राजनीतिक नियुक्तिमा परिवारवादलाई पूर्ण निषेध गर्ने रास्वपाको निर्णय
सरूवा, बढूवा तथा नियुक्तिको अनुचित सिफारिस गर्नेको पार्टीले साधारण सदस्यता खारेज गर्ने
काठमाडौं : रास्वपाले राजनीतिक नियुक्तिमा परिवारवादलाई पूर्ण निषेध गर्ने निर्णय गरेको छ। आइतबार बिहान बसेको बैठकले समावेशीतालाई मध्यनजर गरि मेरिटोक्रेसीका आधारमा नियुक्ति अघि बढाउने निर्णय भएको महामन्त्री डा. मुकुल ढकालले जानकारी दिए।
‘प्रत्येक आइतबार रास्वापाका ४ मन्त्री र उपसभापति डा. स्वर्णिम वाग्ले, महामन्त्री डा. मुकुल ढकाल र सासंद शिशिर खनालको बैठक बस्ने गरेको छ। यो बैठक प्रत्येक आइतबार बिहान बस्छ।’उनले भने,‘राजनीतिक नियुक्तिमा परिवारवादलाई पूर्ण निषेध गरिएको छ। यस्ता नियुक्ति जान्नेलाई छान्ने पार्टीको अवधारणा अनुसार समावेशीतालाई मध्यनजर गरि मेरिटोक्रेसीलाई प्रधान मानि अघि बढाइने निर्णय भएको छ।’
आजको बैठकमा मन्त्रालयहरूको एक हप्ताको काम, अनुभव , कमजोरीलाई समिक्षा गरिएको उनको भनाई छ। मन्त्रालयका बजेट, नीति कार्यक्रम र तत्कालका लागी संसोधन गर्न पर्ने नियम एवं साझा न्युनतम कार्यक्रमका बारेमा छलफल गरिएको उनले बताए। त्यसैगरी मन्त्रालयहरूलाई सहयोग गर्न विज्ञ र अनुभविहरूको सघाउ समूह बनाउने निर्णय भएको छ।
ढकालका अनुसार सरूवा, बढूवा तथा नियुक्तिको अनुचित सिफारिस गर्नेलाई पार्टीले साधारण सदस्यता समेत खारेजसम्म गर्न सकिने निर्णय भएको छ।
नवगठित मन्त्रिपरिषदमा सभापति रवि लामिछाने उपप्रधानमन्त्रीसहित गृह मन्त्री, उपसभापति डोलप्रसाद अर्याललाई श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री, सुमना श्रेष्ठ शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री र विराजभक्त श्रेष्ठ युवा तथा खेलकुद मन्त्री बनेका छन्।
प्रतिक्रिया दिनुहोस !