यी हुन् अन्तिम आठ पुग्ने टोली
![यी हुन् अन्तिम आठ पुग्ने टोली](https://annapurnapost.prixacdn.net/media/albums/game_ew32H4rZty_oKQGTuAFV8.jpg)
अमेरिका : अमेरिका र वेस्ट इन्डिजमा जारी आईसीसी टीट्वेन्टी विश्वकपको अन्तिम आठमा पुग्ने टोलीको टुंगो लागेको छ। सुपर आठमा भारत, अस्ट्रेलिया, अफगानिस्तान, बंगलादेश अमेरिका, इङ्ल्यान्ड, वेस्ट इन्डिज र दक्षिण अफ्रिका पुगेका हुन्।
सुपर आठमा पुगेका टोलीमध्ये समूह एकमा भारत, अस्ट्रेलिया, अफगानिस्तान, र बंगलादेश छन्। यस्तै समूह दुईमा अमेरिका, इङ्ल्यान्ड, वेस्ट इन्डिज र दक्षिण अफ्रिका छन्। हरेक समूहबाट शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउने छन्। सेमिफाइनल २७ जुनमा हुनेछ। फाइनल २९ जुनमा हुनेछ। सेमिफाइनल र फाइनलको रिजरर्भ डे पनि राखिएको छ। सेमिफाइनल र फाइनलको दिन वर्षा भएमा अर्को दिन खेल सञ्चालन हुनेछ। सुपर आठपछिका सम्पूर्ण खेल वेस्ट इन्डिजमा हुनेछ।
समूह ‘ए’बाट भारत चार खेलमा आठ अंकका साथ शीर्ष स्थान रहँदै अन्तिम आठमा पुगेको हो। चार खेलमा पाँच अंक जोडेको अमेरिका दोस्रो स्थानमा रहँदै अन्तिम आठमा पुग्यो। बलियो प्रतिद्वन्द्वी पाकिस्तानलाई सुपर ओभरमा स्तब्ध पार्दै अमेरिका सुपर आठमा पुगेको हो। यस्तै समूह ‘बी’बाट अस्ट्रेलिया विजेता र इङ्ल्यान्ड उपविजेता हुँदै अन्तिम आठमा पुगेका हुन्। अस्ट्रेलियाले चार खेलमा आठ अंक जोड्यो भने इङ्ल्यान्डले चार खेलमा पाँच अंक बटुल्न सफल भयो।
यसैगरी समूह ‘सी’बाट वेस्ट इन्डिज विजेता र अफगानिस्तान उपविजेताका रुपमा अन्तिम आठमा पुगेका हुन्। समूह चरणको अन्तिम खेलमा अफगानिस्तानलाई एक सय चार रनले पराजित गर्दै वेस्ट इन्डिजले आठ अंक बटुल्यो भने दोस्रो भएको अफगानिस्तानले चार खेलमा ६ अंक बटुल्यो। समूह ‘डी’बाट दक्षिण अफ्रिका विजेता र बंगलादेश उपविजेताका रुपमा अन्तिम आठमा पुगे। दक्षिण अफ्रिकाले चार खेलमा आठ अंक र बंगलादेशले चार खेलमा ६ अंक जोडेको थियो। यही समूहमा रहेको नेपाल भने चार खेलमा एक अंक जोड्दै अन्तिम स्थानमा रह्यो। पहिलो खेलमा नेदरल्यान्ड्ससँग ६ विकेटको पराजय बेहोरेको नेपालले दोस्रो खेल वर्षाले प्रभावित भएपछि श्रीलंकासँग एक अंक खोसेको थियो। तेस्रो खेलमा बलियो टोली दक्षिण अफ्रिकासँग एक रनले स्तब्ध बनेको नेपाल समूह चरणको आफ्नो अन्तिम खेलमा बंगलादेशसँग २१ रनले पराजित भएको थियो।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)