सामाजिक सञ्जालको दुरुपयोगले आत्महत्या बढ्यो

सामाजिक सञ्जालको दुरुपयोगले आत्महत्या बढ्यो
सुन्नुहोस्

वीरगन्ज : पर्सा जिल्लामा केही वर्ष यता आत्महत्या गर्नेको संख्या बढ्दै गएको छ। जिल्ला प्रहरी कार्यालयको तथ्यांक अनुसार पर्सामा विगत तीन वर्ष यता आत्महत्या गर्नेको संख्या बर्सेनि बढेको देखिन्छ।

पर्सामा आर्थिक वर्ष २०७८/७९ मा आत्महत्या गर्नेको संख्या १ सय थियो भने आर्थिक वर्ष २०७९/८० मा त्यो संख्या बढेर ११७ पुगेको थियो। चालु आर्थिक वर्षको आठ महिनामा मात्रै पर्सामा ८८ जनाले आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक कुमार विक्रम थापाले जानकारी दिए। 

आर्थिक वर्ष २०७८/७९ देखि चालु आर्थिक वर्षको फागुन महिनासम्म पर्सामा ३ सय ५ जनाले आत्महत्या गरेका छन्। त्यसमध्ये महिला र बालबालिकाको संख्या बढी छ। आत्महत्या गरेका ३ सय ५ जनामध्ये महिला र बालबालिकाको संख्या १ सय ७० रहेको प्रहरी नायब उपरीक्षक थापाले बताए। 

आर्थिक वर्ष २०७८/७९ देखि चालु आर्थिक वर्षको फागुन महिनासम्म पर्सामा महिला १ सय २, बालिका ४८ र बालक २० जनाले आत्महत्या गरेको पर्सा प्रहरीको तथ्यांकमा उल्लेख छ। यस्तै उक्त अवधिमा आत्महत्या गर्ने पुरुषको संख्या १ सय ३५ जना रहेका छन्। 

आत्महत्या गरेका ३ सय ५ जनामध्ये २ सय ६८ जनाले पासो लगाएर र ३७ जनाले विष सेवन गरेर आत्महत्या गरेको थापाले जानकारी दिए। प्रहरी नायब उपरीक्षक थापाका अनुसार जिल्लामा पछिल्लो समय आत्महत्या गर्नेको संख्या बढ्दै जानुमा सामाजिक सञ्जालको दुरुपयोग, उमेर परिपक्व नभइ हुने प्रेम सम्बन्ध, महत्वकांक्षी जीवनशैली, पारिवारिक कलह, मानसिक तनाव,घरेलु हिंसा लगायत विभिन्न कारणहरू रहेका छन्। 

तीमध्ये अहिलेको बढ्दो सूचना प्रविधि र सामाजिक सञ्जालको दुरुपयोग एक मुख्य कारण रहेको थापाले बताए। उनका अनुसार  प्रहरी कार्यालयमा दर्ता भएका आत्महत्या घटना सम्बन्धी मुद्दाको प्रहरीले अनुसन्धान गर्ने क्रममा आत्महत्या गर्नेको संख्या बढ्नुको कारणमा धेरै जसो घटना अहिलेको सूचना प्रविधि र सामाजिक सञ्जालको बढ्दो दुरुपयोग भेटिएको छ। थापाले भने,‘सामाजिक सञ्जालमा मान्छेले अरूको विलासिता जीवनशैली देख्छ। त्यसपछि उसले आफ्नो पनि त्यस्तै जीवनशैली होस् भन्ने सपना देख्न थाल्छ। तर उसले अपेक्षा गरे अनुसारको उसको वा परिवारको आर्थिक हैसियत हुँदैन। त्यसपछि उ मानसिक तनावमा पर्छ। अनि डिप्रेसनमा गएर उसले आत्महत्याको बाटो रोज्छ।’

यस्तै उमेर परिपक्व नभई बालबालिका वा किशोरकिशोरी प्रेम सम्बन्धमा पर्ने र पछि गएर उक्त प्रेम सम्बन्ध सफल नभएपछि मानसिक तनाव आएर आत्महत्या गर्ने प्रवृत्ति पनि देखिएको थापाले बताए। यसमा पनि सामाजिक सञ्जाल नै जोडिएको थापाले बताए। उनले भने,‘अहिले हरेक केटाकेटीको हातमा मोबाइल छ। फेसबुक, ह्वाट्सअप, इन्स्टाग्राम चलाउँछन्। सोसल मिडिया मार्फत नै चिनजान हुन्छ। त्यो चिनजान विस्तारै प्रेम सम्बन्धमा परिणत हुन्छ। तर परिवारको अस्वीकार्यता वा अन्य कारणले उक्त प्रेम सम्बन्ध असफल भएपछि तनावमा आएर आत्महत्यासम्म गर्छन्।’

यस्तै दाइजो वा अन्य कारणले घरभित्र हुने घरेलु हिंसा,पारिवारिक कलह, परिवारको कमजोर आर्थिक अवस्था, विभिन्न कारणले हुने तनावको व्यवस्थापन गर्न नसक्नु इत्यादि कारणले पनि आत्महत्या गर्नेको संख्या बढ्ने गरेको प्रहरी नायब उपरीक्षक थापाले बताए। बढ्दो आत्महत्याको घटना न्यूनीकरणका लागि प्रहरीले बेलाबेलामा लक्षित समूहका बीचमा सचेतनामुलक कार्यक्रमहरू गर्दै आएको पनि थापाले बताए। 

यद्यपि यो सबैको सरोकारको विषय भएकाले यसलाई न्यूनीकरण गर्न स्थानीय सरकार, सामाजिक संघसंस्था र अभिभावक वा परिवारका सदस्यको भूमिका पनि महत्वपूर्ण रहेको थापाले बताए। उनले भने,‘सबै भन्दा पहिले अभिभावकले यदि परिवारको कोही पनि सदस्य तनावमा परेको छ भने उसको गतिविधि नियाल्नु पर्छ। उ के कारणले तनावमा परेको हो  त्यसबारे सोधीखोजी गरेर समाधानको उपायमा लाग्नुपर्छ। यदि बेलैमा उसको तनाव व्यवस्थापन गर्न सकियो भने उसले कुनै अप्रिय बाटो रोज्न नै पाउँदैन।’


  


 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.