शिक्षा विधेयकमा प्रारम्भिक बाल शिक्षाका मुद्दा समेट्ने प्रतिबद्धता
काठमाडौं : सांसदहरूले संसदीय शिक्षा,स्वास्थ्य तथा सूचना प्रविधि समितिमा छलफल गरिरहेको विद्यालय शिक्षा विधेयकमा प्रारम्भिक बाल शिक्षा (ईसिडी)का मुद्दाहरू समेट्ने प्रतिबद्धता जनाएका छन्।
शिक्षा पत्रकार समूहले शनिबार आयोजना गरेको ‘शिक्षा विधेयक र प्रारम्भिक बाल शिक्षा’ विषयक अन्तरक्रियामा बोल्दै सांसदहरूले यस्तो प्रतिबद्धता जनाएका हुन्।
संसदीय शिक्षा समितिका सभापति अम्मर बहादुर थापाले प्रारम्भिक बाल शिक्षा र ईसीडी शिक्षकका मुद्दा समेटेर मात्रै शिक्षा विधेयक संसदमा पठाइने बताए। सबै पक्षको कुरा सुन्न र माग सम्बोधन गर्न खोज्दा नै शिक्षा विधेयक माथिको छलफल लम्बिएको उनको भनाइ थियो। सम्पूर्ण शिक्षाको जग नै प्रारम्भिक बाल शिक्षा भएकाले यस विषयमा धेरै संशोधन परेको र धेरै छलफल पनि भइरहेको भन्दै उनले विधेयकको दफावार छलफल गर्नुअघि नै यसबारे निचोडमा पुगिने बताए।
‘सरकारले जस्तो ल्यायो त्यस्तै पास गर्ने भए शिक्षा विधेयक समितिबाट उहिल्यै पठाइसकिन्थ्यो, सबै पक्षको सुझाव लिएर अघि बढ्दा समय लागिरहेको छ।’ सभापति थापाले भने, ‘संशोधन पनि धेरै परेको छ, सुझाव पनि धेरै आएको छ, सबैलाई समेटेर मात्रै अघि बढ्छौँ।’
संसदीय शिक्षा समितिका सदस्यसमेत रहेकी सांसद ईश्वरी घर्तीले विद्यालय शिक्षा विधेयकमा प्रारम्भिक बाल शिक्षाबारे उठेका मुद्दाहरू समेट्ने प्रतिबद्धता जनाइन्। यस्तै शिक्षा समितिकी सदस्य एवं सांसद ज्ञानु बस्नेत सुवेदीले पनि शिक्षा विधेयक बारेको छलफलमा प्रारम्भिक बाल शिक्षाका विषय जोडदारले उठाउने प्रतिबद्धता जनाइन्। जग बलियो नभई घर बलियो नहुने भन्दै सुवेदीले शिक्षाको सुदृढीकरणका लागि प्रारम्भिक बाल शिक्षा पनि बलियो बनाउनुपर्ने बताइन्।
संसदीय शिक्षा समितिकी सदस्य एवं सांसद दीपा शर्मा प्रारम्भिक बाल शिक्षाले समाज र देश विकासको आधार तयार गर्ने भन्दै शिक्षा विधेयकमा यसबारे व्यापक छलफल चलिरहेको बताइन्। विधेयकमा यसबारे उठेका विषय समेट्न आफ्नोतर्फबाट पहल गर्ने उनको प्रतिबद्धता थियो। यस्तै, संसदीय शिक्षा समितिका सदस्य एवं सांसद रामप्रकाश चौधरीले पनि विद्यालय शिक्षा विधेयकमा ईसीडीका विषयमा उठेका कुराहरूलाई सम्बोधन गर्ने प्रतिबद्धता जनाए। समितिमा भएका विधेयकमध्ये सबैभन्दा धेरै छलफल शिक्षा विधेयकमा नै भइरहेको र यसबारे विद्यार्थी तहमै पुगेर सुझाव लिइएको उनले जानकारी दिए।
शिक्षाविद् प्राडा विद्यानाथ कोइरालाले शिक्षा विधेयकमा ईसीडी भित्रको लगानी अभिभावक तिर्ने या राज्यले तिर्ने त्यसमा प्रस्ट हुनुपर्ने बताए। शिक्षाविद् डा. विष्णु कार्कीले डे केयर सेन्टरहरूलाई विद्यालय संरचनाभित्र राख्न नहुने बताए।
बाल विकास शिक्षाबारे अध्ययनसमेत गर्दै आएकी शिक्षाविद् डा. मिनाक्षी दाहालले कार्यक्रममा प्रस्तुति प्रस्तुत गर्दै मानिसको ८५ प्रतिशत दिमागको विकास पहिलो तीन वर्षमा नै पूरा हुने भएकाले बाल विकास शिक्षा जीवनको आधार भएको बताइन्। यसलाई बलियो नबनाउँदा सक्षम नागरिकको कल्पना गर्न नसकिने उनको भनाइ थियो। हालको विद्यालय शिक्षा विधेयकमा कक्षा १ देखि ८ सम्मलाई मात्रै आधारभूत शिक्षा मानिएको प्रति संकेत गर्दै डा. दाहालले अब ० देखि ८ कक्षासम्मलाई नै आधारभूत शिक्षाभित्र समेटिनुपर्ने बताइन। ईसीडीलाई कक्षा १ को तयारीका रूपमा मात्रै बुझ्न नहुने भन्दै उनले यो जीवनको सिकाइ भएको बताइन।
नेपाल शिक्षक महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले ईसीडीका शिक्षकहरूको पारिश्रमिक श्रम ऐनअनुसार मात्रै हुने भनिएको आपत्ति जनाए। उनले ईसीडी शिक्षकहरूलाई प्राथमिक तह तृतीय श्रेणीको शिक्षक सरह सेवा सुविधा हुनुपर्ने बताए।
कार्यक्रममा शिक्षा नीति तथा अभ्यास केन्द्रका कार्यकारी निर्देशक टीका भट्टराईले ईसीडिका विषयमा धेरै विवाद नभएपनि निकै महत्वपूर्ण विषय रहेकाले पर्याप्त छलफल हुन आवश्यक रहेको बताए।
प्रतिक्रिया दिनुहोस !