महोत्सवमा तीन करोड बढीको कारोबार
नुवाकोट : नुवाकोट उद्योग वाणिज्य संघको आयोजनामा सञ्चालित आठौं नुवाकोट महोत्सवमा अवलोकन गर्न आउने दर्शक बढिरहेका छन्। महोत्सवको नवौं दिन शनिबार १२ हजार जनाभन्दा बढीले अवलोकन गरेको महोत्सव सचिवालयले जनाएको छ।
स्थानीय उत्पादन, बजारीकरण, प्रवर्द्धन तथा पर्यटन वृद्धिको मुख्य लक्ष्यसहित गत माघ २६ गतेदेखि महोत्सव सञ्चालन गरिएको हो। महोत्सवमा नवौं दिनसम्म तीन करोड रुपैयाँ बढीको कारोबार भएको आयोजकले जनाएको छ।
महोत्सवमा हालसम्म ९० हजार जनाले अवलोकन गरेका महोत्सव आयोजक उद्योग वाणिज्य संघका महासचिव उपेन्द्र बुढाथोकीले जानकारी दिए। उनका अनुसार तीन करोड रुपैयाँको विविध वस्तुको कारोबार भएको छ।
महोत्सवमा स्थानीय उत्पादन, हस्तकला तथा ढाकाजन्य वस्तुहरू राखिएका छन्। सोमबारसम्म सञ्चालन हुने महोत्सवमा एक लाखले अवलोकन गर्नुका साथै सात करोड रुपैयाँको कारोबार हुने आयोजकको अनुमान छ। संघले २०६३ सालदेखि दुई वर्षको अन्तरालमा नुवाकोट महोत्सव आयोजना गर्दै आएको छ।