अवैध सुन कारोबारी पक्राउ

काठमाडौं : अवैध रूपमा सुनको कारोबार गर्ने ३ जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा बाँकेको खजुरा गाउँपालिका-८ का २४ वर्षीय मोहमद दिलसाद खाँ, नवलपरासीको पूर्व गैडाकोट नगरपालिका-१३ का २६ वर्षीय सन्तोष परियार र तनहुँको भानु नगरपालिका-१३ का २५ वर्षीय अन्जिल गुरुङ रहेका छन्।
हिमालय एयरको उडानमार्फत कतारबाट नेपाल आउने क्रममा उनीहरूले अवैध रूपमा सुन ल्याएको सूचनाका आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले सिनामंगलबाट पक्राउ गरेको हो।
चेकजाँचका क्रममा खाँले निलो रंगको जिन्स पाइन्टको कम्मरको भागमा सेतो टिस्यु पेपरले फोल्ड गरी लुकाइ छिपाइ राखेको अवस्थामा ९ लाख ९९ हजार ३९६ रुपैयाँ बराबरको ६९.८९० ग्राम तौलको ब्रासलेट र ११.६५० ग्राम तौल भएको बेरुवा औँठी फेला परेको प्रहरी उपरीक्षक अंगुर जिसीले बताए।
प्रहरी उपरीक्षक जिसीका अनुसार खाँले सुन ओसारपसार गर्ने कार्यमा सन्तोष परियार र अन्जिल गुरुङको पनि संलग्नता भएको बताएपछि प्रहरीले तीनै जनालाई पक्राउ गरेको हो।
पक्राउ परेका तीनै जनालाई भन्सार ऐन, २०६४ अन्तर्गतको कसुरमा थप अनुसन्धान तथा आवश्यक कारबाहीको लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय पठाइएको छ।
प्रतिक्रिया दिनुहोस !
