राज्यको लगानीमा निजी घर निर्माण

राज्यको लगानीमा निजी घर निर्माण

विराटनगर : कोशी प्रदेशको अर्थ राज्यमन्त्री इन्दिरा थापाले आमाको नाममा रहेको जग्गामा प्रदेश सरकारको दुई करोड रुपैयाँ लगानीमा घर निर्माण गरेकी पाइएको छ। 

धनकुटाको पाख्रिवास नगरपालिकामा आमा दुर्गादेवी थापाको नाममा रहेको जग्गामा अर्थ राज्यमन्त्री थापाले प्रदेश र संघीय सरकारको करोडौंको बजेटमा घरनिर्माण गरेकी पाइएको हो। प्रदेश सरकार स्थापना भएदेखि नै थापाले लगातार प्रदेश सरकारको बजेट आफ्नो निजी जग्गामा घर बनाउन प्रयोग गर्दै आएकी हुन्। प्रदेश सरकारबाट २०७६ सालमा केयर वुमेन नेपाल पाख्रिबास– ८ मुगाको नाममा १ करोड १० लाख रुपैयाँ बजेट विनियोजन भएको थियो। उक्त बजेटबाट संस्थाकी अध्यक्ष रहेकी थापाले आफ्नै निजी जग्गामा घर निर्माण सुरु गरेकी थिइन्। 

२०७७ सालमा थापाले पर्यटन वन तथा वातावरण मन्त्रालयबाट पुनः केयर वुमन नेपालको भवन निर्माण गर्न ५० लाख रुपैयाँ बजेट लगेको पाइएको छ। त्यतिमात्रै होइन, उक्त योजनामा प्रदेश सरकारले गत आर्थिक वर्षमा १० लाख र चालु आर्थिक वर्षमा पनि २५ लाख रुपैयाँ बजेट विनियोजन गरेको पाइएको छ। सरकारी सहयोगबाट संघसंस्थाका भवन बनाउन बजेट विनियोजन हुने गरेको भए पनि जग्गा संस्थाकै नाममा हुनुपर्ने कानुनी व्यवस्था छ। तर, थापाको निजी जग्गामा सरकारले करिब दुई करोड बजेट विनियोजन गरेर भवन बनाएको पाइएको हो। 

राज्यमन्त्री थापाकी आमा दुर्गादेवी थापाको नाममा रहेको उक्त जग्गामा अहिले एकै स्थानमा दुई  भवन निर्माण भइसकेका छन्। दाजुहरू विदेशमा बस्ने भएकाले उक्त जग्गाको भोगचलन राज्यमन्त्री थापाले नै गर्दै आएकी छन्। उक्त जग्गासँग केही ऐलानी जग्गा पनि रहेको स्थानीयले बताएका छन्। जग्गामा भवन निर्माणका लागि नक्सापास पनि भएको छैन।

निजी जग्गामा भवन बनाउन २०७७ सालमा थापाले प्रदेश सरकारमा तीन शीर्षकमा बजेट प्रस्ताव गरेकी थिइन्। तर अन्तिम चरणमा एउटा शीर्षकबाट मात्रै बजेट परेको थियो। निजी भवनमा सरकारको बजेट लगेर भवन निर्माण गरेको विषय राज्यमन्त्री थापाले पनि स्वीकार गरेकी छन्। परिवारका सदस्यहरूले संस्थाको नाममा जग्गा पास गरिदिने सहमति गरेकाले भवन बनाएको राज्यमन्त्री थापाले बताइन्। उनले भनिन्, ‘आमाको नाममा रहेको उक्त जग्गाबाट एक रोपनी संस्थालाई दिने सहमति भएको छ।’ 

थापाका दाजुभाइ अमेरिका बस्दै आएका छन्। अमेरिकाबाट आएपछि केयर वुमेन संस्थाको नाममा जग्गापास गरिने उनले बताइन्। संस्थाले महिला केन्द्रित सामाजिक कार्य गर्दै आएको थापाले दाबी गरिन्। 

केयर वुमनको नाममै पाख्रिबास नगरपालिकाभित्रै दुई वटा भवन सरकारी लगानीमा बनिरहेको पाइएको छ। पाख्रिबास—८ मुगामा आमाको नाममा रहेको आफ्नै जग्गामा भवन बनाएकी थापाले पाख्रिबास—४ मा संस्थाकै नाममा अर्को भवन निर्माण गरिरहेकी छन्। उक्त भवनका लागि अघिल्लो आर्थिक वर्षमा प्रदेश सरकारले १० लाख रुपैयाँ बजेट विनियोजन गरेकोमा चालु आर्थिक वर्षमा १ करोड रुपैयाँ विनियोजन गरेको छ। 

पाख्रिबास—४ मा बन्दै गरेको भवनको जग्गा भने संस्थाकै नाममा रहेको राज्यमन्त्री थापाले बताएकी छन्। उक्त भवन निर्माणका लागि प्रदेश सरकारले सहरी विकास कार्यालय धनकुटाबाट बजेट राखेको थियो। त्यो बजेटबाट टेन्डर आह्वान भइसकेको कार्यालयका प्रमुख सुरेशप्रसाद साहले जानकारी दिए। 

पाख्रिबास—४ मा रहेको संस्थाकोे जग्गामा बन्दै गरेको भवन बनाउन प्रदेश सरकार मात्र नभएर संघीय सरकारले पनि बजेट विनियोजन गरेको पाइएको छ। संघीय सहरी विकास आयोजना कार्यालय धनकुटामार्फत चालु वर्षमा भवनको लागि ८० लाख रुपैयाँ विनियोजन भएको थियो। कार्यालयका इन्जिनियर अभिषेकराज शाहीले भवन निर्माणको लागि सम्झौता भएर प्रक्रियामा गएको बताए।  

पाख्रिबास—८ मा राज्यमन्त्री थापाको निजी जग्गामा बन्दै गरेको भवनमा चालु वर्षमा पर्यटन मन्त्रालयअन्तर्गत रहेको पर्यटन विकास आयोजनाले विनियोजन गरेको बजेट पनि कार्यान्वयन प्रक्रियामा छ। केयर वुमन शान्ति पार्क तथा पर्यटन पूर्वाधार निर्माणको नाममा चालु वर्षमा छुट्ट्याइएको २५ लाख रुपैयाँ बजेटबाट काम अगाडि बढाउन आयोजनाले लागत इस्टिमेट तयार गरिसकेको छ। काम अगाडि बढाउन सम्झौताको अन्तिम चरणमा रहेको आयोजनाका एक कर्मचारीले बताए। 

आयोजनाले गत वर्ष पनि सोही शीर्षकमा १० लाख रुपैयाँ बजेट खर्च गरेको थियो। पर्यटन विकास आयोजनाका प्रमुख कुलदीप यादवले निजी जग्गामा सरकारी बजेटबारे कार्यालयमा बुझेर बताउने सुनाए। 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.