विकसित मुलुकमा झैं नेपालमा पनि क्यान्सरको उपचारमा असमानता छ। क्यान्सर रोगको निदान, उपचार र फलोअपमा असमानता देखिएको छ। उपचारमा असमानता हटाउन सरकार र सरोकारवालाहरूले देहायबमोजिम कार्य गर्नुपर्छ।
- क्यान्सरका अध्ययन, अनुसन्धान, निगरानी, रोकथाम र नियन्त्रणका कार्यक्रम एकसाथ अघि बढाउनुपर्छ। दक्ष जनशक्ति उत्पादनमा ध्यान दिनुपर्छ। ठूला अस्पताललाई क्यान्सर इन्स्टिच्युट वा प्रतिष्ठानका रूपमा विकास गर्नुपर्छ। थप जनशक्ति र बजेटको व्यवस्था गर्नुपर्छ।
- राष्ट्रिय मोलिकुलर डायग्नोस्टिक र न्युक्लियर मेडिसिन केन्द्रको व्यवस्था गर्नुपर्छ। त्यसका लागि चाहिने उपकरण जीटूजीमार्फत आपूर्ति गर्ने व्यवस्था मिलाउनुपर्छ। आवश्यक केमोथेरापी औषधि पनि यसैगरी ल्याउन सकिन्छ।
- विभिन्न स्वास्थ्य संस्थामा रहेका रेडियोथेरापी मेसिनहरू पूूर्णक्षमतामा सञ्चालन गर्नुपर्छ। सातै प्रदेशमा थप उपकरण राखी निःशुल्क सेवा उपलब्ध गराउनुपर्छ।
- कुनै पनि क्यान्सरको अस्पतालमा पुगे पछि बिरामीको एक हप्ताभित्र नै रोगको पहिचान गर्ने क्षमताको विकास गराउनुपर्छ। रोगको निदान भएको दुई हप्ताभित्र उपचार सुरु गरिसक्नु पर्ने व्यवस्था गर्नुपर्छ। किनभने उपचार एक महिना ढिलो भएमा पनि मृत्युदर कम्तीमा १० प्रतिशतले बढ्छ।
- क्यान्सरविरुद्ध प्रतिकारात्मक, प्रबद्र्धनात्मक, उपचारात्मक र पुनस्र्थापनात्मक लगायतका आधारभूतदेखि विशिष्टीकृत र गुणस्तरीय सेवामा सबै नागरिकको पहुँच सुनिश्चित गर्नुपर्छ। अल्पकालीन, मध्यकालीन र दीर्घकालीन योजना बनाइ लागू गर्नुपर्छ।
- आशा छ, निकट भविष्यमा नेपालमा क्यान्सरका बिरामीले सहज ढंगले गुणस्तरीय उपचार सेवा पाउने छन्। क्यान्सरको उपचारमा भएको असमानता पनि हट्ने छ।
(डा. न्यौपाने क्यान्सर सर्जन समाजका अध्यक्ष हुन्।)
प्रतिक्रिया दिनुहोस !