नक्कली शैक्षिक प्रमाणपत्र पेस गर्दै ‘डीभी होल्डर’
![नक्कली शैक्षिक प्रमाणपत्र पेस गर्दै ‘डीभी होल्डर’](https://annapurnapost.prixacdn.net/media/albums/20180509002807_feack-certificate_mNBtuIlH5V_fbmppSzy8c.jpg)
काठमाडौं : अमेरिकाको इलेक्ट्रिोनिक्स डाइभरसिटी भिसा (ईडीभी) परेर भिसा प्रक्रियामा रहेका ‘डीभी होल्डर’सहित १० जना पक्राउ परेका छन्।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको विशेष टोलीले काठमाडौंस्थित अमेरिकी दूतावासको समन्वयमा १० जनालाई पक्राउ गरेको हो। डीभी परेकाहरूले एसएलसी र प्लसटुको नक्कली शैक्षिक प्रमाणपत्र बनाइ पेस गरेको सूचनाका आधारमा प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो।
पक्राउ पर्नेमा धनुषाका विवेक उपाध्याय, मकवानपुरका भगवती उप्रेती, लमजुङका रोना गुरुङ, ललितपुरका सञ्जय महर्जन, चितवनका सुमन ढकाल, सिरहाका सक्षम अर्याल, सर्लाहीका सुरज अधिकारी, दोलखाका अशोक श्रेष्ठ, पर्साका पुरुषोत्तम मल्लिक र सर्लाहीका स्वर्णिम दाहाल छन्। सन् २०२३ का लागि डीभी परेकाहरूले नक्कली शैक्षिक प्रमाणपत्र पेस गर्न थालेपछि अमेरिकी दूतावासले प्रहरीलाई खबर गरेको थियो।
भिसा आवेदनका लागि उनीहरूले एसएलसी र प्लस टुको नक्कली शैक्षिक प्रमणपत्र पेस गरेको अनुसन्धानबाट खुलेको छ। प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीका अनुसार माघ १६ गते प्रहरीको विशेष टोलीले महाराजगञ्जस्थित अमेरिकी दूतावासबाट विवेकसहित तीन जनालाई नियन्त्रणमा लिएको थियो।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)