कथामार्फत राजनीतिक व्यंग्य

कथामार्फत राजनीतिक व्यंग्य

रोनाल्ड वालेस भन्छन्, ‘एक पृष्ठ आयाम र २५० शब्दभित्र संरचित लघु संरचनामा बद्ध आख्यान नै लघुकथा हो।’ सुकुमाकर शर्मा गौतमद्वारा लिखित हिउँको राप लघुकथा संग्रह २०८० सालमा प्रकाशित भएको हो। वालेस दृष्टिले प्रस्तुत कृति लघुकथाको संरचनाभित्र बद्ध छ। कविता, निबन्ध, समालोचनालगायत साहित्यका विभिन्न विधामा कलम चलाउने गौतम पछिल्लो समयमा लघुकथा लेखनमा केन्द्रित छन्। कृतिभित्र स्वदेश बसाइँका क्रममा देखेभोगेका एवं र कल्पना गरेका अनुभूतिहरू संगृहीत छन्।

गौतमले लघुकथा संग्रहभित्र नेपाली समाजको सामाजिक यथार्थलाई चित्रण गरेका छन्। लघुकथा संग्रहभित्रका ५९ लघुकथामा नारीवादी चेत, बालमनोविज्ञान, सामाजिक कुरीति, रुढी चिन्तन, बिदेसिनुको पीडा, नेपाली भाषा र देशप्रतिको प्रेम, राजनीतिक, शैक्षिक, धार्मिक, प्रशासनिक व्यंग्य आदि विभिन्न विषय प्रस्तुत भएका छन्। संग्रहभित्र रहेका झन्डै ३० ओटा लघुकथा व्यंग्यात्मक शैलीमा रचना छन्। ती लघुकथामा व्यंग्यका माध्यमबाट समाजमा विद्यमान अपाच्य व्यवहारलाई कटाक्ष गरिनुका साथै सुधारको अपेक्षा गरिएको पाइन्छ। यस लेखमा लघुकथा संग्रहभित्र रहेका ‘पानीकोे फोहोरा’, ‘लालबुझक्कड’, ‘बेमौसमी चुनाव’, ‘मार्सी धान’, ‘सोच’, ‘लगानी’, ‘समृद्धि’, ‘बोध’, ‘सहिद’, ‘श्रीपेच’, ‘लिखित सम्झौता’, ‘वितृष्णा’ र ‘चोरमाथि चकार’ गरी १३ लघुकथामा प्रस्तुत राजनीतिक व्यंग्यलाई आधार बनाई समीक्षा गरिएको छ।

राजनीतिकर्मीले सीमा र कर्तव्य भुलेर समाजमा पारेका नकारात्मक प्रभावलाई साहित्यमा व्यंग्यका माध्यमबाट प्रस्तुत गरिन्छ। व्यंग्य गरी लेखिएका साहित्यले ती राजनीतिकर्मीलाई सचेत गराउन ठूलो भूमिका खेलेको पाइन्छ। सडकदेखि सदनसम्म रहेका राजनीतिकर्मीले समाजलाई प्रगतिपथमा लैजानुको साटो व्यक्तिगत स्वार्थमा भुलेर विभिन्न अराजक क्रियाकलाप गरी राज्य सञ्चालन गर्ने आधार राजनीतिलाई बनाएको धमिलोपन नै साहित्यमा प्रस्तुत गरिन्छन्।

लघुकथाहरूमा पनि समाजमा राजनीति गर्नेले पारेको धमिलोपनलाई व्यंग्य गरी सचेत गराउन खोजेको देखिन्छ। ‘पानीको फोहोरा’ लघुकथामा राजनीतिक परिवर्तनको विषयलाई पानीको फोहाराको प्रसंगमार्फत व्यंग्य गरिएको छ। जनताले जनताका लागि ल्याएको शासनव्यवस्थाले जनतालाई हित हुने काम नगरेपछि तिनै जनता उक्त व्यवस्था हटाउन सडकमा आन्दोलन गरिरहेका छन् भन्ने भाव उक्त लघुकथामा अभिव्यञ्जित छ। पदमा बसेका व्यक्तिले झुटो बोलेर जनतालाई भ्रममा पार्छन् भन्ने कुरा ‘लालबुझक्कड’ लघुकथामा प्रस्तुत गरिएको छ।

जनताको हितमा कुनै पनि ऐनकानुन ल्याउन नदिने, काम बिथोलेर खुसी हुने, अन्दाजको भरमा कुरा गर्ने लालबुझक्कडहरू भएसम्म देशमा परिवर्तन नहुने कुरा उक्त लघुकथामा व्यक्त भएको छ। ‘बेमौसमी चुनाव’ लघुकथामा चुनाव मात्र गर्ने तर राष्ट्रको हितका लागि केही नसोच्ने नेताहरूलाई व्यंग्य गरिएको छ। चुनावलाई पारदर्शी नबनाई भोट किनेर अक्षम व्यक्ति सत्तामा पुग्ने परिपाटीको तिखो आलोचना गरिएको ‘लगानी’ लघुकथामा वर्तमान राजनीतिक व्यवस्थाप्रति खरो व्यंग्य गरिएको छ। ‘सोच’ लघुकथामा राजनीति गर्नेहरूको सोच लामखुट्टेको जति पनि नभएको कुरालाई व्यंग्य गर्दै व्यक्तिगत स्वार्थ र खुट्टा तान्ने प्रवृत्तिका कारण देशको शासन व्यवस्था नसुध्रिएको भन्ने विचार प्रस्तुत भएको छ।

राजनीतिमा भाषण गरेर जनताको आँखामा छारो हाल्ने पदलोलुप व्यक्तिहरूको हाबी हुन्जेलसम्म देशमा समृद्धि नआउने कुरा ‘समृद्धि’ लघुकथामा प्रस्तुत भएको छ। देशमा समृद्धि ल्याउन सत्तामा बसेका व्यक्तिहरूलाई असल कर्म गर्न र जनताको मन जितेर कार्य गर्नका लागि आग्रह गरिएको छ। पद र पैसाले आफ्नो कर्तुत छोपेर हिँड्ने व्यक्तिहरू सत्ताबाट सडकमा आएपछि मात्र होसमा आउँछन् भन्दै ‘बोध’ लघुकथामा कथाकारले राजनीतिमा पारदर्शी काम व्यक्ति नभएको भन्ने कुरालाई संकेत गरेका छन्। भरियालाई कार्यकर्ता, पुरानो बरनीकोट र बुट जुत्तालाई राजनीतिक दलका प्रमुख व्यक्तिका रूपमा चित्रण गरिएको ‘पुस्तान्तरण’ लघुकथामा शासनव्यवस्था परिवर्तन भए पनि शासन गर्ने अनुहार परिवर्तन नभएको र नयाँ पुस्ताले पनि पुरानै अनुहारलाई काखी च्यापेर व्यक्तिगत स्वार्थमा लिन भएको वर्तमान राजनीतिक प्रवृत्तिप्रति तिखो व्यंग्य गरिएको छ।

राजनीतिक दलहरूले सिद्धान्तमा नहिँडेर अन्य दलको भरिया बनेर हिँडिरहेको सत्यलाई ‘मार्सी धान’ लघुकथामा उजागर गरिएको छ। जसमा व्यक्तिगत स्वार्थ र पदको भोगी नेताहरू फरक दलसँग मिलेमतो गरी आफ्नै दललाई खुम्च्याइरहेका छन्। ‘मार्सी धान’ लघुकथाकै विषयवस्तुलाई फरक तरिकाले प्रस्तुत गरेर ‘लिखित सम्झौता’ नाम राखिएको लघुकथामा पनि जनतालाई अस्त्र बनाएर व्यक्तिगत स्वार्थ लुटिरहेका नयाँ र पुराना दलहरूको देखाउने दाँत र चपाउने दाँत फरक रहेको भन्दै राजनीतिक प्रणालीप्रति व्यंग्य गरिएको छ। ‘वितृष्णा’ लघुकथामा राजनीति गर्नेले जेल बसेको, ढाँट्न जानेको, घुस खाने र भ्रष्टाचार गरेको अनुभव हुनैपर्ने भन्दै वर्तमान राजनीतिक पद्धतिमाथि धारिलो व्यंग्य प्रस्तुत गरिएको छ।

राजनीतिमा पसेका मानिससँग कुनै विचार नभएको र भाषण पनि चोरेर गर्ने गरेको कुरालाई व्यक्त गरिएको ‘चोरमाथि चकार’ लघुकथामा राजनीति गर्नेहरूको क्षमतामाथि प्रश्न गरिएको छ। सत्तामा बसेका मानिसले व्यक्तिगत स्वार्थभन्दा माथि उठेर देशको हितका लागि काम नगरेसम्म देश विकास नहुने विचार प्रस्तुत भएका लघुकथाहरू विचारमूलक र घटनाप्रधान छन्। देश विकासमा अवरोध गर्ने, जनताको आँखामा छारो हाल्ने प्रवृत्तिले राजनीतिप्रति अविश्वासको वातावरण सिर्जना भएको कुरा व्यक्त भएका लघुकथाले सबैभन्दा बढी स्वार्थी मानिस राजनीतिमा गर्ने मानिस हुन् भनेर व्यंग्य गरेको पाइन्छ।

राजनीति भनेको राज्यको शासन व्यवस्थाको प्रणाली निर्धारण गर्ने नीति हो। शासन व्यवस्था बनाउने ठाउँमा भएका व्यक्ति राज्यप्रति इमानदार हुनुपर्छ। इमानदार व्यक्तिले मात्र देश र जनताका हितका लागि नीतिनियम बनाउन सक्छन्। सत्तामा बसेर पद र शक्तिको आडले ती व्यक्तिले आफ्नो जिम्मेवारी ननिभाई व्यक्तिगत स्वार्थको खोल ओढेर राज्यप्रति नै घात गर्छन् भने त्यस्ता व्यक्तिले राजनीनिक प्रणालीलाई फोहोर बनाउँछन्। राज्य सञ्चालन गर्ने प्रणाली फोहोर भयो भने राज्य नै असभ्य र अक्षम बन्न जान्छ। यिनै कुरालाई आधार बनाएर लेखिएका लघुकथाहरूमा लेखकको देशप्रतिको माया झल्किएको छ। लघुकथाहरूमा समाधानको मार्ग पनि देखाइएको छ।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.