मुस्ताङमा ३ हजार बढी शालिग्राम बरामद

जोमसोम : मुस्ताङमा १५ थान बोरामा रहेको ३३७९ वटा शालिग्राम मुस्ताङ प्रहरीले बरामद गरिएको छ। उपल्लो मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिका-१ चराङबाट लुकाइछिपाई जोमसोमतर्फ ल्याउँदै गरेको अवस्थामा उपल्लो मुस्ताङको प्रहरी चौकी घमीले शालिग्राम बरामद गरेको हो।
प्रहरी चौकी घमीले लुकाइछिपाई व्यावसायिक प्रयोजनका लागि ग १ च ८१५२ र ध १ च ११५६ नम्बरको जीपमा राखेर जोमसोमतर्फ ल्याउँदै गरेको अवस्थामा शालिग्राम बरामद गरेको जिल्ला प्रहरी कार्यालय मुस्ताङका डीएसपी भोजराज पाण्डेयले जानकारी दिए।
प्रहरीले बरामद गरेको शालिग्रामहरु आवश्यक कारबाहीका लागि अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)जोमसोमलाई बुझाइएको डीएसपी पाण्डेयले उल्लेख गरे। एक्याप प्रमुख प्रमोदराज रेग्मीले अवैध रुपमा लुकाइ छिपाई लैजान लागिएको शालिग्राम कस्को हो भन्ने अझै खुल्न नसकेको जानकारी दिए।
एक्याप जोमसोमले बरामद गरिएको शालिग्रामहरु आवश्यक कारबाहीका लागि एक्याप जोमसोमबाट एक्यापको प्रधान कार्यालय पोखरामा पठाएको छ। मुस्ताङमा यति ठूलो संख्यामा शालिग्राम बरामद भएको पहिलो घटना मानिएको छ।
अन्नपूर्ण संरक्षणको स्वामित्वमा रहेको मुस्ताङमा प्राकृतिक श्रोत साधनको बिना अनुमति ओसारपसार गर्न पाइँदैन। तर, शालिग्रामको हकमा भने एक्याप र जिम्मेवार निकायहरुले व्यावसायिक प्रयोजनका निम्ति शालिग्राम छोडपूर्जी दिने कानुनमा उल्लेख छैन। तर ,घरायसी व्यक्तिगत रुपमा भने एक/दुई वटा शालिग्राम लैजानेलाई रोक लगाइएको छैन।
प्रतिक्रिया दिनुहोस !
