डोल्पा जोड्ने तल्नुबगर बेलिब्रिज निर्माणमा ढिलासुस्ती

डोल्पा जोड्ने तल्नुबगर बेलिब्रिज निर्माणमा ढिलासुस्ती
सुन्नुहोस्

डोल्पा : भेरी करिडोरअन्तर्गत पर्ने जाजरकोटको नलगाड नगरपालिका–१२ र रुकुम पश्चिमको आठबीसकोट नगरपालिकाको अनाह बीचको भेरी नदीमा रहेको तल्नु बगर बेलिब्रिज निर्माणमा ढिलासुस्ती भएको छ।

चीन नेपाल र भारत जोड्ने त्रिदेशीय व्यापारिक नाकाका रुपमा रहेको भेरी करिडोरलाई पूर्णता दिने महत्वपूर्ण उक्त पुल निर्माणमा सुरु देखि नै ढिलासुस्ती भएको हो। तीन वर्ष अघि सडक डिभिजन कार्यालय चौहरजहारीले उक्त बेलिब्रिज पुल निर्माणका लागि ठेक्का खुलाएको थियो। तर, काम सुरु भएको तीन वर्ष बितिसक्दा पनि पुल निर्माण सम्पन्न हुन सकेको छैन।

२०७८ साल पुषमा हिम सगरमाथा खड्का कृष्ण जेभीले ३ करोड ८१ लाखमा पुल निर्माणको जिम्मा पाएको एक वर्षपछि मात्र काम सुरु गरेको थियो। तल्नुबगरस्थित भेरी नदीमा यातायातका साधन वारपारको तत्कालीन समस्यालाई समाधान गर्नका सडक डिभिजन कार्यालयले बेलिब्रिज पुल बनाउन ठेक्का खुलाएको थियो।

एक वर्षभित्र निर्माणकार्य सम्पन्न गर्ने गरि निर्माणको जिम्मा पाएको निर्माण कम्पनीले चरम ढिलासुस्तीले गर्दा अझै पुल निर्माण हुन नसकेको बताइएको छ। थोरै समयमा जडान गर्ने गरि डिजाइन गरिएको अस्थायी प्रकृतिको बेलिब्रिज पुल निर्माण गर्नै पक्की पुल सरह समय लगाएपछि डोल्पाली नागरिकले महंगीको चरम मार खेप्नु परेको छ।

तल्नुबगर बेलिब्रिज निर्माणमा चरम ढिलासुस्ती भएको भन्दै आन्दोलनको तयारी गरिएको छ। जिल्ला सदरमुकाम दुनैमा सोमबार बसेको सर्वदलीय सर्वपक्षीय बैठकले पुल निर्माणको ढिलासुस्ती विरुद्ध निर्माण व्यवसायी, भेरी करिडोर कार्यालय लगायत सम्बन्धित निकाय विरुद्ध आन्दोलनमा उत्रिने तयारी गरेको हो।

ढिलामा दुई तीन महिनाभित्र बनिसक्नु पर्ने पुल व्यवसायी र कार्यालयको नियोजित ढिलासुस्तीका कारण तीन वर्ष बितिसक्दा पनि सञ्चालनमा आउन नसकेको ठुलिभेरी नगरपालिका-९ का स्थानीय बिरमल कुमार भण्डारीले बताए।

दुर्गम जिल्ला डोल्पा जोड्ने प्रमुख पुल बर्षौसम्म नबन्दा डोल्पाली सर्वसाधारणहरूले दैनिक उपभोग्य सामाग्रीमा महंगीका साथै यातायातको समस्या भोग्नु परेको उनको भनाइ छ। पुल छिटो बनाउन माग राख्दै मंगलबार जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाउनुका साथै बिरोधमा उत्रिने सर्वदलीय सर्वपक्षिय निर्णय भइसकेको भण्डारीले बताए।

उक्त बेलिब्रिज पुल समयमै नबन्दा डोल्पाली जनताले दर्जन धेरै ठाउँमा गाडी परिवर्तन गरेर जोखिमपूर्ण यात्रा गर्नुपरेको छ। त्यति मात्र नभइ ठाउँ ठाउँमा गाडी परिवर्तन गर्नुपर्दा यातायात व्यवसायीले मनपरी भाडा उठाएर यात्रुहरूलाई हैरान पार्ने गरेका छन्। डोल्पाका प्रमुख जिल्ला अधिकारी तुलसिप्रसाद दाहालले दैनिक रुपमा बेलिब्रिज पुल निर्माणका विषयमा चासो राख्ने गरेका छन्। जाजरकोटमा रहेको भेरी करिडोर कार्यालयले पुल निर्माण एक महिना भित्र सम्पन्न हुने बताएको छ।

विभिन्न कारणले पुल निर्माणमा ढिलासुस्ती भएपनि अहिले पुल निर्माणको काम नब्बे प्रतिशत सकिसकेको भेरी करिडोर कार्यालयका जाजरकोटका प्रमुख सुनिल रञ्जितकारले जानकारी दिए। ‘पुलको नट हाल्ने काम सकिसकेको छ,अब पुलको बीचमा लाग्ने बेस प्लेट हाल्न बाँकी छ,  पनि चितवनबाट मगाइएको छ,सम्भवतः तीन दिनमै पुग्ला’, रञ्जितकारले भने।

‘बेस प्लेट हाल्ने,पुलको दुवैतिर ढलान गर्ने लगायतका काम जेठ मसान्त भित्रमा पुल तयार हुन्छ,करिडोरको तल्नु–त्रिपुराकोट खण्ड सुधारको काम पनि भइरहेको छ।’ बर्खाको समयमा पनि पुल सञ्चालन गर्न करिडोर अन्तर्गत पर्ने विभिन्न खोलामा हुमपाइप राख्न डोल्पाका सरोकारवालाबाट निर्णय भएर आउनु पर्ने उनको भनाइ छ।

भेरी करिडोर कार्यालयका अनुसार ११८ किलोमिटर लम्बाइ रहेको जाजरकोट डोल्पा सडक खण्ड भित्रको ५६ किलोमिटर सडक खण्डमा अहिले काम भइरहेको छ। ६२ किलोमिटरमा कार्यालयले फराकिलो बनाउने काम सुरु गर्न थालेको बताएको छ। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.