कपिलवस्तुमा विद्युत मर्मतका क्रममा करेन्ट लागेर कर्मचारीको मृत्यु
कपिलवस्तु : विद्युतको लाइन मर्मत गरिरहेको बेलामा करेन्ट लागेर विद्युत कर्मचारीको मृत्यु भएको छ । मृत्यु हुनेमा नेपाल विद्युत प्राधिकरण तौलिहवा शाखाका ईलेक्ट्रिसियन ३१ वर्षीय दिनेश चन्द्र मिश्रा रहेका छन्।
सोमबार राती यशोधरा गाउँपालिका-६ को रंगपुरमा हावाहुरीका कारण फ्युज भएको टन्सफार्मर बनाउँदै गर्दा करेन्ट लागेर मिश्राको मृत्यु भएको प्राधिकरण तौलिहवा शाखाले जनाएको छ ।
मृतक मिश्राको शव पोष्टमार्टमका लागि कपिलवस्तु अस्पतालमा राखिएको प्रहरी नायब निरीक्षक हरिबहादुर वलीले बताए । यसअघि पनि कपिलवस्तुमा नेपाल विद्युत प्राधिकरणका २ कर्मचारीको विद्युत मर्मतको क्रममा करेन्ट लागेर मृत्यु भइसकेको छ ।