ठगी गरेको आरोपमा तीन जना पक्राउ
नुवाकोट : मुगा माला, टल्कने पत्थरलगायतका बहुमुल्य मानिएका वस्तु ठगी गरेको आरोपमा तीन जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा गोरखा नगरपालिका–३ नारेश्वरका २३ वर्षीय अश्विन दानी, भीमसेन थापा गाउँपालिका–८ का २५ वर्षीय अर्जुन कुमाल र कपिलवस्तुका इमानसिंह सुनार रहेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ।
गत फागुन ३० गते मुगा माला र टल्कने पत्थर खरिद गर्न भन्दै उनीहरू नुवाकोटको विदुर नगरपालिका–७ महादेवखर्कस्थित चन्द्रबहादुर तामाङको घरमा पुगेका थिए। ‘घरमा पुगेर सामान हेरेछन्, ३५ लाखमा किन्ने फाइनल डिल पनि भएछ,’ प्रहरी नायव उपरीक्षक खगेन्द्रबहादुर खड्काले भने, ‘तर अन्त्यमा पैसा नदिई सामान लिएर भागेछन्।’
तामाङले प्रहरीमा उजुरी गरेपछि प्रहरी टोलीले उनीहरूको खोजी कार्य तीव्र पारेको थियो। फोन ट्रयाकका आधारमा उनीहरूकै कोठाबाट तीनै जनालाई पक्राउ गरिएको डीएसपी खड्काले बताए। ‘ठगी भएको उजुरी आएपछि हाम्रै योजनामा तामाङलाई अरु पत्थर पनि छ भन्दै उनीहरूलाई लिन आउनु भनेर बोलाउन लगायौं। त्यही क्रममा हामीले उनीहरूको फोन ट्रयाक गर्दै लोकेसन पत्ता लगायौं,’ उनले भने।
उनीहरूको साथबाट ठगी गरेको मुगा माला चार थान, सि माला दुई थान, आर माला र टल्कने पत्थर नौ थान समेत बरामद भएको डीएसपी खड्काले जानकारी दिए। पक्राउ परेका युवकहरूलाई १० दिन हिरासतमा राखेर अनुसन्धान गर्न नुवाकोट अदालतबाट म्याद थप अनुमति लिइएको छ।
प्रतिक्रिया दिनुहोस !