डोल्पामा हिउँ चितुवाको संख्या बढ्यो

डोल्पामा हिउँ चितुवाको संख्या बढ्यो
सुन्नुहोस्

डोल्पा : हिमाली जिल्ला डोल्पामा दुर्लभ वन्यजन्तु हिउँ चितुवाको संख्या १२० पुगेको छ। शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्जको संरक्षण क्षेत्र र डिभिजन वन कार्यालको क्षेत्र गरेर हिउँ चितुवाको संख्या १२० पुगेको हो।

निकुञ्जको संरक्षण क्षेत्र बाहिर वन क्षेत्रमा पहिलो पटक अत्याधुनिक प्रविधि क्यामेरा ट्रयाप विधिबाट हिउँ चितुवाको गणना गर्दा डोल्पामा मात्रै नेपालमै सबैभन्दा धेरै हिउँ चितुवाको संख्या एकीन गरिएको तथ्यांक सार्वजनिक गरिएको हो।

पाँच महिना लगाएर गरिएको सर्वेक्षणबाट वन क्षेत्रमा मात्रै ३० वटा हिउँ चितुवा फेला परेको डिभिजन वन अधिकृत मुन बहादुर रावतले शुक्रबार सदरमुकाम दुनैमा आयोजित पत्रकार सम्मेलन मार्फत जानकारी दिए।

सर्वेक्षण अनुसार निकुञ्ज क्षेत्र बाहिर पर्ने डोल्पोबुद्ध,काइके र छार्काताङ्सोङ् गाउँपालिकाको वन क्षेत्रमा प्रति एक सय वर्ग किलोमिटर क्षेत्रफलमा हिउँ चितुवाको घनत्व १.५ रहेको छ।

डिभिजन वन अधिकृत रावतका अनुसार तीन वटा गाउँपालिकामा रहेको वन क्षेत्रमा पर्ने दुई हजार वर्ग किलोमिटर क्षेत्रफलमा अध्ययन गरिएको थियो। डिभिजन वन कार्यालयको नेतृत्वमा कर्मचारी, विद्यार्थी र विश्व वन्यजन्तु कोषका अनुसन्धानकर्ताहरू सहित भएर हिउँ चितुवाको संख्या अध्ययन गरिएको बताइएको छ।

जसका लागि वन क्षेत्रमा पर्ने ६६ वटा स्थानमा क्यामेरा जडान गरिएको थियो। विश्वमा दुर्लभ वन्यजन्तु हिउँ चितुवा एसियाका १२ वटा राष्ट्रमा मात्र पाइने र त्यसमा पनि नेपालमै सबैभन्दा धेरै डोल्पामा रहेका शे-फोक्सुण्डो राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत विश्वबाबु श्रेष्ठले जानकारी दिए।

चार वर्ष अघि मा क्यामेरा ट्रयाप विधिबाट हिउँ चितुवाको सर्वेक्षण गर्दा शे–फोक्सुण्डो निकुञ्जको संरक्षित क्षेत्रमा मात्रै नब्बे वटा फेला परेको प्रमुख संरक्षण अधिकृत श्रेष्ठले बताए।
प्राप्त तथ्यांक अनुसार निकुञ्जको संरक्षण क्षेत्रमा प्रति एक सय बर्ग किलोमिटर क्षेत्रफलमा हिउँ चितुवाको घनत्व २.२ रहेको उनले बताए।

‘निकुञ्ज र वन क्षेत्र गरेर कुल संख्या १२० पुगेकाले यो संरक्षण गर्ने निकाय र संरक्षणकर्मीका लागि खुशीको कुरा हो,हिउँ चितुवाका लागि आवश्यक आहार प्रजाति नावरको संख्या वृद्धि हुनाका कारण पनि संख्या बढेको पाइएको छ’, श्रेष्ठले भने।

हिउँ चितुवाको संख्या बृद्धि भएसँगै मानव वन्यजन्तु द्वन्द्व घटाउने उपाय अपनाउनका लागि सम्बन्धित निकायले जनचेतनामुलक लगायत विभिन्न राहतका कार्यक्रमहरू प्रभावकारी ढंगबाट लागु गर्नुपर्ने उनको भनाइ छ।

हिउँ चितुवाको संख्या वृद्धि हुनुले पर्यापर्यटन र आयआर्जनमा समेत टेवा पुग्ने बताइएको छ। जिल्ला समन्वय समितिका प्रमुख श्याम बहादुर रोकायको अध्यक्षतामा वन तथा भूसंरक्षण विभाग र विश्व वन्यजन्तु कोषका प्रतिनिधि,गाउँपालिकाका अध्यक्ष,प्रमुख जिल्ला अधिकारी,सुरक्षा निकायका प्रतिनिधि,सञ्चारकर्मीहरूको भौतिक तथा भर्चुअल उपस्थितिमा हिउँ चितुवाको तथ्यांक सार्वजनिक गरिएको थियो।

हिउँ चितुवा गणनाका लागि शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्जबाट गरिएको सर्वेक्षणमा ८० लाख र डिभिजन वन कार्यालयको भएको सर्वेक्षणमा ४८ लाख खर्च भएको विश्व वन्यजन्तु कोषका प्रतिनिधि चन्द्रजंग हमालले बताए। दुवै निकायले गरेको सर्वेक्षणमा प्राविधिक तथा आर्थिक सहयोग विश्व वन्यजन्तु कोषले गरेको उनको भनाइ छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.