पहिले दुर्गम, अहिले सुगम
धनकुटा : कुनै बेला तेलिया तांखुवा पुग्न सदरमुकामदेखि हिले, जोरपाटीहुँदै घुमाउरो बाटोको विकल्प थिएन। यस क्षेत्रका बासिन्दालाई सदरमुकाम आउन काजिमानेदेखि चुलाचुली, जोरपाटी, हिलेहुँदै आउनुपर्ने बाध्यता थियो। लामो दूरीका सवारी चल्दैनथिए। छोटो दूरीका गाडी सञ्चालन हुँदा ठाउँठाउँमा गाडीबाट ओर्लंदै अर्को गाडी चढ्दै हिँड्नुपर्ने सास्ती थियो।
तर अहिले अवस्था फेरिएको छ। कोशी प्रदेश सरकारले पूर्वाधार विकास कार्यालयमार्फत बिहीबारे हटिया–कर्मिटार–बञ्चरे हुँदै तांखुवा–तेलियासम्म कालोपत्रे सडक निर्माण गरेको छ। जसले गर्दा यस क्षेत्रका स्थानीयलाई सदरमुकाम आउन सहज मात्र भएको छैन, सदरमुकामसम्मको दूरीसमेत छोट्ट्याइदिएको छ। ‘कुनै बेला गाडी पाउनसमेत मुस्किल हुन्थ्यो’, तेलियाका स्थानीय मेघराज खतिवडा भन्छन्, ‘अहिले सदरमुकाम जान बस, माइक्रो, टाटा सुमोजस्ता दर्जनौं सवारीसाधन सञ्चालन हुन्छन्।’
छिमेकी तेह्रथुमसम्म सीमा जोडिएको तेलिया–ताखुंवा पुग्न काजिमाने, चुलाचुलीदेखि पैदल हिँडेर ओरालो बाटो हिँड्नु पथ्र्यों। सडक कच्ची हुँदा सवारीसाधन खासै चल्दैनथियो। तर अहिले निर्माण भएको सडकले यस क्षेत्रको जीवनशैली फेरिदिएको उनी बताउँछन्। सेवासुविधा र पूर्वाधार नहुँदा यो क्षेत्रबाट बसाइँसराइको क्रम बढ्दो थियो। अहिले सडक निर्माणले त्यो क्रम रोकिएको छ। अब भने बसाइँसराइ हिँडेकाहरू गाउँ फर्किएर आउने अपेक्षा रहेको खतिवडा बताउँछन्। पशु तथा कृषिजन्य उत्पादनलाई सदरमुकाम लगेर बिक्री गर्न सहजसमेत बनाएको स्थानीय बताउँछन्।
पूर्वाधार विकास कार्यालयले करिब ५८ करोड रुपैयाँको लागतमा २३ किलोमिटर सडक निर्माण गरेको हो। यो सडकको चौडाहा ५.५ मिटर छ। सडकले वन क्षेत्रमा भेट्ने भएकाले निर्माणको सुरुवाती चरणमा केही असहज भएको थियो।
दुई पटक म्याद थप्दै करिब चार वर्षमा सडक निर्माण सम्पन्न भएको हो। २०७७ वैशाखमा निर्माणको ठेक्का लागेको पूर्वाधार विकास कार्यालय भोजपुरका प्रमुख राजेश्वर महतोले बताए। शर्मा विमेश्वर जेभीले निर्माणको जिम्मा पाएको थियो। सुरुमा दुई वर्षको म्याद थियो। तर तत्कालीन समय कोभिड आर्थिक मन्दीका कारण काम सुरु हुन नपाउँदा दुई पटक म्याद थपिएको थियो। एक/एक वर्षको गरी दुई पटक म्याद थपिएको थियो।
पछिल्लो एक वर्ष थपिएको आगामी २०८१ असार मसान्तसम्म छ। निर्माण कम्पनीले काम सम्पन्न गरेपछि अझैं तीन करोड रुपैयाँ भुक्तानी दिन बाँकी छ। सबै कागजात बनिसकेको छ। वैशाखसम्म भुक्तानी हुने कार्यालय प्रमुख महतोको भनाइ छ।
प्रतिक्रिया दिनुहोस !