मदिरामा राजस्व छली प्रकरण

कर्मचारीलाई उन्मुक्ति, छानबिनै शंकास्पद

कर्मचारीलाई उन्मुक्ति, छानबिनै शंकास्पद

सिरहा : मदिराको बोतलमा अन्तःशुल्कको एउटा स्टिकरलाई दुई टुक्रा पारी राजस्व छली गरेको घटनालाई सामान्यकरण गर्ने प्रपञ्च भइरहेको पाइएको छ। यसमा व्यवसायी र आन्तरिक राजस्व कार्यालयबाट खटाइएका कर्मचारीको मिलोमतो थियो। व्यवसायीलाई धरौटीमा छाडिएको छ भने कर्मचारीलाई उन्मुक्ति दिइएको  छ । साथै, ‘विधि पुर्‍याएर’ सम्बन्धित डिस्टिलरी खुलाउने तयारी भएको स्रोतले जनायो।  

घटनामा आशिष जेनेरल स्टोरका मालिक ललनकुमार यादव र शारदा डिस्टलरी प्रालिका प्रमोद गोयन्का धरौटी बुझाएर तारिखमा रिहा भएका छन्। हालसम्म डिस्टलरी र जेनेरल स्टोर सिल छन्। मुद्दा छानबिन गरिरहेका आन्तरिक राजस्व कार्यालय लहानले जेनेरल स्टोरलाई बरामद मदिरामा राजस्व छलीबापत १९ लाख ९० हजार जरिवाना र कैदबापत प्रतिदिन ३ सयका दरले एक वर्षको १ लाख ९ हजार ५ सय धरौटी माग दाबी गरेको थियो। स्टोरका मालिक यादवले सोही धरौटी रकम २० लाख ९९ हजार ५ सय रुपैयाँ बुझाएर हाजिरी जमानी तारिखमा रिहा भएका छन्। 

यसैगरी, यही मुद्दाका अर्का प्रतिवादी डिस्टलरीका अध्यक्ष प्रमोद गोयन्का राजस्व कार्यालयले माग दाबी गरेका २ करोड ३८ लाख ५१ हजार ६ सय ३३ रुपैयाँ धरौटी बुझाएर हाजिरी जमानी तारिखमा रिहा भएका छन्। उनलाई पनि राजस्व कार्यालयले एक वर्ष कैद बापतको रकम धरौटी माग गरेको थियो।  ‘मुद्दाको अन्तिम टुंगो लागेको छैन। प्रक्रियामा गएको छ। बयान लिने काम पनि भइरहेको छ,’ राजस्व कार्यालय प्रमुख पुण्य रिजालले भने, ‘यस घटनाका अन्य प्रमाणहरू संकलन गर्ने कार्र्य पनि जारी छ। प्र्रमाणका आधारमा घटनाका दोषीलाई अधिकतम सजाय हुनेछ।’ यही चैत २५ गते अर्को तारिख तोकिएको उनले जानकारी गराए। 

राजस्व कार्यालयका अनुसार जेनेरल स्टोरका मालिक यादवलाई १०० प्रतिशत र डिस्टलरीका सञ्चालकलाई २०० प्रतिशत जरिवाना र एक वर्ष माग दाबी भएका छन्। अन्तःशुल्क ऐन–२०५८ अनुसार कारबाही अगाडि बढेको छ। उद्योगको सिलबन्दी खोल्ने विषयमा विभागको निर्देशन माग गरेका छन्। महानिर्देशकले जे आदेश आउँछ त्यही गरिने जानकारी गराएका छन्। 

१९ लाखको मदिरामा, ९ लाख राजस्व छली   

राजस्व छली भएको तथ्य बाहिरिएपछि राजस्व कार्यालयको टोलीले सिरहा नगरपालिका–१५ माडरस्थित आशिष जेनेरल स्टोरबाट ३२ सय कार्टुन गौरब ब्रान्डका मदिरा बरामद गरेका थिए। जसमध्ये २ हजार १ सय ४० कार्टुन मदिरामा एउटा स्टिकरलाई दुई टुक्रा गरी प्रयोग गरिएको अनुसन्धानमा पाइएको छ। एक कार्टुनमा ३० बोतल मदिरा हुन्छ। 

२ हजार १ सय ४० कार्टुनमा ७० युपीका १९ हजार २ सय ६० लिटर मदिरा प्याकिङ छन्। प्रतिलिटर ५० रुपैयाँ उद्योगले राजस्व कार्यालयमा तिर्नुपर्ने हुन्छ। १९ लाख ७९ हजार ५ सयको मदिरामा अन्तःशुल्कको एउटा स्टिकरलाई दुई टुक्रा बनाउँदा ९ लाख ६३ हजार राजस्व छली गरेको पाइएको छ। अन्तःशुल्क ऐन–२०५८ अनुसार स्टोर र उद्योगलाई कारबाही बढाएको कार्यालयले जनाएको छ।     

कर्मचारीलाई उन्मुक्ति दिने चलखेल

उद्योगले उत्पादन गरिरहेकै बेला अन्तःशुल्कको स्टिकर मदिरा बोतलमा लगाउने कार्य गर्छन्। उत्पादित मदिरा उद्योगभित्रै रहेका अन्तःशुल्कको गोदाममा स्टोर गरिन्छ। त्यसपछि राजस्व कार्यालयसँग निकासी माग गर्छन्। निकासी माग गरे परिमाणको उद्योगीले राजस्व बुझाउँछन्। राजस्व तिरिसकेपछि स्टिकर चेकजाँच गरी राजस्व कार्यालयले निकासी स्वीकृति दिन्छन्। त्यसका लागि उद्योगमा एक जना कर्मचारी खटाइएको हुन्छ। तर, यहाँ कर्मचारीले केही काम नगरेको देखिएको छ।

यस उद्योगमा नासु कमल सुवेदीलाई खटाइएको कार्यालयले जनाएको छ। तर, यो मुद्दामा उनलाई कतै नसमेटिएको पाइएको छ। घटना बाहिरिएको दिन मदिरा निकासी भइरहेको बेला कर्मचारी उद्योगमा उपस्थित भएको वा नभएको विषयमा राजस्व कार्यालय प्रमुख रिजालले केही बताउन चाहेनन्। यसै घटनालाई छानबिन गर्न राजस्व विभागमा अन्तःशुल्कको शाखा हेर्ने डाइरेक्टर र अफिसर पनि लहान आएका थिए। मुद्दा प्रक्रियामा रहेकाले सबै कुरा अहिले बोल्न नमिल्ने रिजालले बताए।  

कर्मचारी देखाउनलार्ई मात्रै उद्योगमा पुगेको वा उद्योगीको विश्वासमा अन्तःशुल्कको गोदामको साँचो बुझाएको देखिएको छ। उत्पादनदेखि निकासीसम्म कर्मचारीले चेकजाँच नगरेपछि उद्योगले स्टिकर टुक्रा गरी राजस्व छलीको धन्धा निर्वाध रूपले चलाएको हुन सक्ने एक व्यवसायीको आरोप छ। यो कार्य राजस्व कार्यालयको कर्मचारी नमिलेसम्म सम्भव नै नरहेको उनको भनाइ छ। तलदेखि माथिसम्मको सेटिङमा यस्तो कार्य भइरहेको उनले सुनाए। ‘यहीका कर्मचारीको मिलोमतोमा राजस्व छली भएको देखिन्छ। फेरि यहीँका कार्यालयले छानबिन गरिरहेका छन्। यसमा विश्वासिलो अनुसन्धान नहुने देखिएको छ,’ एक व्यवसायीले भने, ‘यसमा विभागले छुट्टै छानबिन गर्नुपर्ने हुन्छ। संलग्न कर्मचारीलाई पनि कारबाहीको दायरमा ल्याउनुपर्छ।’ आफैं धाँमी, आफैं बोक्सी जस्तो अनुसन्धान देखिएको उनको भनाइ छ।  

कारबाहीका लागि संसद्मा पनि माग

जनमत पार्टीका प्रतिनिधिसभा सदस्य अब्दुल खाँले प्रतिनिधिसभा बैठकमा सञ्चार माध्यमका समाचारलाई उदृत गर्दै प्रहरी प्रशासनको मिलोमतोमा राजस्व छली भइरहेकाले कारबाहीका लागि सरकारलाई ध्यानाकर्षण गराएका छन्। उनले यस घटनमा राजस्वका कर्मचारीमाथि छानबिन नभएको उल्लेख गरेका छन्। छानबिनमा सरकार गम्भीर हुनुपर्ने र घटना बाहिर ल्याउनेलाई संरक्षण गर्नुपर्ने उनको तर्क छ।  यो उद्योगले दिनहुँ २०÷२५ ट्रक मदिरा बाहिर पठाउने गरेको स्थानीय एक व्यवसायीले सुनाए। राजस्व छलीको घटनामा प्रहरी प्रशासनको पनि मिलोमतो रहेको घटनाले देखाएको उनले सुनाए। समय–समयमा कर्मचारी उद्योगमा आउँदा पनि चेकजाँच नगरेको ती व्यवसायीको दाबी छ। 

पछिल्लो समय राजस्व छलीबारे भेटिएको यो तथ्य उदाहरण मात्र हो। सिरहा जिल्लास्थित शारदा डिस्टिलरीलगायतका उद्योगबाट दैनिक रूपमा यसैगरी एउटा स्टिकरलाई दुई–तीन टुक्रा पारी राजस्व छली हुँदै आएको छ। 

स्थानीय प्रशासन र नियमनकारी निकायको मिलेमतोमा राजस्व छली भइरहेको आरोप लाग्दै आए पनि सरकारी निकायले त्यसलाई अस्वीकार गर्दै आएको छ।

सीमामा गोदाम, भारततिर तस्करी

भारतको बिहार राज्यमा मदिरा प्रतिबन्ध भएदेखि नेपालका दशगजा क्षेत्रमा थुप्रिन थालेका छन्। हजारौं पसल खुलेका छन्। उनीहरूको मुख्य ग्राहक नै भारतीय हुने गरेका छन्। 

सिरहाको माडरदेखि भगवानपुर गाउँपालिकाको ठाढीसम्म सैयौं पसलहरू खुलेका छन्। ‘मदिरा पसल फस्टाएको छ। यहाँ दिनहुँ हजारांै भारतीयहरू आउँछन् मदिरा सेवन गर्छन्,’ ठाढीका स्थानीय कन्हैया भट्टले भने, ‘यसले सीमा क्षेत्रमा व्यापार बढाए पनि सामाजिक रूपमा नराम्रो असर पारेको छ। तर, प्रहरी प्रशासनले कडाइ गरिरहेको छैन।’ सेवनकर्ताले होहल्ला मचाउँदा झैझगडा हुने गरेको उनले बताए। 

भट्टका अनुसार यहाँबाट दिनहुँ भारतीय गाउँ–गाउँमा मदिरा तस्करी हुने गरेको छ। तस्करी यहाँका व्यापारी, प्रहरी–प्रशासनको संलग्नतामा भइरहेको उनको आरोप छ। तस्करहरूले नेपालका सीमा जोडिएका भारतीय गाउँ–गाउँमा मदिरा पुर्‍याउने गरेका छन्। नेपालमा ५० देखि १०० रुपैयाँमा पाइने मदिरा भारतीय गाउँमा पुग्दा २०० सय देखि ३०० भारु रुपैयाँ बिक्री हुने गरेको छ। 

यसरी बाहिरियो राजस्व छलीको तथ्य

चैत ४ गते आइतबार बिहान दुइटा ट्रकमा उद्योगले उत्पादन गरेका मदिरा खरिद गरेका व्यवसायीलाई पठाइरहेका थिए। त्यही ट्रकलाई पछ्याउँदै सञ्चारकर्मी विनय यादव इलाका प्रहरी कार्यालय विष्णुपुर पुगे। प्रहरीलाई यसमा राजस्व छलीको मदिरा गइरहेको जानकारी दिइयो। प्रहरीले गाडी रोक्यो। एउटा कार्टुनबाट मदिराको बोतल निकालेर जेकजाँच गर्दा अन्तःशुल्कको स्टिकर टुक्रा गरी प्रयोग गरिएको पाइएको थियो। तर, प्रहरीले गाडीलाई रोकेनन्। 

ट्रक रोकेका प्रहरीलाई फोन आएपछि उनले गाडी छाडे। मदिराको ट्रक प्रहरी पोस्ट चोहर्वा, विष्णुपुर, जिल्ला प्रहरी कार्यालय सिरहा, खिरौना पार गर्दै आशिष जेनेरल स्टोरमा अनलोड गरेका थिए। राजस्व कार्यालयका प्रमुख रिजाललाई सञ्चारकर्मीले जानकारी दिएको धेरै बेरपछि राजस्व कार्यालयका कर्मचारी त्यहाँ पुगेका थिए। मदिरा चेकजाँच गर्दा घटना बाहिरिएको थियो।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.