातु भएको रामग्राम लिज सुम्पने निर्णय गरिदिएका छन्। पुरातात्विक महत्वको स्थल विनाप्रतिस्पर्धा लिजमा दिने निर्णयको विरोध बुद्धजन्मस्थलबाटै भइरहेको छ।

परासी : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’गत मंसिर २६ गते रामग्राम स्तूपमा आयोजना गरिएको एक कार्यक्रममा पुगेर स्तूप क्षेत्रको विकासका लागि सरकारले चासो दिने प्रतिबद्धता व्यक्त गरेका थिए। लुम्बिनी विकास कोष र प्रमिस्ड ल्यान्ड नामक एक निजी कम्पनीले आयोजना गरेको ‘विश्व शान्तिका लागि दीप प्रज्वलन’ कार्यक्रममा सहभागी हुन प्रधानमन्त्री प्रचण्ड तामझामसहित आएका थिए। 

स्तूप क्षेत्रमा लुम्बिनी विकास कोषसँग एक निजी कम्पनी प्रमिस्ड ल्यान्ड आयोजक कसरी भयो भन्ने धेरैलाई जिज्ञासा बढेको थियो। त्यसको दोहोरो साइनो जब खुल्यो, जब कोषका उपाध्यक्ष ल्हारक्याल लामाले उक्त कम्पनीलाई बुद्धको अस्तुधातु भएको रामग्राम लिज सुम्पने निर्णय गरे। खासमा उक्त कम्पनीका प्रमुख निकेश अधिकारी रहेछन्, जो प्रधानमन्त्री प्रचण्डका पूर्वघरबेटी शारदाप्रसाद अधिकारीका छोरा हुन्। स्तूप क्षेत्रको संरक्षण र पुनस्र्थापनाका लागि प्रधानमन्त्रीको प्रतिबद्धता अन्ततः फरक स्वार्थ खेलमा गएर टुंगिएको छ। यससँगै स्थानीयवासीसँगै राजनीतिक दलहरूले त्यसको बिरोध गरेका गर्न थालेका छन्। 

विवादित छविका व्यक्तिलाई लुम्बिनी विकास कोषको उपाध्यक्ष नियुक्त गरेपछि वर्तमान सरकारको चर्काे आलोचना भयो। आलोचनालाई पचाउँदै प्रधानमन्त्री प्रचण्डले उपाध्यक्ष नियुक्त भएका डा. ल्हारक्याललाई पार्टीको उच्च नेता भन्दै बचाऊ गरे। त्यसको गुन तिर्न लामाले प्रधानमन्त्री प्रचण्डका ‘खास मान्छे’ अर्थात् पूर्वघरबेटीका छोराको कम्पनीलाई बुद्धको अस्तुधातु भएको रामग्राम लिज सुम्पने निर्णय गरिदिएका छन्। पुरातात्विक महत्वको स्थल विनाप्रतिस्पर्धा लिजमा दिने निर्णयको विरोध बुद्धजन्मस्थलबाटै भइरहेको छ।

जसले गरिरहेछन् घातक निर्णय

भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनीका मुख्य दुई पहिचान सिध्याउन ल्हारक्याल लागिपरेका छन् भन्ने यो र अर्को एउटा गरी दुई निर्णयले पुष्टि गर्छन्– 

१. मायादेवी मन्दिर भत्काउने 

उनी उपाध्यक्ष भएको एक महिना नपुग्दै घोषणा गरे– लुम्बिनीस्थित मायादेवी मन्दिर भत्काएर पुनर्डिजाइन गरी अर्को निर्माण गर्ने। लुम्बिनी विकास कोषको उपाध्यक्ष भएपछि पहिलो (गत साउन २६ गते) निर्णय लुम्बिनी विकास कोषको कार्यालय काठमाडौंमा खोल्ने गरे।

null

उपाध्यक्ष ल्हारक्याल लामाले त्यसपछि मायादेवी मन्दिर भत्काएर नयाँ डिजाइन गर्ने गरे। त्यसको वक्तव्यबाजी मात्रै होइन, मन्दिर भत्काएर बनाउन ७ करोड रुपैयाँ आफूले दिने विवादास्पद घोषणा गरे। उनको यो निर्णयको मसी सुक्न नपाउँदै स्थानीयको चर्को विरोध भयो। विकास कोषका अन्य अधिकारी र कर्मचारीहरूले उपाध्यक्षका निर्णयमा असहमित जनाए।

२. बुद्धको अस्तुधातु भएको स्थल लिजमा दिने 

बुद्धस्मारक स्थलमध्ये रामग्राम निकै महत्वपूर्ण स्थल हो। जहाँ बुद्धको अस्तुधातु अहिलेसम्म अविभाज्य र सुरक्षित रूपमा छ। त्यही महत्वपूर्ण पवित्रस्थलको अस्तुधातुकै अस्तित्व नामिट्यान्न पार्ने योजना मुताबिक विकास कोषका उपाध्यक्ष लामाले निजी कम्पनीलाई लिजमा दिने सहमति गरेका छन्। उनको यो निर्णयमा संस्कृति तथा नागरिक उड्ययन मन्त्रालयले साथ दिएको छ। स्रोतका अनुसार, जुन सम्झौता भएको छ, त्यो प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को रुचिमुताबिक छ। 

बुद्ध पहिचानमा संकटको चिन्ता

विकास कोषका उपाध्यक्षमा लामाको नियुक्तिपछि बुद्ध जन्मस्थल र स्मारक स्थलहरूकै अस्त्वि संकटमा परिरहेको चिन्ता सुरु भएको छ। बौद्ध विद्वान्हरूले नियुक्तिकै अवधिदेखि लामाको क्रियाकलापमा संशय व्यक्त गरेका थिए।

साधारण मानिसले हेर्दा विकास कोषका उपाध्यक्ष डा. ल्हारक्याल लामा बौद्ध बस्त्रमा देखिन्छन्। सार्वजनिक समारोहमा उनी लामा चरित्रमा प्रकट हुन्छन्। तर, उनको भित्री पहिचान भने बेग्लै छ। उनको निजी जीवनसमेत लामा चरित्रभित्र नरहेको टिप्पणी उनकै समुदायबाट हुने गरेको छ।

नवलपरासी सदरमुकाम परासीदेखि करिब ५ किमि दक्षिण पूर्वमा रहेको रामग्राम नगरपालिका–७ उजैनीमा शान्तिका अग्रदूत गौतम बुद्धको अस्तुधातु रहेको स्तूप छ। स्थानीयवासीहरूले भने जग्गा अधिग्रहणको प्रक्रिया नै नथाली लिजमा दिने कुराले शंका उत्पन्न गराएको बताएका छन्।

‘स्थानीयवासीहरूले वर्षौंदेखि जोतभोग गर्दै आएका जग्गाहरूको मूल्य कति हुने ? स्थानीयहरूसँग जग्गाको मूल्यबारे छलफल पनि भएको छैन। एकैपटक लिजमा दिने कुरा सुनिएको छ। यो मान्य हुँदैन’, स्थानीय राधेरमण पाण्डेले भने। जग्गा अतिग्रहण गर्दा धेरै स्थानीयहरू विस्थापित हुने भएकाले सर्वसाधारण र जग्गाको व्यवस्थापन नगरी हचुवाको भरमा लिजमा दिने कुराले स्थानीयस्तरमा विरोध हुने पाण्डेको भनाइ छ। ‘लिजमा होइन, यति ठूलो महत्व बोकेको क्षेत्रको सरकारीस्तरबाटै संरक्षण र विकासका काम गर्न जरुरी छ,’ पाण्डेले भने। 

अर्का स्थानीय एवं नागरिक समाजका पूर्वअध्यक्ष शम्भुप्रसाद उपाध्यायले प्रधानमन्त्री प्रचण्ड रामग्राममा आउँदा निजी कम्पनीलाई ठेक्कामा स्तूप क्षेत्रमा संरचना निर्माण गर्न लुम्बिनी विकास कोषले समझदारी पत्रमा हस्ताक्षर गरेको विषयले चर्चा पाएको बताए। ‘लुम्बिनी विकास कोष आफैंले नगरेर कम्पनीलाई दिन खोज्नु रामग्रामको विकास हुन नदिने षड्यन्त्र हो। यो हामीलाई कुनै हालमा स्वीकार्य छैन,’ उपाध्यायले भने। निजी कम्पनीलाई लिजमा दिनु भनेको स्तूपमा रहेको विश्वमै एक मात्र अस्तुधातु निकालेर ब्यापार गर्ने षड्यन्त्र भएको उपाध्यायको भनाइ छ।

  nullलिजमा दिने निर्णय गरिएको रामग्राम क्षेत्र । तस्बिर :  हरि शर्मा

स्तूप क्षेत्रलाई लिजमा दिने विषयप्रति जिल्लाका राजनीतिक दलहरूले समेत आपत्ति जनाएका छन्। विश्वको ऐतिहासिक स्थलको संरक्षण र विकासमा सरकार आफैं लाग्नुपर्ने जसपाका जिल्ला अध्यक्ष धरेन्द्र यादवले बताए। ‘हामीले त प्रधानमन्त्री आउँदा पनि लिजमा दिने विषयको विरोध गरेका थियौं। हरेक कार्यक्रममा विरोध गर्दै आएका छौं।लिजमा दिइयो भने यसको महिमा धरापमा पर्छ, हामी जिल्ला स्तरमा आन्दोलनसमेत गर्छौं’, अध्यक्ष यादवले भने।

नेपाली कांग्रेसका कार्यवाहक जिल्ला सभापति विक्रम यादवले पनि लिजमा दिने विषयप्रति आपत्ति जनाएका छन्। ‘सरकारी सम्पदाको संरक्षण र विकास सरकारीस्तरबाटै हुनुपर्छ। कुनै निजी कम्पनीलाई दिने विषय सान्दर्भिक हुँदैन। यसको हामी खुलेर विरोध गर्छौंं’, कार्यवहाक सभापति यादवले भने। 

पुरातत्व दृष्टिकोणले महत्वपूर्ण भएको भन्दै लुम्बिनी विकास कोषले कुनै पनि निकायलाई संरचना निर्माण गर्न दिने गरेको छैन। ‘स्तूप क्षेत्रको विकासका लागि स्थानीय सरकारले काम गर्न खोज्दा लुम्बिनी विकास कोषले दिएन। हाम्रो चाहना यस क्षेत्रको विकास नै हो’, रामग्राम नगरपालिकाका मेयर धनपत यादवले भने। रामग्राम स्तूप क्षेत्रलाई लिजमा दिने कुरा सुनिएको बताउँदै त्यो कस्तो प्रकारको लिज हो ? भन्नेमा आफूलाई जानकारी नभएको बताए। ‘कुन किसिमको लिज हो ? लिजमा दिने हो भने आर्थिक नियमावलीअनुसार टेन्डरमा जानुपर्ने होला। फेरि लिजमा लिने कम्पनीले संरचना बनाएर नेपाल सरकारलाई हस्तान्तरण गर्ने हो या आफैं सञ्चालन गर्ने हो ? त्यसबारे आफू जानकार नभएकाले त्यसबारेपछि बुझेर थप प्रतिक्रिया दिउँला’, मेयर यादवले भने। 

nullबुद्ध अस्तुधातु रहेको स्थान रामग्राम। तस्बिर : हरि शर्मा

रामग्रामको विकासका लागि लुम्बिनी विकास कोषले समेत विदेशी दाताहरूको सहयोगमा काम गर्न सकिने अवधारणा बनाएको छ। तर, उक्त अवधारणाअनुसार निजी कम्पनीमार्फत रामग्रामको विकासका लागि काम अघि बढाउने गलत निर्णय लिएको छ। विदेशी दाताहरूलाई सहयोगको वातावरण सिर्जना गर्न पनि प्रधानमन्त्री प्रचण्डलाई निजी कम्पनीको पहलमा रामग्राम बोलाइएको त्यसबेला चर्चा भएको थियो। रामग्रामको विकासका लागि सरकार प्रमुखसहित सरोकारवालाहरूको चासो रहेकाबारे स्वार्थयुक्त लगानीकर्तालाई सन्देश र विश्वास दिलाउन आवश्यक रहेकाले पनि प्रधानमन्त्री प्रचण्डलाई निजी कम्पनीले बोलाएको स्रोतले बतायो। 

‘कोष सहयोगी बनेको मात्रै हो’

रामग्रामको जमिन लिजमा दिने निर्णय नभएको दाबी उपाध्यक्ष लामाले गरेका छन्। सोमबार विज्ञप्ति जारी गर्दै उनले लिजमा दिने निर्णय नभएको जिकिर गरेका हुन्। रामग्राम निजी क्षेत्रलाई दिने भन्ने विषयमा सत्यता नरहेको बताउने विकास कोषका कोषाध्यक्ष ढुण्डिराज भट्टराईले सम्झौताको पुष्टि भने गरेका छन्। उनले कोषले ‘सहयोगी भूमिका खेलेको’ भन्ने खुलाए। ‘रामग्राममा लामो समयसम्म विकास हुन सकिरहेको छैन, कुनै संस्थाले बजेट ल्याएर विकास गर्न चाहान्छ भने कोष सहयोगी बन्नुपर्छ भन्ने ध्येयले मात्रै सम्झौता भएको हो,’ उनले भने।

सम्झौतामा रामग्रामको गुरुयोजना निर्माण गर्ने, त्यसको कार्यान्वयनका लागि बजेट जुटाउने कार्य प्रमिस्ड ल्यान्डसहितका संस्थाहरूले गर्ने छन्। विकास कोषले जग्गा व्यवस्थापनसहितका कार्यहरूमा सघाउने गरी सैद्धान्तिक सहमति भएको भट्टराईले बताए। सहकार्य सम्झौता गर्ने निर्णय बोर्डको बैठकले गरेको थियो।

null

सम्झौतामा उपाध्यक्ष ल्हारक्याल लामाले हस्ताक्षर गरेका छन्। कोषाध्यक्ष भट्टराई साक्षीका रूपमा छन्। कोषाध्यक्ष भट्टराईले सम्झौतामा उपाध्यक्षको मात्रै रुचि नभएर बोर्डकै निर्णय भएको बताए। उनले सम्झौताको प्रति भने उपलब्ध गराउन नसकिने बताए।

उपाध्यक्ष लामाको विवादास्पद भनाइ र कार्य

विकास कोषमा उपाध्यक्ष नियुक्त भएका लामा अहिले माओवादी र पहिले एमालेले संरक्षित गरेका पात्र हुन्। उपाध्यक्ष नियुक्तिमा कांग्रेस पनि अनुमोदन गरेर उनलाई सुनपानी छर्किएर चोख्याएको छ। उनी अहिले माओवादी केन्द्रका नेताका रूपमा परिचित छन्। उनलाई छिमेकी भारत र चीन पनि नजिकबाट नियालिरहेका छन्। 

लामा आएको केही महिनाभित्रै लुम्बिनीमा भारतीय दूतावासले सांस्कृतिक कार्यक्रमको नाममा मायादेवी परिसरमा फोटो प्रदर्शनीसहितको कार्यक्रम आयोजना गर्‍यो। सो प्रदर्शनीमा कपिलवस्तुको तिलौराकोट भारतमा रहेको भन्ने तस्बिर राख्यो। विकास कोषका अधिकारीहरूले यसरी फोटो प्रदर्शनी गर्न मौका दिए। 

सो कार्यक्रममा लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्ली चौधरीसहित यसक्षेत्रका अधिकांश संघीय, प्रदेश सांसदहरूमात्रै नभई पूर्वमन्त्रीहरू लाम लागेर पुगेका थिए। भारतले बुद्ध जन्मस्थलसमेत भारतमा रहेको प्रचार गरिरहेका बेला तिलौराकोटको अस्तित्वलाई विवादित गराउन सफल भयो। यसमा लामाले भरपुर सहयोग गरे। लुम्बिनी प्रदेशको एमाले संसदीय दलले विज्ञप्ति निकालेर यो विषयमा आपत्ति जनाएको थियो।

लामाले मायादेवी मन्दिर भत्काएर नया बनाउने भन्दै भाषणबाजी मात्रै गरेनन्, २०८० भदौ २५ को बोर्डको बैठकमा समेत एजेन्डा लगे। त्यसको स्थानीयले विरोध गरे। लुम्बिनी विकासका अभियान्तासमेत रहेका रामविकास चौधरीले मायादेवी मन्दिर भत्काउने नियतमा गम्भीर आशंका रहेको व्यक्त गर्छन्। ‘बुद्ध जम्मस्थलको एकमात्रै साक्षी मायादेवी र अशोक स्तम्भ हुन्। यसलाई पनि मन्दिर बनाउने नाममा बिक्री नगर्लान् भन्न सकिँदैन, उनले भने, ‘लुम्बिनीवासीले यसको कदापि स्वीकृति दिने छैनन्।’

लामाले बौद्धको भेषमा बौद्ध स्मारकहरूमाथि नै धावा खेलिरहेको भन्दै चर्काे आलोचना भइरहेको छ। उनका एकपछि अर्काे क्रियाकलापले समेत यसको पुष्टि हँुदै गइरहेको विकास कोषका एक कर्मचारी बताउँछन्। ‘मायादेवी मन्दिर भत्काउने, रामग्राम निजी कम्पनीलाई दिने, विवादित तस्बिरहरू लुम्बिनीमा प्रदर्शन अनुमति दिने कार्यले उपाध्यक्षमाथि शंका उत्पन्न गरेको छ,’ उनले भने। मायादेवी मन्दिर भत्काउँदा लुम्बिनीकै अस्तित्व संकटमा पर्ने चिन्ता अभियान्ताहरूको छ। बनाउने नाममा महत्वपूर्ण पुरातात्विक वस्तुहरू अन्तै लैजाने प्रपञ्च रहेको आशंका छ। 

स्तूपको विभिन्न समयमा उत्खनन्

रामग्राम स्तूप क्षेत्रमा विभिन्न समयमा भू–भौतिक सर्वेक्षण (जियोफिजिक्स) र उत्खनन हुँदै आएको छ। रामग्राममा पहिलोपटक १९औं शताब्दीको अन्त्यतिर अध्ययन गरिएको थियो। त्यस समयमा त्यहाँ रहेको ढिस्को रामग्राम स्तूप हुन सक्ने अनुमानसहित पुरातत्वविद् बाबुकृष्ण रिजालले अनुसन्धान गर्दा स्तूप भएको निक्यौल गरिएको थियो। त्यसैलाई आधार मानेर वैज्ञानिक तरिकाले सन् १९९७ मा सर्वेक्षण गरिएको थियो। सोही बखत लुम्बिनी, तिलौराकोट र रामग्रामलाई विश्व सम्पदाको संभावित सूचीमा राखिएको थियो। 

सोही सर्वेक्षणअनुसार सन १९९९ देखि उत्खनन सुरु गरिएको थियो। रामग्रामबारे अध्ययन भए पनि सुरुको उत्खनन भने पुरातत्वविद् शुक्रसागर श्रेष्ठको टोलीले गरेको थियो। श्रेष्ठको टोलीले गरेको उत्खननका क्रममा महत्वपूर्ण बौद्धकालीन संरचनाहरू फेला पारेको थियो। त्यसपश्चात् सन् २०११ मा राष्ट्रिय र अन्तर्राष्ट्रिय विज्ञहरूको टोलीले लुम्बिनी, तिलौराकोट र रामग्राममा पुनः सर्वेक्षण र उत्खननका क्रममा थप महत्वपूर्ण संरचना फेला पारेको लुम्बिनी विकास कोषले जनाएको छ। 

त्यस बखत रामग्राम स्तूपको उत्तरपश्चिम भागमा ठूला बौद्धविहार र पोखरीका संरचनाहरू फेला परेका थिए। त्यसलाई पुष्टि गर्नका लागि केही दिन पहिले (यस वर्षको कात्तिकको अन्तिम सातादेखि)पुनः उत्खनन गरिएको थियो। गत मंसिरको पहिलो सातादेखि एक महिना लगाएर गरिएको उत्खननका क्रममा रामग्राम स्तूप क्षेत्रमा बौद्धविहार र पोखरीका ठूला भग्नावशेष तथा अन्य बौद्धकालीन महत्पूर्ण संरचनाहरू फेला परेको लुम्बिनी 
विकास कोषले जनाएको छ।

 null

के छ रामग्राम स्तूपको महत्व ?

बौद्धग्रन्थअनुसार शाक्यवंशका युवराज सिद्धार्थ गौतमको मनमा बैराग्य उन्पन्न भयो। उनी राजदरबार छाडेर निस्के। गयामा बुद्धत्व प्राप्त गरेपछि उनी धेरै स्थानमा ज्ञानको ज्योति फैलाउँदै हिँडे। अन्तिममा उनको कुशीनगरमा देहान्त भयो। देवासन हुनअघि उनले आफ्नो शिष्यलाई मूर्ति बनाएर पूजा नगर्नु बरु मेरो अस्तु अर्थात् शवको खरानी कलशमा राखेर सम्झनु वा पूजा गुर्न भनेर उपदेश दिएका थिए। त्यही भएर विभिन्न गणराज्यमा रहेका उनका आफन्तहरू देवासनपछि अस्तु लिन पुगेका थिए। 

जसमध्ये बुद्धको नजिकको नाता पर्ने मावली रामग्रामका राजाहरू पुगेका थिए। त्यो बेला ती गणराज्यका राजाहरू विभिन्न आठ भागमा बाँडेर अस्तुहरू लगेका थिए। आफ्नो राजधानीनजिकै अस्तुको स्थापना गराएका थिए। अस्तुनजिकै विहार बनाई दिइएर भिच्छु (पुजारी) बस्न लगाएर नियमित पूजा पाठ गराउँदै आएका थिए। जुन रामग्रामले बनाइ दिइएको उजैनी स्तूप नै रामग्राम स्तूप हो।  कालान्तरमा आशोक सम्राट चवर्ती राजा भए।

अन्य राजालाई परास्त गरी चक्रवर्ती बन्ने चलन थियो, त्यो बेला। अन्य राज्यका राजा र प्रजालाई आफ्नो अधिनमा लिन खोज्दा धेरै हिंसासमेत गरेका सम्राट अशोकमा मनमा पछि बैराग्य उन्पन्न भयो। सम्राट बने पनि मनमा शान्ति भएन। अन्तमा उनी शान्तिका अग्रदूत गौतमबुद्धको दर्शनबाट प्रभावित भए। उनी एक असल बौद्धमार्गी भए। अन्तिममा बुद्धको दर्शन देश विदेशमा पुर्‍याउने उनले अठोट लिए। त्यसैका लागि विभिन्न राजाले बुद्धको अस्तु राखेका (गाडेका) स्थानको पत्ता लगाउँदै उत्खनन गराउने र विभिन्न स्थानमा वितरण गर्दै बौद्ध स्तूप बनाउने अभियानमा लागे। विभिन्न ७ स्थानका स्तूप उनले उत्खनन गरी संसारका ८४ लाख स्थानमा वितरण गराए।

अन्तिममा रामग्राम स्तूपको उत्खनन गर्न पुगेका थिए। तर, रामग्राम स्तूपमा नियमित पूजा पाठ गर्दै आएका नागजातीले राजासँग अनुनय विनय गरे। ‘हे राजा पहिला हामीलाई मारिदिनुस अनि मात्र स्तूप खन्नु,’ भन्न थाले। यसले सम्राट अशोकलाई बुद्धआस्थाप्रति चुनौती थप्यो। हत्या हिंसा छाडिसकेका सम्राट अशोकले फेरि कसरी हिंसा गर्ने त्यसमा पनि बुद्धभन्दा बढी आस्थावान नागजाति ठहरिए। जो स्तूप खन्न नदिनका लागि आफ्नो ज्यानकै बाजी लगाए। यसबाट सम्राट अशोक प्रभावित भए। र, थप उनले पनि रामग्राम स्तूप नजिकै उनीहरूका लागि विहार बनाएर फर्केको किवंदतीमा उल्लेख छ। यस्ले गर्दा आठवटा अस्तुधातुमध्ये एउटा मात्र सिंगो भाग अहिले बाँकी छ। जुन रामग्राम स्तूप हो। संसारका बौद्धमार्गीका लागि यो स्तूपको ठूलो महत्व छ। 

लिजमा दिने होइन, यति ठूलो महत्व बोकेको क्षेत्रको सरकारीस्तरबाटै संरक्षण र विकासका काम गर्न जरुरी छ। 
राधेरमण पाण्डे, स्थानीय बासिन्दा

निजी कम्पनीलाई लिजमा दिनु भनेको स्तूपमा रहेको विश्वमै एक मात्र अस्तुधातु निकालेर ब्यापार गर्ने षड्यन्त्र हो। 
शम्भुप्रसाद उपाध्याय, स्थानीय नागरिक समाजका पूर्वअध्यक्ष

लिजमा दिइयो भने यसको महिमा धरापमा पर्छ, हामी जिल्लास्तरमा आन्दोलनसमेत गर्छौं। 
धरेन्द्र यादव, जसपा जिल्ला अध्यक्ष

सरकारी सम्पदाको संरक्षण र विकास सरकारीस्तरबाटै हुनुपर्छ। कुनै निजी कम्पनीलाई दिने विषय सान्दर्भिक हुँदैन। यसको हामी खुलेर बिरोध गर्छौं।
विक्रम यादव, कांग्रेस जिल्ला कार्यवाहक सभापति 

स्तूप क्षेत्रको विकासका लागि स्थानीय सरकारले काम गर्न खोज्दा लुम्बिनी विकास कोषले दिएन। हाम्रो चाहना यस क्षेत्रको विकास नै हो। अरूलाई लिजमा नदिइयोस्। 
धनपत यादव, रामग्राम नगरपालिका मेयर 

रामग्राममा लामो समयसम्म विकास हुन सकिरहेको छैन। कुनै संस्थाले बजेट ल्याएर विकास गर्न चाहान्छ भने कोष सहयोगी बन्नुपर्छ भन्ने ध्येयले मात्रै सम्झौता भएको हो। 
ढुण्डिराज भट्टराई, लुम्बिनी विकास कोषका कोषाध्यक्ष  

यो पनि पढ्नुहोस


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.