आमा समूहको आयोजनामा स्वास्थ्य शिविर
बेनी : म्याग्दीको बेनी नगरपालिका-९ गलेश्वरमा शनिबार स्त्रीरोग सम्बन्धी निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ।
बेनी अस्पताल र बेनी नगरपालिकाको सहयोगमा गलेश्वरधाम आमा समूहले गलेश्वर स्वास्थ्य इकाईमा शिविरको आयोजना गरेका हुन्। शिविरमा ८५ जना लाभान्वित भएका गलेश्वरधाम आमा समूहका उपाध्यक्ष बिन्दु कार्की पुर्जाले जानकारी दिइन्।
बेनी अस्पतालका प्रमुख स्त्रीरोग विशेषज्ञ डा. अञ्जु थापाको नेतृत्वमा, नर्सिङ अधिकृत खेमकुमारी पन्त, नर्सिङ निरीक्षक मनदेवी गौतम, अनमी भविना थापाको टोलीले स्वास्थ्य परीक्षण, परामर्श र निःशुल्क औषधि वितरण सम्बन्धी सेवा दिएका थिए।
पाठेघरको मुखको क्यान्सरको स्क्रिनिङ, रिङ, प्रेसरी राख्ने र स्त्री रोग सम्बन्धी अन्य समस्या भएकाहरूलाई परामर्श सम्बन्धी सेवा दिइएको अस्पतालका प्रमुख थापाले बताइन्। शिविरको उद्घाटन गर्दै बेनी नगरपालिकाका प्रमुख सुरत केसीले मुख्य चुनौतीका रुपमा देखिएका नसर्ने रोग न्यूनीकरण गर्न सचेतना वृद्धि र रोगको पहिचान गरी समयमै उपचारको व्यवस्था मिलाउन जोड दिएको बताए।
प्रतिक्रिया दिनुहोस !