अछाममा भयावह बन्दै लागुऔषधको प्रयोग

अछाममा भयावह बन्दै लागुऔषधको प्रयोग

अछाम : पुस १८ गते अछाम कारागारमै लागुऔषधसहित एक जना पक्राउ परे। पक्राउ पर्नेमा कमलबजार–३ का जनक बडुवाल थिए। उनी, कारागारकै कर्मचारी हुन्। बडुवालको साथबाट मासुमा लुकाएर ल्याएको अवस्थामा ७ सय ४० मिलिग्राम खैरो हिरोइन प्रहरीले फेला पारेको थियो। 

उनी कारागारमा ‘स्विपर’ पदमा कार्यरत थिए। प्रहरीको अनुसन्धानबाट बडुवाललाई खैरो हिरोइन बेच्ने मंगलसेनका कमल ढुंगानालाई पनि प्रहरीले पक्राउ गर्‍यो। प्रहरीले बडुवालाई तारेखमा छोडेको छ, भने ढुंगानामाथि अनुसन्धान भइरहेको छ। बान्नीगढी जयगढ गाउँपालिकामा गत फागुन २ गते लागुऔषध सेवन गरेका विद्यार्थीले शिक्षकमाथि हातपात गरेको घटनाबाहिर आयो। पालिकाको सरस्वती माध्यमिक विद्यालयका एक शिक्षकमाथि साँफेबगरको महेन्द्र मावि कक्षा ८ मा अध्ययनरत विद्यार्थीको समूहले हातपात गरेको थियो। उनीहरूले लागुऔषध सेवन गरेका थिए। 

पुस १८ र २१ गते प्रहरीले जिल्लाका विभिन्न ठाउँबाट लागूऔषध ओसारपसार र सेवन गर्ने ४ जनालाई पक्राउ गरेको थियो। पक्राउ पर्नेमा एक जना महिला र ३ जना युवा छन्। दुई जनालाई डडेलधुरा र दुई जना साँफेबगरबाट पक्राउ परेका थिए। साँफेबगरबाट पक्राउ परेकाहरू बाजुरा बुढीनन्दा नगरपालिका–७ पाण्डुसैनकी पशुपति थापा र साँफेबगर नगरपालिकाका क्षितिज बुढाको साथबाट ५६ ग्राम १ सय ७० मिलिग्राम लागूऔषध र डँडेलधुराबाट पक्राउ परेका साँफेबगरका २९ वर्षका सुमन ठकुल्ला र २८ वर्षका अशोक स्वाँरका साथबाट खैरो हेरोइन ५ ग्राम २७ मिलिग्राम प्रहरीले फेला पार्‍यो। पशुपति थापा लागुऔषध बेचबिखनमा दोस्रो पटक पक्राउ परेकी हुन्। गत वर्ष पनि उनी पक्राउ परेकी थिइन्। 

अछाममा लागुऔषधको प्रयोग चिन्ताजनक ढंगले बढ्दै गएको छ। केही समयपहिले सुदूरपश्चिम प्रदेशको दुई तराईका जिल्ला कैलाली र कञ्चनपुरमा लागुऔषधका घटनाहरू सुनिन्थे। अहिले लागुऔषध बेचबिखन र ओसारपसारमा संलग्न गिरोह पहाडी जिल्लाका विकट गाउँबस्तीसम्म पुग्न थालेका छन्। तराईका जिल्लाहरूबाट लागूऔषध यहाँ भित्रिने गरेको छ। खैरो हिरोइन, चरेसलगायतका लागुपदार्थ प्रयोग गर्ने कलिलो उमेरका किशोरकिशोरीदेखि युवाहरूको संख्या बढ्दै गएको छ। तराईका जिल्लाहरूबाट खैरो हिरोइनलगायतका लागूपदार्थ ल्याएर बिक्री गर्ने गिरोह सक्रिय रहेको छ। लागुऔषधको कारोबार गर्ने गिरोहले किशोरकिशोरी र युवायुवतीलाई बिक्री वितरण गर्ने गरेको छ। प्रहरीले लागुऔषधको प्रयोग गर्ने र सानो मात्रामा बोक्नेलाई पक्राउ गरे पनि कारोबार गर्ने मुख्य गिरोहका व्यक्तिहरूलाई समातेर कारबाही गर्न सकेको छैन। 

अब शिक्षकहरूले विद्यार्थीहरूदेखि डराउने अवस्था सिर्जना भएको साँफेबगर नगरपालिका— ८ चण्डिकाका वडाध्यक्ष कालुसिंह कुँवरले बताए। उनले भने, विद्यालयमै लागुपदार्थ खाएर झैझगडा गर्छन्, यहाँका स्थानीय शिक्षक त खासै डर मान्दैनन्, जिल्ला बाहिरबाट आएका शिक्षकहरू डराउँछन् विद्यार्थी देखेर। विद्यार्थीहरू बढी जस्तो विद्यालय नजिकका जंगलहरूमा गएर लागूऔषध सेवन गर्ने गर्छन्।’ केही विद्यार्थीका अभिभावकलाई जानकारी गराउँदासमेत आफ्नो छोराछोरी त्यस्तो नभएको बताउने गरेका कारण विद्यालयमा झन् समस्या उत्पन्न गरेको र विद्यालय प्रहरी एक्लै मात्र समस्या समाधान गर्न नसक्ने एक शिक्षकले बताए। कापी, कलम बोक्नुपर्ने विद्यार्थी चुरोट, लाइटर र अन्य लागुपदार्थ बोकेर विद्यालय आउने गरेका उनले बताए। उनले भने, अधिकांशका अभिभावकहरूमा बुवाहरू भारत तथा विदेश छन् र घरमा रहेका आमाहरूले भनेकै नमान्ने अवस्था रहेको छ, लागूऔषधको प्रयोग यस्तै हो भने भयावह हुन्छ सबै पक्ष समयमै सचेत हुन अति आवश्यक छ।’

केही युवाहरू विदेश बाँकी गाउँघरमा भएका युवाहरू लागुऔषधको कुलतमा फस्दै गएकाले लागूऔषध नियन्त्रण चुनौतीका रूपमा रहेको साँफेबगर नगरपालिकाका मेयर राजेन्द्रबहादुर कुँवरले बताए। उनले भने, ‘भुसको आगो जस्तै डरलाग्दो गरी लागुऔषधको समस्याले विकराल रूप लिँदै छ। सानासाना बालबालिकासमेत यसको सिकार हुँदै छन्। लागूऔषध ठूलो चिन्ताको विषय बनेको छ। यसको नियन्त्रणका लागि प्रहरीसँग सहकार्य गरेर अगाडि बढेका छौं।’ कतिपय लागुऔषधका सूचनाहरू आफैंले प्रहरीलाई दिने गरेको मेयर कुँवरले बताए। अभिभावकले आफ्ना छोराछोरीप्रति निगरानी नराख्नाले लहलहैमा लागेर लागुऔषध दुव्र्यसनको दलदलमा फस्ने गरेका छन् भने कयौंको जीवन बर्बाद भएको छ। अभिभावकले पनि आफ्ना छोराछोरीको व्यवहारमा ध्यान दिनुपर्ने उनी बताउँछन्। लागुऔषधको रूपमा प्रयोग हुने डाक्टरको सिफारिसबिना नै यहाँका निजी मेडिकलहरूले औषधि बिक्री वितरण गर्ने गरेका छन्। हेलोपेरिडोल, एमिटिप्टालिन, प्रेगाबालिन, टाम्राडोल र क्याफिनजस्ता औषधिहरू डाक्टरको सल्लाहबिना नै यहाँका मेडिकलहरूबाट बिक्री हुने गरेको छ। यी औषधिहरू डाक्टरको सिफारिसबिना बिक्री वितरण गर्न पाइँदैन। तर जिल्लामा सञ्चालित निजी मेडिकलहरूमा निर्वाध रूपमा खुलेआम बिक्री वितरण हँुदै आएको छ। स्वास्थ कार्यालय अछामका प्रमुख झनक ढुंगानाले मेडिकलहरू अनुगमन गर्दा यस्ता थुप्रै औषधिहरू जफत गरिएको बताए। उनले भने, ‘प्रायः मेडिकलहरूले बिना डाक्टरको सल्लाहमा औषधि जति मात्रामा पनि दिने गरेको पाइयो। अनुगमनका क्रममा पनि धेरै फेला पर्‍यो।’ 

जिल्लामा दुई वर्षको अवधिमा लागूऔषधसम्बन्धी ७ मुद्दा दर्ता भएको र १७ जना पक्राउ परेको तथ्यांक प्रहरीसँग छ। गत आर्थिक वर्षमा ५ मुद्दा दर्ता र १२ जना पक्राउ परेका छन्। यसैगरी चालु आर्थिक वर्षमा दुई मुद्दा दर्ता भई ५ जना पक्राउ परेका छन्। गत आर्थिक वर्षमा चरेस १ हजार ११ ग्राम र चालु आर्थिक वर्षमा २८ ग्राम ९०२ मिग्रा चरेस, ७ सय ४० मिलिग्राम खैरो हिरोइन फेला पारेको छ। प्रहरीले लागुऔषध नियन्त्रण सञ्जाल समितिसमेत गठन गरेको छ। प्रहरीले एक जिल्लास्तरीय, ९१ वडा स्तरीय, १० पालिकास्तरीय, १ सय ६ विद्यालयस्तरीय गरी २ सय ८ वटा सञ्जाल गठन गरेको प्रहरी प्रमुख डीएसपी सन्तोष पाठकले जानकारी दिए। उनले भने, सबैभन्दा पहिले त लागूऔषधको कारोबारको सूचना पाउनै मुस्किल छ, केही लागुऔषध सेवन केही ओसारपसारमा पक्राउ पर्ने गरेका छन्। लागुऔषध प्रयोगकर्ता र बिक्रीवितरण गर्ने गिरोह विकट गाउँगाउँमा पुगिसकेको अवस्था छ। नियन्त्रण गर्न चुनौती छ पछिल्लो समय पहाडी जिल्लाहरूमा।’ प्रहरीले विद्यालय र समुदायस्तरमा सचेतना कार्यक्रम सञ्चालन गर्दे आएको छ। लागुऔषध फेला परेका जो कोहीलाई पनि प्रहरीले समातेर कारबाही गर्ने गरेको डीएसपी पाठकले बताए। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.