कांग्रेसमा हिन्दू राष्ट्रको बहस
देशको सबैभन्दा ठूलो र पुरानो लोकतान्त्रिक पार्टी नेपाली कांग्रेसमा हिन्दुत्वको मुद्दाले यतिबेला बढी चर्चा पाएको छ। नेपाललाई पुन: सनातन हिन्दु धर्मसापेक्ष राष्ट्र बनाउने विषयमा कांग्रेसका तीन दर्जनभन्दा बढी केन्द्रीय सदस्य, सांसद र पूर्वमन्त्रीहरूसमेतले महाअभियान नै चलाउने भएका छन्। पार्टीका दर्जनौं नेताले नेपाललाई सनातन हिन्दु धर्मसापेक्ष राष्ट्रको रूपमा स्थापित गराउन पार्टीभित्र सैद्धान्तिक बहस चलाउनुका साथै आवश्यक जनसमर्थन जुटाउन महाअभियानको पनि थालनी गर्न तयार देखिन्छन्।
हालै सम्पन्न महासमिति बैठकमा हिन्दुराष्ट्रको विषयमा चर्चा भए नभए पनि आगामी दिनमा बहसको विषय हुने निश्चित छ। संघीय लोकतान्त्रिक गणतन्त्र नेपालमा अब देशका राजनीतिक दलहरूले जनतालाई आफूतिर आकर्षित गर्नै सक्ने प्रमुख मुद्दा सनातन हिन्दु धर्मसापेक्ष राष्ट्र नेपाल नै हुने निश्चित देखिएको छ। धर्मनिरपेक्ष घोषित गरिएपछि यहाँ धर्म परिवर्तनका घटना बढेका छन्। कतिपयले त नेपाललाई हिन्दुराष्ट्र कहिले घोषित गरिएको थियो ? भन्ने अर्थहीन प्रश्न सोधिरहेका छन्। नेपाल अस्तित्वकालदेखि नै सनातन हिन्दु धर्मसंस्कृतिलाई आत्मसात् गर्दै आएको छ तर पनि संविधानका कारण प्रश्न उठ्न थालेको हो।
बेलायतमा अलिखित संविधान नै छ अर्थात् परम्पराकै आधारमा देश चलेको छ। नेपाल सुरुदेखि नै सनातन हिन्दु धर्मसापेक्ष राष्ट्र रहेको पाइन्छ तर राजनीतिक दलहरूका कारण यो धर्मनिरपेक्ष अवश्य पनि घोषित गरिएको हो। बहुसंख्यक नेपाली जनताको चाहना र भावनाविपरीत भएको यस कार्यको समीक्षा हुनु र यसमा परिवर्तनको माग हुनु अस्वाभाविक होइन। विविध कारणले कांग्रेसका लागि यो विषय गम्भीर राजनीतिक मुद्दा बनेको छ। यद्यपि संविधान संशोधनबिना यो सम्भव छैन तर उसले यसलाई राजनीतिक मुद्दा बनाएमा भने संविधान संशोधन पनि सम्भव हुन्छ।
जनआन्दोलन–२ को सफलतापश्चात् नेपालका राजनीतिक दलहरूले नेपाली जनताको चाहना र जनआन्दोलन–२ को मर्मविपरीत पुनस्र्थापित प्रतिनिधिसभामार्फत देशको विश्वव्यापी पहिचान रहेको सनातन धर्मसापेक्षको चरित्रलाई समाप्त गरेका थिए। तथापि समय–समयमा नेपालका नेताहरूमा यस निर्णयका लागि आत्मग्लानी महसुस भएको पनि पाइन्छ। कांग्रेस देशको जिम्मेवार राजनीतिक दल भएकाले उसले यस विषयमा पुनर्विचार गर्दैछ। देशका अन्य राजनीतिक दलहरूले पनि हिन्दुत्वको पक्षमा खुलेर आउनुपर्छ। किनकि ९४ प्रतिशत सनातनी (ओमकार) भएको देश नेपाललाई धर्मनिरपेक्ष घोषित गरिनुको औचित्य आजसम्म पुष्टि भएको छैन। बौद्ध, शिख, जैन आदि पन्थहरूको उद्गम सनातन धर्मबाट नै भएको हो तर आज पनि ओमकारको छाताभित्र सम्बन्धित सबै एकजुट छन्। ‘सर्वे भवन्तु सुखिन’ विश्वको कल्याण होस् र प्राणीहरूमा सद्भाव रहोस् भने उच्च कल्याणमयी भावना अन्यमा हुनै सक्दैन। असत्य, हिंसा, अरूको सम्पत्ति कब्जा गर्नु र कसैलाई पीडा दिनुलाई हिन्दु धर्मविपरीत मानिएको छ। सनातन हिन्दु धर्मको सारतŒव गीतामा वर्णन गरिएको छ। शायद त्यही भएर, दक्षिणी छिमेकी भारतको सर्वोच्च अदालतले ‘हिन्दु धर्म’लाई ‘वे अफ लाइफ’को रूपमा परिभाषित गरेको छ।
नृ–शास्त्रीय आधारमा ‘हिन्दु जाति’ भन्ने कुनै जाति नभए तापनि सारा हिन्दु–धर्मावलम्बीलाई समष्टिमा बुझाउने हेतुले यो शब्दावलीको प्रयोग भएको पाइन्छ। विभिन्न जाति विचार, चाडपर्व, धार्मिक भावनाको सँगालो नै मूलभूत हिन्दु संस्कृतिमा देखा पर्छ। आर्य जाति अनेक भाषा संस्कृति, परम्परा, भेषभूषा, रहनसहन र धर्म सम्प्रदायमा विभक्त देखिन्छ। तर यस विभाजनले कुनै प्रकारको वैमनश्य सिर्जना गरेको हुँदैन।
समाजमा हिन्दुविरोधी भाष्य स्थापित गर्ने विश्वव्यापी षड्यन्त्रको सिकार नेपाली भएका छन्। नास्तिक मतको जति सम्मान सनातन हिन्दु धर्ममा गरिएको छ, त्यति अन्य धर्ममा होइन। सनातन हिन्दु धर्म संस्कृतिका उत्तराधिकारी भएका नाताले पनि नेपालले सनातन हिन्दु राष्ट्रको पक्षमा दह्रोरूपमा उभिनु आवश्यक छ। दक्षिणी छिमेकी भारतमा विगत १० वर्षदेखि यस क्षेत्रमा अनेकौं उल्लेख्य काम भएका छन्। नेपाल र भारत सनातन धर्म संस्कृतिका साझा उत्तराधिकारी हुन्। संरक्षण र समर्थनको जिम्मेवारी पनि दुवैको काँधमा छ।
हिन्दु सबैका निम्ति प्रगति, विकास र व्यापक समृद्धिको स्तरमा विजयको कामना गर्छ, हिन्दु कसै अन्यमाथि विजयको चाहना राख्दैन। वसुधैव कुटुम्बकम्को संकल्पनालाई साकार गर्ने दिशामा र वैश्विक मामिलामा सार्थक भूमिकाको निर्वाह गर्नमा नेपाली हिन्दु धर्मावलम्बीका निम्ति कांग्रेस अग्रदूत सावित हुन सक्छ। महात्मा विनोबा मानेका अनुसार जो वर्णाश्रम व्यवस्थामा आस्था राख्छ, गाईको पूजा गर्छ, आमालाई झैं श्रुति–स्मृतिलाई प्रेम गर्छ, विश्वमा प्रचलित विभिन्न धार्मिक भावनाप्रति जो आदर–सम्मान गर्छ, देवमूर्तिको जो अवज्ञा गर्दैन, पुनर्जन्ममा जसको आस्था रहन्छ र सदासर्वदा जन्म–मृत्युको चक्करबाट मुक्त हुन खोज्छ, (मोक्षको प्रयत्न), जो सदा सम्पूर्ण जीव मात्रको हितकारी भई अनुकूलमा रहन चाहन्छ, जसको चित्त हिंसा (परपीडा, मारकाट)बाट सदा दु:खी हुन्छ, त्यसलाई हिन्दु भनेर चिन्नुपर्छ।
सनातन धर्म संस्कृतिको लामो इतिहास बोकेको नेपालले आफ्नो पहिचान, संस्कार र मान्यतालाई पुनस्र्थापित गर्नु आवश्यक छ। तर तराईका कतिपय जिल्लामा दसैं सकिएपछि दुर्गाजीको प्रतिमा विसर्जन गर्दा होस् वा विश्वकर्मा पूजापछि मूर्ति विसर्जन गर्दा अनि त्योभन्दा अघि श्रीकृष्ण जन्माष्टमीमा मूर्ति विसर्जन गर्दा साथै श्रीपञ्चमीको भोलिपल्ट माता सरस्वतीको मूर्ति विसर्जन गर्दा ठाउँठाउँमा अवरोधको सामना गर्नु परेको अवस्थाले राम्रो संकेत गरिरहेको छैन। जब लोकतन्त्रमा इसाई, इस्लामिक र बुद्धिष्ट राष्ट्रहरू विश्वमा अनेकौं हुन सक्छन् भने नेपाल किन हिन्दु राष्ट्र हुन सक्दैन ?