सहकारी ठगी प्रकरण

कांग्रेसले चेतावनी दिएपछि शीर्ष चार दलका नेतासँग छलफल गर्दै सभामुख घिमिरे

कांग्रेसले चेतावनी दिएपछि शीर्ष चार दलका नेतासँग छलफल गर्दै सभामुख घिमिरे

काठमाडौं : संसद्को गतिरोध अन्त्यका लागि सभामुख देवराज घिमिरेले सत्ता पक्ष र प्रमुख प्रतिपक्ष दलका शीर्ष नेतासँग छलफल गर्ने भएका छन्। सहकारी ठगी प्रकरणमा उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेमाथि कांग्रेसले संसदमा निरन्तर प्रश्न उठाएपछि सभामुख घिमिरेले  सोमबार दिउँसो २ बजे सिंहदरबारस्थित आफ्नै कार्यकक्षमा शीर्ष नेतालाई छलफलका लागि बोलाएको सभामुखका प्रेस सल्लाहकार शेखर अधिकारीले अन्नपूर्ण पोस्ट्लाई जानकारी दिए। 

उनका अनुसार सभामुखले प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, कांग्रेस सभापति एवम् प्रमुख प्रतिपक्ष दलका नेता शेरबहादुर देउवा,नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र रास्वपाका सभापति एवम् गृहमन्त्री लामिछानेलाई छलफलका लागि बोलाएका हुन्।

कांग्रेसले गृहमन्त्री लामिछानेमाथि छानबिनका लागि संसदीय छानबिन समिति गठन गर्न निरन्तर माग गरिरहेको छ। यस अगाडिको बैठकमा नेपाली कांग्रेसका महामन्त्री एवम् सांसद विश्वप्रकाश शर्माले कांग्रेसले दिएको अल्टिमेटम सकिएकाले आगामी बैठकमा संसदीय छानविन समिति नआए संसद ठप्प पार्ने उद्घोष गरेका थिए। उनले छानबिन समितिबाट निर्दोष साबित हुन सुझाव दिए।

नयाँ सत्ता समीकरण बनेर लामिछाने गृहमन्त्री भएसँगै कांग्रेसले निरन्तर उनीमाथि प्रश्न उठाउँदै आएको छ। सत्तारुढ दलले भने कांग्रेसको माग अनुसार संसदीय छानबिन समिति गठन नहुने धारणा राख्दै आएका छन्।  महामन्त्री शर्माले कांग्रेसको सहमति बिना वा कार्यव्यवस्था परामर्श समितिको सहमति बिना संसद बैठक सञ्चालनका लागि कार्यसूची नराख्न समेत सभामुखलाई आग्रह गरेका थिए। 

 ‘सहकारी प्रकरणलाई लिएर गृहमन्त्री लामिछानेमाथि कांग्रेसले संसदमा नियमित प्रश्न उठाइरहेको छ। छानबिन समिति गठनका लागि अल्टिमेटम दिएको छ। कांग्रेसले विरोध गर्दा संसद् प्रभावकारी रुपमा सञ्चालन पनि हुन सकेको छैन,जसका कारण संसद्का नियमित काम कारबाही पनि प्रभावित भइरहेका छन्।’ सभामुखका प्रेस सल्लाहकार शेखर अधिकारीले भने, ‘मंगलबार बिहान प्रतिनिधि सभाको बैठक बोलाइएको छ। त्यस अगाडि सोमबार सत्ता पक्ष र प्रमुख प्रतिपक्षबीच छलफल गरेर संसदको गतिरोध अन्त्यका लागि आज सभामुखज्यूले पहल गर्नुभएको हो।’

उनीहरुबीच कांग्रेसको माग र सदनलाई नियमित सञ्चालन गर्न कसरी सकिन्छ भन्ने विषयमा पनि छलफल हुने उनको भनाई छ।  प्रतिनिधि सभाको बैठक मंगलबार बिहान ११ बजे बस्दैछ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.