लापरबाहीले लगातार भयानक दुर्घटना

लापरबाहीले लगातार भयानक दुर्घटना
फाइल तस्बिर।
सुन्नुहोस्

बुटवल/कपिलवस्तु : चालकको गम्भीर लापरबाहीले लुम्बिनी प्रदेशमा दुई दिनको अन्तरमा भयानक दुर्घटना हुँदा २० जनाले ज्यान गुमाएका छन्। क्षमताभन्दा बढी भार तथा तीव्र गतिले यात्रुहरूले अकालमै ज्यान गुमाएका हुन्। नियमनकारी निकाय ट्राफिक प्रहरीले सडक सुरक्षामा चासो नदिँदा मुख्य राजमार्गमै ठूला दुर्घटना हुँदै आएका छन्।

तरार्ईको समथर क्षेत्रमा तीव्र गतिका कारण यात्रुले ज्यान गुमाउँदै आएका छन्। बुधबार राति पूर्वपश्चिम राजमार्गको शिवराज नगरपालिका १ सुरही पुलनजिकै भएको बस दुर्घटनामा १० जनाको मृत्यु भएको छ। मृत्यु भएका जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका अनुसार दुर्घटनामा १ भारतीय नागरिक, १ दम्पतीसहित १० जनाको मृत्यु भएको हो। 

कञ्चनपुर जिल्ला पुनर्वास नगरपालिका–९ का ८१ वर्षीय विसनदत्त भट्ट र उनकी श्रीमती ६० वर्षीया विमला देवी भट्ट पनि दुर्घटनामा परी मृत्यु भएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार, भारत उत्तर प्रदेशका ५५ वर्षीय सकिल मुसलमान, रौतहट जिल्ला पहुरानी नगरपालिका ३ बस्ने नारायणबहादुर भण्डारी, सल्यान जिल्ला सेमीखाल ३ का ४१ वर्षीय अर्जुनकुमार योगी, कन्चनपुर जिल्ला भीमदत्त नगरपालिका४ का १९ वर्षीय उमेश भण्डारी, २७ वर्षीया संजु थापा, २१ वर्षीया खगेश्वरी खाती, १८ वर्षीय सुदीप भट्ट र महेन्द्रनगर नगरपालिका १ का २६ वर्षीय राहुल राम कामीको मृत्यु भएको प्रहरी उपरीक्षक नवरत्न पौडेलले बताए। 

तीव्र गतिमा रहेको गाडीमा अचानक ब्रेक फेल भए पनि गाडी दुर्घटना भएको प्रहरी उपरीक्षक नवरत्न पौडेलले बताए। महेन्द्रनगरबाट काठमाडौंं जाँदै गरेको सु.प.प्र.०२००१ ख ००९८ नम्बरको बस बुधबार राति १ बजे दुर्घटना भएको थियो। सडकबाट करिब १ मिटर तल बस खसेको र खबर पाएलगत्तै नेपाल प्रहरी र सशस्त्र प्रहरी उद्धार कार्यमा जुटेको थियो। दुर्घटनामा घाइते रहेका गाडी चालक कञ्चनपुर जिल्ला भीमदत्त नगरपालिका ४ का ४० वर्षीय पूर्णबहादुर चन्दको थप उपचार बुटवलस्थित अस्पतालमा भइरहेको प्रहरीले जनाएको छ। दुर्घटनामा परेका १३ जना उपचारपछि घर फर्किएका छन्।

तीव्र गतिकै कारण केही दिनअघि मात्रै दाङको भालुवाङमा बस नदीमा खसेको थियो। पहाडी क्षेत्रमा भने क्षमताभन्दा बढी यात्रु राखेर गुड्दा दुर्घटना हुने गरेका छन्। मंगलबार मात्रै पाल्पाको तिनाउ गाउँपालिकामा जिप दुर्घटना हुँदा १० जनाको मृत्यु भएको थियो। आठ जनाको घटनास्थलमा र दुईजनाको उपचारका क्रममा लुम्बिनी मेडिकल कलेजमा मृत्यु भएको हो। 

पहाडी कच्ची सडकमा जीपले अत्यधिक भार बोकेको थियो। आठ जना सिट क्षमता रहने जिपमा तीन गुणा यात्रु खाँदिएका थिए। अत्यधिक भारले अनियन्त्रित भएपछि तिनाउँ गाउँपालिका–६ मस्यामस्थित इको फार्महाउसनजिकै भित्री कच्ची सडकखण्डमा डुम्रेबाट चिदीतर्फ जाँदै गरेको लु१ज २३७१ नम्बरको जिप दुर्घटना भएको थियो। आफैंं अनियन्त्रित भएर जिप सडकबाट करिब तीन सय मिटर तल खसेको थियो। 

गएको पुस २८ गते बाँकेको नेपालगन्जबाट काठमाडौंंतर्फ आउँदै गरेको भे १ ख ३९१२ नम्बरको बस राति साढे १० बजेतिर राप्ती गाउँपालिकास्थित राप्ती नदी पुलबाट खसेको थियो। दुर्घटना हुँदा १२ जना यात्रुले ज्यान गुमाएका थिए। प्रहरी चेकिङ छल्दै उक्त बसले दुई घण्टामा सो दूरी पार गरेको थियो। अत्यधिक गतिमा रहेका कारण बस पुलबाट सीधै नदीमा खसेको थियो। कपिलवस्तु दुर्घटना पनि चालककै लापरबाहीका कारण भएको प्रहरीको भनाइ छ। प्रहरी उपरीक्षक पौडेलले तीव्र गतिका कारण बस सडकबाहिर पुगेको बताए। 

यसमा चालकले गम्भीर लापरबाही गरेको प्रहरीको भनाइ छ।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.