कैलालीको अध्यक्षमा यज्ञराज ढुंगाना विजयी
कैलाली : वर्तमान कार्यसमितिका दुई जना पदाधीकारीलाई पाखा लगाउँदै यज्ञराज ढुँगाना नेकपा एमाले कैलालीको अध्यक्षमा विजयी भएका छन्। उनले वर्तमान कार्यसमितिका कार्यबाहक अध्यक्ष दुर्गाप्रसाद जोशी र सचिव डेजी पाण्डेलाई हराएका हुन्।
पदाधीकारीको अन्तिम मत परिणाम अनुसार ढुंगानाले २८७, पाण्डेले २१८ र जोशीले ६३ मत प्राप्त गरे। अध्यक्षका उमेदवार तीनै जनाले प्यानलसहित उम्मेदवारी दिएका थिए। तर प्यानलमा भने मिश्रीत परिणाम आएको छ।
उपाध्यक्षमा डेजी पाण्डे प्यानलका लोकेन्द्रबहादुर शाही पाँच मतले विजयी भएका छन्। उनले एक सय ९३ मत पाउँदा प्रतिद्वन्द्वी दलबहादुर बिष्टले एक सय ८८ मत पाए। उपाध्यक्षका उम्मेदवार विष्णु चौधरीले एक सय ६ मत, मदनराज ओझाले ३३ मत र गजेन्द्र स्वारले २७ मत ल्याएका छन्।
सचिवमा पनि पाण्डे प्यानलका ममताप्रसाद चौधरी विजयी भएका छन्। चौधरी दुई सय ४३ मतसहित विजयी हुँदा उनका प्रतिद्वन्द्वी ढुंगाना प्यानलका विष्णुकुमार चन्दले एक सय ६८ मत पाए। सचिवकै अर्का उम्मेदवार दानबहादुर विश्वकर्माले एक सय ४७ मत प्राप्त गरेका छन्। विश्वकर्मा दुर्गा प्रसाद जोशी प्यानलबाट चुनाव लडेका थिए।
उपसचिव(खुला) मा भने ढुंगाना प्यानलका चुडामणी भट्ट विजयी भएका छन्। भट्ट दुई सय ५१ मत पाएर विजयी हुँदा उनका प्रतिद्वन्द्वी भुवन रिजालले एक सय २३ मत पाए। यस्तै अर्का उम्मेदवार नृप थ्यायत खड्काले ९५ र राजु गुरूङले ७१ मत पाएका छन्।
उपसचिव (महिला) मा गंगाकुमारी चौधरी एक सय ९६ मतसहित विजयी भएकी छन्। उनकी प्रतिद्वन्द्वी शान्तिदेवी सिंहले एक सय ६१, रत्ना कुँवर जोशीले ९४ र अम्बिका विष्टले ९० मत पाएकी छन्।
फागुन ६ गते सुरू भएको एमाले नवौँ अधिवेशनमा छैटौं दिन शुक्रबार मात्र मतदान भएको थियो। कुल पाँच सय ९१ प्रतिनिधि रहेकोमा पाँच सय ७७ मत खसेको थियो।
प्रतिक्रिया दिनुहोस !