तीव्र गतिले बेलबारीमा ठूलो क्षति

तीव्र गतिले बेलबारीमा ठूलो क्षति

विराटनगर : सवारी चाप अत्यधिक हुने लोकमार्गमा सार्वजनिक यातायातका साधन तीव्र गतिमा कुदाइन्छ। तीव्र गतिसँगै साँघुरो र उबडखाबड सडक सवारी दुर्घटनाको मुख्य कारण बनिरहेका छन्। अर्कोतर्फ सार्वजनिक सवारीसाधनबीच यात्रु उठाउन होडबाजी चल्ने गरेको छ। 

चालकले असावधानीपूर्वक कुदाउने यात्रुबहाक तथा मालबहाक सवारीसाधनको तीव्र गतिका ठुल्ठूला दुर्घटना भइरहेका छन्। दुर्घटनासँगै ठूलो मानवीय तथा भौतिक क्षति बेहोर्नु परिरहेको छ। 
यात्रु चढाउन एकअर्कामा गरिने प्रतिस्पर्धाले भयानक दुर्घटना हुने गरेको पाइन्छ। प्रायजसो ठूला दुर्घटनामा सवारी चालकको गम्भीर लापरबाही देखिन्छ। 

ट्राफिक प्रहरीको आँखाअगाडि चालकले सवारीसाधन सीमित गतिमा कुदाउँछन्। ट्राफिकको आँखा छल्नसाथ लापरवाहीपूर्ण तरिकाले अनियन्त्रित हिसाबबाट लेन अनुशासनसमेत मिचेर गाडी हाँक्ने गर्छन। जसका कारण मोरङको बेलबारीमा शुक्रबार बिहान ठूलो दुर्घटना हुन पुग्यो। 

पूर्व-पश्चिम लोकमार्गअन्तर्गत मोरङको बेलबारी नगरपालिका-१ र ३ को सिमानामा शुक्रबार बिहान टिपर, बस र बोलेरो जीप ठोक्किएर भयानक दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ। २ जना घाइते भएका छन्। घाइतेमध्ये एक जनाको अवस्था चिन्ताजनक छ। 

पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको प्रदेश १-०२-००१ ख ९६७६ नम्बरको टिपरले पश्चिमतर्फ आउँदै गरेको बागमती प्रदेश ०३-००१ ख २७१८ नम्बरको बसलाई सुरुमा ठक्कर दिएको थियो। बसलाई ठक्कर दिएपछि नियन्त्रण गुमाएको टिपरले पूर्वबाट पश्चिमतर्फ नै आउँदै गरेको मे १ ज २८५६ नम्बरको बोलेरोलाई ठक्कर दियो। 

तीव्र गतिमा रहेको बसका कारण बिहान ६:३० बजेतिर दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। यात्रु उठाउने होडबाजीसँगै चालकले बस तीव्र गतिमा कुदाउँदा दुर्घटना भएको प्रहरीको भनाइ छ। जसका कारण भयानक दुर्घटना भएर ठूलो क्षति हुन पुग्यो। 
‘तीव्र गतिमा बोलेरोलाई ‘ओभरटेक’ गर्दै अर्को लेनमा पुगेको बसलाई विपरीत दिशाबाट आइरहेको टिपरले ठक्कर दियो। त्यसपछि अनियन्त्रित बनेको टिपरले बसको पछि रहेको बोलेरोलाई ठक्कर दिएको हो,’ मोरङ प्रहरी प्रमुख एसपी नवराज कार्की भन्छन्, ‘तीव्र गतिको बसले बोलेरोलाई उछिन्नसाथ भयानक दुर्घटना हुन पुग्यो। दुर्घटनामा ठूलो मानवीय र भौतिक क्षति भएको छ।’ 

उनका अनुसार दुर्घटनामा परेर झापाको कमल गाउँपालिका-२ का ५१ वर्षीय यदुकान्त भट्टराई, कमल गाउँपालिका-४ की ५० वर्षीया गीता भनिने दीपा खनाल र झापाको बिर्तामोड नगरपालिका-२ का ३६ वर्षीय कृष्ण गजुरेलको मृत्यु भएको हो। यदुकान्त र दीपाको विराटनगरको कोशी अस्पताल तथा कृष्णको विराटनगरकै न्युरो अस्पतालमा मृत्यु भएको जानकारी कार्कीले दिए।   

उनका अनुसार उपचारका लागि कोशीमा पुर्‍याउनासाथ यदुकान्त र दीपालाई चिकित्सकले मृत घोषित गरेका थिए। कृष्णको उपचारका क्रममा बिहान ८:५५ बजे न्युरोमा मृत्यु भएको हो। दुर्घटनामा परेर कमल गाउँपालिका-४ का ५३ वर्षीय हरि खनाल र कमल-२ की ४९ वर्षीया गायत्री भट्टराई घाइते भए। उनीहरुको न्युरोमा उपचार भइरहेको छ। 

उपचाररतमध्ये हरिको अवस्था गम्भीर र गायत्रीको अवस्था सामान्य रहेको एसपी कार्कीले बताए।  उनका अनुसार बोलेरो जीपमा चालकसहित ५ जना सवार थिए। दुर्घटनापछि पाँचै जना घाइतेलाई घटनास्थलबाट उद्धार गरेर प्रहरीले उपचारका लागि विराटनगरतर्फ पठाएको थियो। 

प्रहरीका अनुसार घाइते हरि मृतक दीपाका पति (श्रीमान) हुन् भने घाइते गायत्री मृतक यदुकान्तकी पत्नी (श्रीमती) हुन्। मृतकमध्ये कृष्ण बोलेरो चालक रहेको जानकारी प्रहरीले दिएको छ। यदुकान्त र हरि ज्वाईं-जेठान हुन्। हरि श्रीमती दीपासहित बहिनी गायत्री र ज्वाईं यदुकान्तलाई लिएर पाँचथरको आरुबोटोस्थित छोरीको घरमा सम्दी ढोगाभेटका लागि जाने क्रममा बीचैमा दुर्घटना भएको यदुकान्तका भाइ यामप्रसाद भट्टराईले बताए। 

उनका अनुसार झापाबाट पूर्व-पश्चिम र कोशी लोकमार्ग हुँदै तमोर करिडोरको बाटो भएर पाँचथरतर्फ जाने योजनाअनुरुप घरबाट निस्किएका उनीहरू पूर्व-पश्चिम लोकमार्गअन्तर्गत बेलबारीमा अइपुग्नसाथ दुर्घटनामा परेका हुन्। हरि र दीपाकी जेठी छोरीको १ वर्षअघि पाँचथरको आरुबोटेमा बिहे भएको यामप्रसाद बताउँछन्। खनाल दम्पतीका २ छोरी छन्। सामान्य खेती किसानी गर्ने मध्यम आर्थिक अवस्था भएका भट्टराई दम्पतीका ३ छोरी छन्। सबै जना छोरीको बिहे भइसकेको यामप्रसादले बताए। 

अकल्पनीय दुर्घटनामा आफन्त गुमाएको खबर पाउनेहरु भावविह्वल भएका छन्। आफन्तको मृत्यु भएको सुनेर कोशी अस्पताल पुगेकाहरु सम्हालिन सकिरहेका छैनन्। डाँको छाडेर रोइरहेको अवस्थामा भेटिए। आफन्त र परिवारका सदस्यको आँखाबाट आँसु थामिन सकिरहेको थिएन। परिवारका सदस्य र आफन्त मात्रै हैन, गाउँ नै शोकमा डुबेको यामप्रसाद बताउँछन्। 
‘दुर्घटनामा परिवारका सदस्य र आफन्त गुमाउँदाको पीडाले केहीपनि सोच्न सकिरहेको छैन। यहाँभन्दा ठूलो बज्रापात अरु के हुन्छ र ?,’ आँखाभरि आँसु पार्दै यामप्रसाद भन्छन्, ‘दुर्घटनामा परेर दाजुको दुःखद् निधन भयो। भाउजू अस्पतालको शय्यामा छटपटाइरहनु भएको छ।’ 

उनी दाजुसँगै आफन्त गुमाउँदाको अकल्पनीय घटनालाई व्यक्त गर्ने आफूसँग कुनै शब्द नभएको बताउँछन्। दुर्घटनामा परेर बोलेरो जीप पूर्णरूपले क्षतिग्रस्त बनेको छ। टिपरको अगाडिको भागमा पनि क्षति पुगेको छ। बसको भने पछाडिको भागमा सामान्य क्षति पुगेको प्रहरीले जनाएको छ। टिपर चालकसहित बसमा सवार सबै जना सकुशल छन्। दुर्घटनामा परेका सवारीसाधनलाई प्रहरीले जेसीबीको प्रयोग गरेर सडकबाट हटाएको छ।  

दुर्घटनालगत्तै प्रहरीले टिपर तथा चालक मोरङको सुन्दरहरैँचा नगरपालिका-७ का २३ वर्षीय चन्द्रबहादुर विक र बस तथा चालक सुन्दरहरैँचा-१२ का ४५ वर्षीय छत्रकुमार मास्केलाई नियन्त्रणमा लिएको छ। इलाका प्रहरी कार्यालय बेलबारीका इन्सपेक्टर तेजबहादुर दाहाल नेतृत्वको टोलीले घटनाको अनुसन्धान अघि बढाएको छ। 

चालकको लापरबाहीले दुर्घटना : एसपी पौडेल 

सार्वजनिक सवारीसाधनका यात्रुको सुरक्षा चालकको हातमा हुन्छ। तर, तिनै चालकको लापरबाही र बेवास्ताले दुर्घटना बढिरहेका छन्। कोशी प्रदेशका ट्राफिक प्रहरी प्रमुख एसपी सरोज पौडेल अधिकांश दुर्घटना चालकको लापरबाहीले हुने गरेको बताउँछन्। नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीका प्रमुख पौडेलले सडकमा सवारीसाधन हाँक्दा चालकले धेरै कुरामा सावधानी अपनाउनुपर्ने बताए। 

तीव्र गतिमा सवारी चलाउने चालकलाई ट्राफिक नियम उल्लंघनको कसुरमा कारबाहीसमेत गर्ने गरिएको उनको भनाइ छ। पछिल्लो समय बढ्दै गएको सवारी दुर्घटना न्यूनीकरण र ट्राफिक नियमको पालनाका लागि जनचेतनामूलक कार्यक्रमलाई तीव्र पार्दै ट्राफिक सक्रियता बढाइएको उनी बताउँछन्। ‘तीव्र गतिमा गाडी हाँक्ने चालकलाई कारबाही गरिन्छ। सुरक्षालाई दृष्टिगत गरेर सीमित गतिमा सवारी चलाउनुपर्छ भनेर सम्झाइबझुाइ गरिन्छ,’ उनले भने, ‘तर, चालकहरुले अटेरी गरिरहेका हुन्छन्। जसका कारण ठुल्ठूला दुर्घटना भएर मानवीय तथा भौतिक क्षति बेहोर्नु परिरहेको छ।’

एसपी पौडेलका अनुसार लोकमार्गमा लामो रुटमा चल्ने गाडीले समय व्यवस्थापनमा ख्याल नगर्ने, चालकले तीव्र गतिमा र लापरबाहीपूर्ण तरिकाले चलाउने, जथाभावी रोकेर यात्रु चढाउने, आफूभन्दा पछाडिको सवारीसाधनलाई उछिन्न नदिने, लेन अनुशासनको बेवास्ता गर्ने, आफ्नो र यात्रुको सुरक्षामा ध्यान नदिनेलगायतका कारणले दुर्घटना बढिरहेका छन्। 

सवारी चालकले ट्राफिक नियम पालना आफ्नो र यात्रुको फाइदा एवं सुरक्षाका लागिका हो भन्ने कुरा नबुझ्दा पनि समस्या भइरहेको उनको भनाइ छ। ‘सम्झाइबुझाइ गर्दा चालकले कुरा बुझेजस्तो गर्छन्। अलि पर पुगेपछि त्यसलाई बिर्सिएर अनियन्त्रित हिसाबले गाडी हाँक्छन्,’ पौडेल भन्छन्, ‘सवारी दुर्घटना रोक्न ट्राफिकसँगै यातायात व्यवसायी एवं सार्वजनिक सवारीसाधनका कर्मचारीको महत्वपूर्ण भूमिका हुन्छ। सवारी दुर्घटना न्यूनीकरणका लागि ट्राफिक प्रहरीले त आफ्नो हिसाबले काम गरिरहेको छ।’ 

उपलब्ध स्रोतसाधन र जनशक्ति परिचालन गर्दै दुर्घटना न्यूनीकरण तथा दुर्घटनाबाट हुने क्षति रोक्न ट्राफिक सक्रियता बढाएर विशेष अभियान चलाइएको उनको भनाइ छ। साँघुरो सडकको बिग्रँदो अवस्था पनि दुर्घटनाको कारण बनिरहेको उनी बताउँछन्। ‘बढ्दो सवारी चापको तुलनामा लोकमार्ग र भित्र सडकहरु साँघुरा हुन थाले। पूर्व-पश्चिम लोकमार्ग नै जम्मा २ लेनको छ,’ एसपी पौडेलले भने, ‘सडकका ठाउँठाउँमा उबडखाबड छ। जसका कारण नियन्त्रण गुमाएर सवारीसाधन दुर्घटनामा परिरहेका छन्।’ सवारी दुर्घटना न्यूनीकरणका कारण सबैले आआफ्नो ठाउँबाट पहल गर्नुपर्ने उनले बताए। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.