चीन र दुबई हिँडेका दुई भारतीय नागरिकलाई अध्यागमनले रोक्यो
काठमाडौं : त्रिभुवन विमानस्थलस्थित अध्यागमन कार्यालय (त्रिअवि)ले शंकास्पद ढंगले चीन र दुवई जान खोज्ने दुई भारतीय नागरिकलाई रोकेको छ । भारतीय नागरिक सलिम भाइ मेनन र राजीव रन्जनलाई त्रिअवि अध्यागमन कार्यालयले प्रस्थान अनुमति नदिएको हो ।
मेनन दुबई र रन्जन चीन जाँदै थिए । उनीहरु बिहीबार त्यसतर्फ प्रस्थान गर्दै थिए । उनको यात्रा समेत शंकास्पद देखिएको अध्यागमनका एक अधिकृतले अन्नपूर्णलाई बताए ।
नेपालस्थित भारतीय दूतावासले जारी गरेको नो अब्जेक्सन लेटर नभएपछि अध्यागमनले मेनन र रन्जनलाई प्रस्थान अनुमति नदिइ मेनन् र रन्जनलाई फिर्ता गरेको हो । भारतीय नागरिक पहिलो पटक नेपाल हुँदै अर्को मुलुक जाँदा नेपालस्थित भारतीय दूतावासले नो अब्जेक्सन लेटर दिने गरेको छ । मेनन रन्जन दुबैसँग नो अब्जेक्सन लेटर थिएन ।
उनीहरु दुबैले नेपाल हुँदै तेस्रो मुलुक जानुपर्ने कारणसमेत अध्यागमन अधिकृतसमक्ष बताउन नसकेको स्रोतले बताएको छ ।
प्रतिक्रिया दिनुहोस !