दुइटा नयाँ बने, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको क्षमता बढ्दै

दुइटा नयाँ बने, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको क्षमता बढ्दै
सांकेतिक तस्बिर

काठमाडौं : सन् १९४९ मा भारतीय राजदूत सरजित सिंह महथाईले चार सिट क्षमता र एक इन्जिन भएको बिचक्राफ्ट बोनान्जा नेपालको गौचरनमा अवतरण गरे।  अहिलेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भएको केही उच्च तर समतल डाँडो भएको गौचरनमा पहिलो विमान अवतरण भएको इतिहास त्यहीं हो। 

त्यसको अघिल्लो वर्ष नै सन् १९५० मा हिमालयन एभियसनको डकोटा विमानले चार्टर फ्लाइटको अनुमति पायो। उक्त विमानले काठमाडौं गौचरनबाट कलकत्ताको लागि उडान भरेको थियो। सन् १९५५ मा तत्कालीन राजा महेन्द्रले गौचरनको नाम त्रिभुवन विमानस्थल राख्दै औपचारिक उद्घाटन गरे। सन् १९५७ मा त्रिभुवन विमानस्थलको घाँसे रनवेलाई पक्की बनाउने कार्य सम्पन्न भयो र सेवा प्रारम्भ गरिएको थियो। 

सन् १९६६ मा त्रिभुवन विमानस्थल धावनमार्गको लम्बाइ ६ हजार ६ सय फिट (२ हजार ११ मिटर) बनाइएको थियो। त्यसअघि लम्बाइ ३ हजार ७ सय फिट (१ हजार १ सय २७ मिटर) थियो। १९७५ मा धावनमार्ग लम्बाइ १० हजार फिट (करिब ३ हजार मिटर) पुर्‍याइएको थियो।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आन्तरिक र बाह्य गरी सरदर साढे ३ सय उडान हुने गरेका छन्। नेपालीसहित करिब ३० विमान कम्पनीहरूले अन्तर्राष्ट्रिय उडान भर्छन् भने आन्तरिकतर्फ विमान र हेलिकप्टर गरी २१ कम्पनीहरूले सेवा दिँदै आएका छन्। विमानस्थलले करिब २३ हजार यात्रुलाई दैनिक सेवा दिइरहेको छ। वार्षिक यात्रुको चहलपहल करिब ७५ लाख छ। अहिले विमानस्थलमा एयरबस ३३० सम्मका विमानहरू उडान र अवतरण गर्छन्।

  •     त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आन्तरिक र बाह्य गरी सरदर साढे ३ सय उडान हुने गरेका छन्। 
  •     वैकल्पिक अन्तर्राष्ट्रिय विमानस्थलका रुपमा भैरहवामा विमानस्थल बनाइयो ।  
  •     पोखरा विमानस्थलमा वर्षमा १० लाख जना आउजाउ गर्न सक्छन्।  

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले कोरोना अघिसम्म वार्षिक ७२ लाख यात्रुको भार वहन गरेको थियो। अहिले विमानस्थलले वार्षिक ७५ लाख यात्रुलाई सेवा दिइरहेको छ। उक्त विमानस्थलको पूर्ण वहन क्षमता ९२ लाख यात्रुसम्मको रहेको छ।

भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल

त्रिभुवन विमानस्थलको विकल्पको रूपमा दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल बनाइयो– भैरहवामा। निर्माण सुरु भएको आठ वर्षपछि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट व्यावसायिक उडान सुरु गरियो। २०७१ साल माघमा शिलान्यास भएको विमानस्थल आयोजनाको आठ पटक म्याद थप गरेर भौतिक संरचना, सञ्चार उपकरण जडानलगायत सबै काम सम्पन्न भएको हो। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको करिब ७० वर्षपछि २०७९ जेठमा नयाँ अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको हो। 

पहिलो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुने उडान चापलाई कम गर्न अन्तर्राष्ट्रिय उडान डाइभर्ट गर्नुपर्दा पनि आफ्नै विमानस्थल प्रयोग गर्न सकिने गरी वैकल्पिक विमानस्थलको गौतमबुद्ध विमानस्थललाई लिइएको छ। हाल गौतमबुद्ध विमानस्थलले वार्षिक २० लाख यात्रुहरूलाई सेवा दिन सक्ने बताइएको छ। दोस्रो टर्मिनल भवन निर्माणपछि वार्षिक करिब ७० लाख यात्रुलाई सेवा दिन सक्ने बताइएको छ। 

यो विमानस्थलको हालसम्मको लागत करिब ३१ अर्ब पुुगेको छ भने विमानस्थलको भौतिक लागत करिब ११ अर्ब पुुगेको प्राधिकरणले जनाएको छ। विमानस्थल व्यवस्थापन हुन नसक्दा नियमित व्यावसायिक उडान हुन नसके पनि वैकल्पिक विमानस्थल भने तयार भएको छ। आँखाले हेरेर गर्ने (भिजुअल फ्लाइट रुल्स) र उपकरण हेरेर गर्ने (इन्स्टूमेन्टल फ्लाइट रुल्स) दुवै उडान भर्न सकिने गौतमबुद्ध विमानस्थल सरकारको राष्ट्रिय गौरवको आयोजना पनि हो। दिगो पर्यटन विकासका लागि मुलुकमा अर्को वैकल्पिक अन्तर्राष्ट्रिय विमानस्थलका लागि भैरहवा विमानस्थल निर्माण गरिएको हो। 

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल

जग्गा अधिग्रहणको ४७ वर्षपछि पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आयो। अंग्रेजी नयाँ वर्ष २०२३ को पहिलो दिन (पुस १७ गते) देखि विमानस्थल सञ्चालनमा आएको थियो। देशकै तेस्रो अन्तर्राष्ट्रिय विमानस्थल पर्यटकीय राजधानी पोखरामा अवस्थित छ। 

चौबिसैघण्टा चल्न सक्ने व्यवस्थित विमानस्थलको रूपमा रहेको पोखरा विमानस्थलमा वर्षमा १० लाख जना आउजाउ गर्न सक्छन्। प्रतिघण्टा ६ सय १० जनालाई सेवा दिन सक्ने क्षमता विमानस्थलको छ। पोखरामा पर्यटकीय आवागमन बढी नै भएको र पुरानो विमानस्थल सानो भएकोले नयाँ अन्तर्राष्ट्रिय विमानस्थल बनाइएको हो। नयाँ विमानस्थलमा प्रविधिबाट हुने उडान आईएफआर (इन्स्टुमेन्टल फ्लाइट रुल्स) हुँदै आएको छ भने रात्रिकालीन उडान पनि भइरहेको छ। 

चीनको झन्डै २२ अर्ब सहुलियतपूर्ण ऋणमा पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण सम्पन्न भएको हो। सरकारले २०७८ साल असार २६ (सन् २०२१ जुलाई १०) भित्र निमार्ण सम्पन्न गर्ने गरी २०७३ वैशाख १ मा विमानस्थल शिलान्यास भएको थियो।

चिनियाँ एक्जिम बैंकले विमानस्थल बनाउन ७५ प्रतिशत ऋण लगानी गरेको छ। २५ प्रतिशत चीन सरकारले अनुदान दिएको छ। पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि २०३२ सालमा पहिलो पटक जग्गा अधिग्रहण गर्न सुरु भएको थियो। त्यसपछि पटकपटक गरेर स्थानीयको जग्गा अधिग्रहण गरिएको हो। विमानस्थल ३८ सय ९९ रोपनी क्षेत्रफलमा फैलिएको छ।

अन्तर्राष्ट्रिय उड्डयन संस्था (आईकाओ)को मापदण्डभित्र रहेर फोरडी मोडलमा विमानस्थल बनेको हो। यस विमानस्थलमा बोइङ ७५७ र एअबरस ३२० सम्मका मध्यम जहाज तथा न्यारोबडीसम्म उडान तथा अवतरण गर्न सक्छन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उडान गर्ने आधा दर्जन बढी विमान कम्पनीले मध्यम किसिमका जहाज चलाउँछन्। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.