कांग्रेस महमन्त्री विश्वप्रकाशको राजनीतिक प्रस्ताव
'राजनीति र राज्यप्रति नागरिकको विश्वास जगाउन सकिएन भने जोसुकैले देशको नेतृत्व गरोस् प्रगति हुँदैन'
काठमाडौं : नेपाली कांग्रेस महानमन्त्री विश्वप्रकाश शर्माले राजनीति र राज्यप्रति नागरिकको आशा र विश्वास जगाउन नसके जोसुकैले देशको नेतृत्व गरेपनि प्रगति न्यून हुने बताएका छन्। त्यसका लागि राजनीतिक दलहरूले नै पहलकदमी लिनुपर्ने केन्द्रीय समितिमा शर्माले पेश गरेको राजनीतिक प्रस्तावमा उल्लेख छ।
'सरकार(प्रतिपक्ष,जित(हार सबै चलिरहन्छ। तर प्रतिस्पर्धाको साझा मैदान राजनीतिप्रति र राज्यप्रति नागरिकको आशा र भरोसा जगाउन सकिएन भने जोसुकैले नेशको नेतृत्व गरेपनि प्रगतिको गति धिमा नै हुन्छ। अतस्विकर्षणका कारणहरू पहिचान गरेर त्यसको अन्त्य गर्ने पहलकदमी हामी सबैको साझा कर्तव्य हो,'शर्माको राजनीतिक प्रस्तावमा भनिएको छ।
देशमा शान्तिस्थापना,नयाँ संविधान,तीन तहको सरकार भएपनि राजनीतिप्रति नागरिकको बेखुसी र विकर्षण दिनप्रतिदिन बढ्दै गएको शर्माको भनाइ छ। राजनीतिप्रति भरोसा जोगाउन सकियो भने मात्रै नागरिकमा देशप्रतिको भरोसा बढ्ने उनको तर्क छ।
राजनीतिक प्रस्तावमा भनिएको छ,'शान्ति स्थापना भएको छ,नागरिककै प्रतिनिधिले संविधानसभा मार्फत बनाएको नयाँ संविधान छ,नागरिककै मतबाट निर्वाचित जनप्रतिनिधिले तीन तहको सरकार बनेको छ,देश समुन्नतिको मार्गमा अघि बढ्ने जमर्कोमा छ । ०६२ र ६३ को आन्दोलन पछिको यो अवधिमा कांग्रेस आठौं पटक सरकारमा छ,नेकपा एमाले नौपटक सरकारमा बसिसकेको छ । माओवादी पार्टीले अहिले सरकारको नेतृत्व गरिरहेको छ । नेमकिपा बाहेक सबै नै सरकारमा बसिसकेका छन् । तर, पनि देशको राजनीतिप्रति नागरिकमा बेखुसी र विकर्षण किन छ ?'
यो विषयलाई सबै राजनैतिक दलहरूले साझा ढंगले आत्मसाथ गरी सम्बोधन गर्न जरूरी रहेको उनको सुझाव छ।
पछिल्लो समय समाजमा डरलाग्दो विश्वासको खाडल देखिएको उनको भनाइ छ। 'आज समाजमा डरलाग्दो ढंगले विश्वासको संकट देखिएको छ । व्यक्तिप्रति अविश्वास, परिवारमा अविश्वास, वित्तीय संस्था होस् या प्रहरी प्रशासन,राजनैतिक दल हुन् या न्यायालय सबैप्रति अविश्वास गरेर आफूलाई बाहेक अरूलाई विश्वास नगर्ने प्रवृत्तिले समाजलाई घोर निराशामा पुऱ्याउन सक्छ । अझ त्यो निराशामा मलजल गरेर राजनीतिको फसल काट्ने प्रवृत्ति नै घातक छ,'शर्माको राजनीतिक प्रस्तावमा उल्लेख छ।
प्रतिक्रिया दिनुहोस !