कोरियालीसहित १० पर्वतारोहीले जुगल हिमाल चढ्ने

कोरियालीसहित १० पर्वतारोहीले जुगल हिमाल चढ्ने

सिन्धुपाल्चोक : काठमाडौंबाट सबैभन्दा नजिकको जुगल हिमाल आरोहण हुने भएको छ। नेपाल र दक्षिण कोरियाका १० पर्वतारोहीले चैत २४ देखि वैशाख १५ गतेसम्म जुगल हिमाल आरोहण गर्ने भएका हुन्।

नेपालका ३ र दक्षिण कोरियाका ७ जना गरी १० जनाले आरोहण गर्न लागेको जुगल गाउँपालिकाका अध्यक्ष रेशम स्याङ्बोले बताए। उनले आरोहण गर्ने कार्यक्रमको सम्पूर्ण तयारी पूरा भएको समेत जनाए। नेपाल र दक्षिण कोरियाको कूटनीतिक सम्बन्ध स्थापना भएको ५० वर्ष पुगेको अवसर पारेर जुगल हिमाल आरोहणको तयारी गरिएको हो। नेपालीसहितको आरोहण टोलीलाई जुगलले स्वागत गर्ने र तेम्बाथान हुँदै हिमाल आरोहणका लागि टोली प्रस्थान गर्ने गाउँपालिकाका अध्यक्ष स्याङ्बोले बताए।

आरोहण दलका सदस्यहरूलाई चैत २४ गते काठमडौंबाट प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कोरिया र नेपालको झन्डासहित बिदाइ गर्ने कार्यक्रम रहेको आरोही समेत रहेका पर्यटन अभियन्ता मिलन तामाङले जानकारी दिए। आरोहण दलका सदस्यहरू काठमाडौंबाट अरनिको हाइवे हुँदै बलेफी, नौविसे, जलविरे तेम्बाथाङ सडकबाट जुगलको ढाँडे पुग्ने छन्। त्यहाँ जुगल गाउँपालिकाले आरोहीहरूलाई भव्य स्वागत गर्ने कार्यतालिका रहेको पालिकाले जनाएको छ।

 
आरोहण दलले जुगल हिमश्रृङ्खलामा रहेको ६ हजार ५ सय ९१ मिटरको ‘जुगल– १’ र ६ हजार ५ सय १८ मिटरको ‘जुगल– २’ नामका चुचुराको आरोहण गर्ने अभियन्ता तामाङले जानकारी दिए। चैत ८ गते बसेको मन्त्री परिषद्को बैठकले दुवै हिमाल आरोहण गर्दा लाग्ने सलामी दस्तुर मिनाहा गर्ने निर्णय गरिसकेको छ। 

गाउँपालिकाका अध्यक्ष स्याङ्बोले सिन्धुपाल्चोकको जुगल गाउँपालिकामा पर्ने जुगल हिमाल आरोहणका लागि अन्तर्राष्ट्रिय पर्यटक भित्राउन पाउँदा खुशी लागेको बताउँदै यसबाट गाउँपालिका, जिल्लाको मात्र नभै सिंगो देशको पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने विश्वास व्यक्त गरे।

२०७५ चैत २६ गते सगरमाथा आरोही माया गुरुङको नेतृत्वमा पहिलो पटक जुगल हिमाल सफल आरोहण भएको थियो। त्यसअघि सन् १९५५ मा तीन अमेरिकन महिलाले जुगल आरोहणको प्रयास गरेका थिए। हाई अल्टिच्यूडका कारण एक सदस्य बिरामी परेको र बाँकीले खराब मौसमका कारण ६ हजार एक सय ५१ मिटरसम्म यात्रा गरी फर्किएका थिए।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले गत जेठमा जुगल हिमशृङ्खलामा पर्ने ५ वटा चुचुरोहरू आरोहणका लागि खुला गरेको थियो। ६ हजार ५ सय ९१ मिटर अग्लो जुगल– १, ६ हजार ५ सय १८ मिटर अग्लो जुगल– २, ६ हजार १ सय ८४ मिटर अग्लो जुगल– ३, ५ हजार ९ सय ३६ मिटर अग्लो जुगल– ४ र ५ हजार ९ सय २२ मिटर अग्लो जुगल ५ लाई पर्वतारोहण प्रयोजनका लागि खुला गर्ने निर्णय गरेको थियो।

सरकारले खुला गरिएका हिमालको विवरण राजपत्रमा प्रकाशित गरेसँगै जुगल हिमालमा व्यावसायिक आरोहणको बाटो खुलेको हो। तुलनात्मक रुपमा होचा यी हिमालहरू अग्लो हिमाल चढ्नु अगाडिको आरोहण अभ्यासका लागि उपयुक्त मानिन्छन्। जुगल हिमशृङ्खलामा ६ हजार मिटर भन्दा अग्ला ८ वटा चुचुरो रहेको बताइएको छ। पछिल्लो समय स्थानीय सरकारले समेत जुगललाई पर्यटकीय गन्तव्य बनाउन विभिन्न प्रयास गरिरहेको छ।


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.