खिसिट्यूरीका लयहरू
जीवन के हो ?
भन्छन् बाँच्न जान्नु पर्छ रे¸
कहाँ छ लक्ष्य ?
कहाँ छ लक्ष्य¸ निशाना के हो ?
महसुसमा छ या छ दृष्टिदोषमा¸
भन्छन् हाँस्न जान्नु पर्छ रे !
जानिन मैले होसमा या कहीँ बेहोसमा ।
कहाँ छ सिमाना ?
कहाँ छ सिमाना¸ कहाँ पुग्न पर्ने हो ?
लड्खडाउँदै पाइला चालिरहेँ¸
भन्छन् गाँस्न जान्नु पर्छ रे !
जानिन मैले दायीत्वका वोझहरू पालिरहेँ ।
क्षितिजमा पुग्ने मेरा सपनाहरूमा¸
काटेर आएँ धेरै साँधहरू¸
आँसुका भेलले फुटाए¸
कति भरोसाका वाँधहरू¸
एकहोरो भएँ कि कतै¸
थाहै नपाइ छुटेछन् कति काँधहरू ।
आज अनुत्तरित !
आज अनुत्तरित भएको छु आफैँमा¸
उत्तर खोज्दै छु म आफैं भित्र¸
भन्छन् जाँच्न जान्नु पर्छ रे !
जानिन मैले तर कोरिरहेँ बनेन अझै कुनै चित्र ।
आएर बुझाइदेउन !
आएर कोही बुझाइदेउन मलाई¸
जीवन मर्नु हो या बाँच्नु¸
के मा छ मोक्ष ?
सन्तुष्टिमा छ कि वाध्यतामा !
मृत्यूलाई !
मैले आफ्नो मृत्यूलाई !
पटक पटक नजिकबाट देखेको छु¸
कति पटक आँसुले लेखेको छु¸
जीवनलाई सजाउने रहरमा !
दुःखका जंघारहरू तरेको छु ।
खोजाइका मेरा प्रयासहरूमा¸
धेरै उकाली ओराली गरेको छु¸
आँसुका गहिराइमा डुबुल्की मार्दै¸
उपहारमा प्राप्त घृणा संगाल्दै¸
पटक पटक जिउँदै मरेको छु ।
अझै खोज्दै छु !
अझै खोज्दै छु¸ जीवनको अर्थ !
परीक्षाका घडीमा आफैंलाई उभ्याउँदै¸
अनुत्तरित प्रश्नहरूको उत्तर खोज्न बाँकि छ¸
अझै बाँकी छ प्रस्थानका विन्दुहरू पहिल्याउन ।
तर थाहा छैन !
थाहा छैन कहाँसम्म सक्छु म जीवन चिन्नलाई¸
थाकिसकेका यी मेरा पाइलाहरू¸
थाहाछैन कहाँसम्म सक्छु म हिँड्नलाई ।
प्रदर्शनी कक्षमा राखिएका छन् मेरा रहरहरू¸
प्रत्येक दैलोमा उभिएका छन् जहरहरू ।
जिस्काइ रहन्छन् खिसिट्यूरीका लयहरूमा¸
प्रत्येक पल सताइरहने मृत्युका भयहरूमा ।
हरपल खरिद बिक्री हुने मेरा आँसुहरू¸
आँतुर छन् ती मबाट खुशी छिन्नलाई ।
हरेक विहानीसँगै खरिद गरिएका खुसीहरू¸
थाहाछैन कहाँसम्म सक्छु म किन्नलाई ।
संघर्षमा जेलिएका जीवनका लहरहरू¸
अनुभूतिसँग गांसिएका सन्तुष्टि र रहरहरू ?
भन्छन् गांस्न जान्नु पर्छ रे !
जानीन मैले कसरी छलिन्छन् कहरहरू ।