कांग्रेस संसदीय दलको बैठक जारी, कार्यव्यवस्था परामर्श समितिको बैठक प्रभावित
काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको संसदीय दलको बैठक जारी रहेको छ। आजको बैठकमा लामिछानेले संसद्मा कांग्रेसमाथि लगाएका आरोप, संसदीय छानबिन समितिको विषय र प्रधानमन्त्रीको विश्वासको मतको विषयमा केन्द्रित रहेर छलफल भइरहेको छ।
नेपाली कांग्रेसले सहकारी रकम हिनामिना प्रकरणमा संसदीय छानबिन समिति गठन नभएसम्म आफ्नो पार्टीले सदन अवरोध जारी राख्ने अडान लिएको छ। सहकारी ठगी प्रकरणका विषयमा संसदीय छानबिन समिति बनाउने विषयमा गठित कार्यदलमा सहमति नभएपछि कांग्रेसले आजको सदनमा अवरोध गर्ने तयारी समेत गरेको एक सांसदले जानकारी दिए।
आइतबार सदनमा गृहमन्त्री रवि लामिछाने सम्बोधन गरेपछि बैठक स्थगन गरिएको थियो । आज बिहान ११ बजे बस्ने प्रतिनिधि सभाको बैठकमा कसरी प्रस्तुत हुने भन्ने रणनीति पनि तय गर्न कांग्रेस छलफलमा जुटेको हो। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधिसभाबाट आज विश्वासको मत लिन लागेका छन्। नेपालको संविधानको धारा १०० को उपधारा (२) बमोजिम उनले प्रतिनिधिसभाबाट विश्वासको मत लिन लागेका हुन्।
कांग्रेसको संसदीय दलको बैठक ढिलो बसेपछि बिहान १० बजे बोलाइएको कार्यव्यवस्था परामर्श समितिको बैठक प्रभावित भएको छ। कार्यव्यवस्थामा कांग्रेसबाट प्रतिनिधित्व गर्ने सांसद सहभागी भएका छैनन्। प्रधानमन्त्री प्रचण्डले आज विश्वासको मत लिने भएपछि कार्यव्यवस्था बैठक बोलाइएको थियो।
प्रतिनिधि सभाको बैठक बिहान ११ बजे बोलाइएको छ।
प्रतिक्रिया दिनुहोस !