नुवाकोटमा निजी वन दर्ता सुरु
नुवाकोट : कटान खुलेपछि नुवाकोटमा निजी वन दर्ता सुरु भएको छ। स्थानीय तहहरूमा दर्ताका लागि निवेदन दिने क्रम बढिरहेको छ।
निजी वन दर्ताको काम अब स्थानीय तहबाटै हुने डिभिजन वन कार्यालय नुवाकोटले जनाएको छ। डिभिजनल अधिकृत रोशना पोखरेलले आइतबारसम्म दुईवटा निजी वन दर्ता कार्य सकिएको जानकारी दिइन्।
उनका अनुसार विदुर नपा र लिखु गापामा निजी वन दर्ता भएका हुन्। अन्य स्थानीय तहहरूमा समेत निजी वन दर्ता गर्ने प्रक्रिया सुरु भएको कार्यालयले जनाएको छ।
निजी जग्गामा हुर्किएका सालको रुख काट्न वन दर्ता गरेर व्यक्तिगत र व्यावसायिक प्रयोजनका लागि उपभोग गर्न पाइने कानुनी बाटो खुला भएपछि नुवाकोटमा निजी वन दर्ता सुरु भएको हो।