ठगीको नयाँ तरिका : अन्तःशुल्क स्टिकर टुक्र्याएर दोब्बर प्रयोग

ठगीको नयाँ तरिका : अन्तःशुल्क स्टिकर टुक्र्याएर दोब्बर प्रयोग
सुन्नुहोस्

सिरहा : मदिरा उद्योगले अन्तः शुल्क छली गरेका घटना त बेला–बेला सार्वजनिक भइरहेकै हुन्छन्। सिरहाको शारदा डिस्टिलरी प्रालिले भने ‘ठगी’ को नयाँ तरिका अपनाएको घटना सार्वजनिक भएको छ। गोलबजार नगरपालिका–९ सिरहामा रहेको प्रालिले अन्तःशुल्कको स्टिकर टुक्र्याएर मदिराका बोतलमा टाँस्दै वार्षिक करोडौं रकम राजस्व छली गरिरहेको छ। 

प्रालिले उत्पादन गर्ने मदिराको बोतलहरूमा एउटा स्टिकरलाई दुई टुक्रा गरी प्रयोग गरेको पाइएको छ। स्टिकरलाई टुक्रा पारेर दिनहुँ लाखौं रुपैयाँ राजस्व छली गरेको पाइएको हो। यसमा आन्तरिक राजस्व कार्यालय लहानको कर्मचारीको समेत मिलेमतो रहेको आशंका छ। 

गत आइतबार उद्योगले उत्पादन गरेको मदिरा सिरहा नगरपालिका–१५ माडरस्थित आशिष जेनेरल स्टोरलाई बिक्री गरेको थियो। त्यहाँ पठाइएका मदिरा बोतलमा अन्तःशुल्कको स्टिकर टुक्रा गरी प्रयोग गरेको भेटिएका छन्। घटना बाहिरिएपछि राजस्व कार्यालयले छानबिन थालेको छ। 

जेनेरल स्टोर सिल गरेका छन्। उद्योगले उत्पादन गरेका सबै ब्रान्डका ३२ सय कार्टुन मदिरा बरामद गरेका छन्। ‘जेनेरल स्टोरबाट ३२ सय कार्टुन मदिरा बरामद गरेका छौं। ती कार्टुनलाई खोलेर प्रत्येक बोतलको स्टिकर चेकजाँच गरिरहेका छौँ,’ आन्तरिक राजस्व कार्यालय लहानका प्रमुख पुण्य रिजालले भने, ‘धेरै कार्टुनमा ५ देखि २५ वटा बोतलहरू अन्तःशुल्कको स्टिकर टुक्रा पारेर लगाएको भेटिएको छ। यो उद्योगबाटै भएको हो कि बाटोमा हामी छानबिन गर्दै छौं।’ उद्योगका मालिक प्रमोद गोयन्का र जेनेरल स्टोरका साहुजीलाई बयानका लागि पत्र काटेको उनले जानकारी दिए। थप अनुसन्धान भइरहेको उनले सुनाए। दोषी देखिएका सबैलाई कारबाही गरिने रिजालले बताए।

यसरी बाहिरियो घटना

आइतबार बिहान दुइटा ट्रकमा उद्योगले उत्पादन गरेका मदिरा खरिद गरेका व्यवसायीलाई पठाइरहेका थिए। त्यही ट्रकलाई पछ्याउँदै सञ्चारकर्मी विनय यादवले इलाका प्रहरी कार्यालय विष्णुपुर पुगे। प्रहरीलाई यसमा राजस्व छलीको मदिरा गइरहेको जानकारी दियो। प्रहरीले गाडी रोक्यो। एउटा कार्टुनबाट मदिराको बोतल निकालेर जेकजाँच गर्दा अन्तःशुल्कको स्टिकर टुक्रा गरी प्रयोग गरिएको पाइएको थियो। तर, प्रहरीले गाडीलाई रोकेनन्। 

ट्रक रोकेका प्रहरीलाई फोन आएपछि उनी गाडी छाडे। मदिराको ट्रक प्रहरी पोस्ट चोहर्वा, विष्णुपुर, जिल्ला प्रहरी कार्यालय सिरहा, खिरौना पार गर्दै आशिष जेनेरल स्टोरमा अनलोड गरेका थिए। राजस्व कार्यालयका प्रमुख रिजाललाई सञ्चारकर्मीले जानकारी दिएपछि धेरै बेरपछि राजस्व कार्यालयको कर्मचारी त्यहाँ पुगेका थिए। मदिरा चेकजाँच गर्दा घटना बाहिरिएको थियो।

यो उद्योगले दिनहुँ २०÷२५ ट्रक मदिरा बाहिर पठाउने गरेको स्थानीय एक व्यवसायीले सुनाए। राजस्व छलीको घटनामा प्रहरी प्रशासनको पनि मिलोमतो रहेको घटनाले देखाएको उनले सुनाए। समय–समयमा कर्मचारी उद्योगमा आउँदा पनि चेकजाँच नगरेको ती व्यवसायीको दाबी छ। 

पछिल्लो समय राजस्व छलीबारे भेटिएको यो तथ्य उदाहरण मात्र हो । सिरहा जिल्लास्थित शारदा डिस्टिलरीलगायतका उद्योगबाट दैनिक रूपमा यसैगरी एउटा स्टिकरलाई दुई–तीन टुक्रा पारी राजस्व छली हुँदै आएको छ । स्थानीय प्रशासन र नियमनकारी निकायको मिलेमतोमा राजस्व छली भइरहेको आरोप लाग्दै आए पनि सरकारी निकायले त्यसलाई अस्वीकार गर्दै आएको छ । जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता तथा डिएसपी रवीन्द्रराज पाण्डेका अनुसार प्रहरी तस्करी संग्लन छैन। यस घटनाको अनुसन्धानमा प्रहरीले साथ दिएको उनले बताए।

उद्योगीलाई बचाउने चलखेल हुने शंका

ट्रकमा लोड गरिएका मदिरा व्यवसायीको गोदाममा नपुग्दै बीचबाटोमै चेकजाँच गर्दा अन्तःशुल्कको स्टिकर टुक्रा गरी बोतलमा लगाइएको छ। तर, पनि उद्योगी यसमा संग्लन नरहेको देखाउन राजस्व कार्यालय लागेको देखिन्छ। उद्योगमा भएका मदिरा चेकजाँच गर्दा तत्काल त्रुटि नदेखिएको कार्यालय प्रमुख रिजालको भनाइ छ। ‘उद्योगमा त्यस्तो गडबड देखिएन। हामी छानबिनमै छौं,’ उनले भने, ‘छानबिन कहिले टुंगो लाग्ने अहिले भन्न सकिँदैन।’

कर्मचारीको संग्लनता नखुलोस भनेर उद्योगबाट यस्तो नभएको देखाउनमा छानबिनकर्ता व्यस्त रहेको मिर्चैयाका एक व्यवापारीको भनाइ छ। उनका अनुसार पहिले उद्योगमै कर्मचारीको उपस्थितिमा राजस्वको स्टिकर लगाउने काम हुन्थ्यो। आजकल उद्योगीलाई स्टिकर दिएको छ। कर्मचारी अभावले उद्योगीलाई स्टिकर लगाउन दिएको कार्यालय प्रमुख रिजालको भनाइ छ। 

सीमामा गोदाम, भारततिर तस्करी

भारतको बिहार राज्यमा मदिरा प्रतिबन्ध भएदेखि नेपालका दशगजा क्षेत्रमा थुप्रिन थालेका छन्। हजारौं पसल खुलेका छन्। उनीहरूको मुख्य ग्राहक नै भारतीय हुने गरेको छ। 

सिरहाको माडरदेखि भगवानपुर गाउँपालिकाको ठाढीसम्म सैयौं पसलहरू खुलेका छन्। ‘मदिरा पसल फस्टाएको छ। यहाँ दिनहुँ हजारांै भारतीयहरू आउँछन् मदिरा सेवन गर्छन्,’ ठाढीका स्थानीय कन्हैया भट्टले भने, ‘यसले सीमा क्षेत्रमा व्यवपार बढाए पनि सामाजिक रूपमा नराम्रो असर पारेको छ। तर, प्रहरी प्रशासनले कडाइ गरिरहेको छैन।’ सेवनकर्ताले होहल्ला मचाउँदा झैझगडा हुने गरेको उनले बताए। 

भट्टका अनुसार यहाँबाट दिनहुँ भारतीय गाउँ–गाउँमा मदिरा तस्करी हुने गरेको छ। तस्करी यहाँका व्यापारी, प्रहरी–प्रशासनको संग्लनतामा भइरहेको उनको आरोप छ। तस्करहरूले नेपालका सीमा जोडिएका भारतीय गाउँ–गाउँमा मदिरा पु¥याउने गरेका छन्। नेपालमा ५० देखि १०० रुपैयाँमा पाइने मदिरा भारतीय गाउँमा पुग्दा २०० सय देखि ३०० भारु रुपैयाँ बिक्री हुने गरेको छ। 

‘मदिरा तस्करीमा खुला रूपले धन्धा चलिरहेको छ। प्रहरी मुकदर्शक बनेको छ,’ अर्को स्थानीय रमेश यादवले भने, ‘सीमा क्षेत्रमा सेवनकर्ता नै रहेको ठाउँमा पसल र मदिरा गोदाम छन्। यहाँ खपत हुनेभन्दा बढी राखेको छ। जान्छ कहाँ मदिरा ?’ नेपालबाट भारत मदिरा र उताबाट लागुऔषध नेपाल भित्रिने गरेको उनले सुनाए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.