बुढ्यौली पुस्ताका जवान समस्या
![बुढ्यौली पुस्ताका जवान समस्या](https://annapurnapost.prixacdn.net/media/albums/thinking_YLQm7iHlOU_ny38ruWPCD.jpg)
आवश्यक सबै पूर्वाधार र सुविधासहितको ज्येष्ठ नागरिकको एकीकृत सामूहिक बस्ती विकास गतिलो अभ्यास हुन सक्छ।
समयक्रमको उतारचढावसँगै विश्वलाई अनेकन अपेक्षित तथा अनपेक्षित समस्याहरूले घेर्दै लगेको छ। राजनीतिमा आधारित शक्ति र दम्भले निर्माण गरेका अतिवादी अनि जडसूत्रवादी समस्या अतिरिक्त विभिन्न अवयवहरू भएका सामाजिक तथा मनोवैज्ञानिक चुनौतीहरू पनि सतहमा आउँदैछन्। यस्ता अनौठा समस्याहरूको चंगोलमा एजिंग भनिने वृद्ध उमेर भएका मानिसहरूको संख्यामा उच्च बढोत्तरी पछिल्लो नयाँ समस्या बन्दैछ। लेखक जलमान स्यालोमी आफ्नो पुस्तक ‘फ्रम एजिङ टु सेजिङ’मा यसलाई एक घातक समस्याको रूपमा चित्रण गर्छन्।
बुढ्यौली लागेका मानिसहरूबारे अध्ययन, अनुसन्धान गर्ने केही संस्थाहरूका अनुसार सन् २०३० सम्ममा पोल्यान्डमा सम्पूर्ण जनसंख्याको ३० प्रतिशत नागरिक वृद्ध अथवा अवकाशित हुनेछन्। चीनमा सन् २०५० मा ४५ प्रतिशत नागरिक बुढ्यौलीमा पुग्ने सर्वेक्षण छ। फ्रान्समा पछिल्लो एक सय वर्षमा यो संख्या ४ प्रतिशतबाट १७ पुगेको देखिन्छ। अविकसित तथा अल्पविकसित देशहरूमा भने हरेक २५ वर्षमा वृद्ध नागरिकको संख्या दोब्बर हुँदै गएको
तथ्यांक छ।
अहिले नै जापानमा एक तिहाइ जनसंख्या वृद्धहरूको छ। यो विश्वकै उच्च अनुपात हो। सन् २०१६ को जनगणनाअनुसार क्यानडामा बालबालिकाको भन्दा वृद्धको संख्या धेरै भएको छ। नेपालमा पनि अघिल्लो पुस्ताको तुलनामा अहिले अभिभावकहरूबाट हुने सन्तानोपादन दर निकै कम छ। ‘हेल्थ एन्ड रिटायरमेन्ट स्टडी सेन्टर’ नामक संस्था चलाएर वृद्धहरूलाई समाजको प्रगतिमा लगाउन सकिने बारेमा अनुसन्धान गर्दै आएका सञ्चालकहरू यस्तो असन्तुलित बनावटलाई ऋणले भरिएको विस्फोटक पदार्थ मान्छन्। सन् २००९ मा ६.५ प्रतिशत जनसंख्या वृद्ध भएको तथ्यांक थियो अहिले उक्त अनुपात ११ प्रतिशत छ। २०५० सम्ममा संसारभर ६ अरब मानिसहरू ६५ वर्ष उमेर माथिका हुने अनुमान छ। जापान, नर्वे, डेनमार्कजस्ता केही देशहरूमा अत्यधिक न्यून बाल जन्मदर र अन्य केही देशमा अधिक बसाइँसराइले समेत यस्तो असन्तुलन भएको देखिन्छ।
बढ्दो बुढ्यौली मानिसको संख्याले विश्वभर अनेकन तन्दुरुस्त अनि जवान समस्याहरूका पहाड थोपर्दै छ। संसारभर वित्तीय व्यवस्थापन र सूक्ष्म अर्थतान्त्रिक स्थिरताको असन्तुलन एजिङको सबैभन्दा ठूलो समस्या बन्दैछ। केही अर्थशास्त्रीहरूको अनुसार बुढ्यौलीका कारण मानिसको आर्थिक हैसियतको बढोत्तरी अनि गुणात्मक जीवनमा गम्भीर असर परेको देखिन्छ। निराशावाद अनि मानसिक विचलन र विक्षिप्तताहरूले उनीहरूलगायत बाँकी सदस्य तथा समाजलाई समेत नराम्ररी असर पारेका छ। रोगको निवारण, सामाजिक सुरक्षा, औषधि उपचार अनि वृद्धहरूको स्याहारसुसार तथा व्यवस्थापन हरेक देशका सरकारको बलियो आर्थिक चुनौती बन्दैछ। यी कुराहरूको यथोचित व्यवस्थापन गर्नका लागि सरकारलाई निकै ठूलो बजेट लाग्छ। औसतमा सम्पूर्ण बजेटको एक तिहाइ रकम यसमा खर्च हुने तथ्यांकहरू देखिन्छन्।
अर्कोतिर पारिवारिक विभाजनलाई निम्त्याउने प्रकारका पुस्तान्तरणका सोच र विचारहरू एजिंगका नयाँ बाछिटा बन्दैछन्। अधिक उमेर अन्तर भएका दुई समूहबीच बुझाइ र सोचको भिन्नता, असमाञ्जस्यता अनि बेअन्तरघुलनता हरेक समाजमा देखिन थालेको छ। बुढ्यौलीको व्यवस्थापन समाजका अन्य घातक समस्या जस्तै जटिल हुदैछ, केही फरक तथा सिर्जनात्मक समाधान खोज्न ढिला हुन लाग्दैछ।
यद्यपि केही नवीन अवधारणाहरूको प्रयोगले बुढ्यौलीका कारण विश्व मानचित्रमा आएका जवान समस्यामाथि कुशल नियन्त्रण गर्नुको साथै सकारात्मक संस्करणहरू निर्माण गर्न सम्भव रहन्छ। वृद्धहरूलाई यथोचित सम्मान, आत्मीय माया अनि आदरतापूर्ण स्नेह सबैभन्दा श्रेयष्कर औषधि हुन्। जोन चिटिस्करकृत पुस्तक ‘द गिफ्ट फर इयरस्’ले बुढ्यौलीलाई समाजको हितोपयोगी तवरमा सकारात्मक सन्देश र परिणाम आउने तथा विकास अनि समृद्धिलाई समेत सहयोग गर्ने गरी प्रयोग गर्ने थुपै्र नौला र बहुआयामिक उपायहरू सुझाउँछ।
संयुक्त परिवारमा बालबच्चाको स्याहारसुसार गर्ने अभ्यासले यो समस्याको निराकरण गर्न आधार अवस्थादेखि नै सहयोग गर्न सक्छ। यस्तो अभ्यासमा बच्चा, प्रौढ, युवा वयस्कहरू अनि वृद्ध सबैसँगै रहने भएकाले एकअर्कालाई बुभ्mन सहज हुन्छ। दीर्घकालमा सोचको फरकतामा कमी आउँछ। जर्ज भ्यालिनेटको पुस्तक ‘एजिङ वेल’मा यी समस्याका निराकरण गर्न केही सिद्धहस्त सहयोगी विचार दिन्छन्।
वृद्ध मानिसलाई उनीहरूले समाजमा दिनसक्ने योगदानका लागि विशेष पहल गर्नुपर्छ। उनीहरूको अनुभव तथा ज्ञानका सशक्त सञ्चारणले बाँकी पुस्तालाई सही बाटो देखाउन सक्छ। इम्यानुएल कान्तका मुख्य कृतिहरू उनी ६० देखि ८० वर्षको बीचमा हुँदा लेखिएका थिए। धेरै वैज्ञानिकबाट विश्व परिवर्तनकामी प्रसिद्ध सिद्धान्तहरू जीवनको उत्तरार्धमै प्रतिपादन भएका थिए। डेभिड स्नोडाउनको ‘एजिङ विथ गे्रस’ अनि एनडे«यु वेल्सको ‘हेल्दी एजिङ’लाई वृद्धहरूका जवान समस्या निराकरण गर्न सघाउने बृहंगम दस्तावेजका रूपमा हेरिन्छ। उमेरको भेदभावबिना उनीहरूलाई उत्पादक बनाउँदै व्यस्त राख्न सक्नुपर्छ। त्यसो भएमा विश्वको विकास र समृद्धिमा उत्तिकै गहन योगदान पुग्नेछ।
समयमै प्रभावकारी कदम नलिएमा चाहिँ बुढ्यौलीले व्यापक मनोवैज्ञानिक विचलन, सामाजिक असंगति अथा आर्थिक अस्तव्यस्तता ल्याउने निश्चित देखिन्छ। तर विविध सुधारात्मक कदमहरू लिएमा बुढ्यौली त्यति ठूलो समस्या हुने छैन।
वयस्कता त्यति जघन्य समस्या हैन जति हामी सोचिराखेका छौं तर अधिकांश मानिसहरू वयस्क हुँदै गर्दा स्वतः मनोवैज्ञानिक रूपमा कमजोर अनुभव गर्छन्। त्यस्तो आत्मकेन्द्रित स्वअपहेलना चाहिँ समस्याको प्रमुख जड हो जसलाई उनीहरूले आफनो सोचाइबाट हटाउन सक्नुपर्छ। अहिले पनि अधिकांश नोबल पुरस्कार विजेताहरू वृद्ध उमेर समूहका छन्। सन् २०१४ मा १७ वर्षको कलिलै उमेरमा नोबल पुरस्कार पाउने मालाला इतिहासकै दुर्लभ र अपवाद आभूषित हुन्। तर अधिक विभूषितहरू चाहिँ ६० देखि ७० वर्ष अथवा त्योभन्दा पनि बढी उमेर समूहका छन्। सन् २००७ मा अर्थशास्त्रतर्फका विजेता लियोनिड हुरविक्ज ९० वर्षका थिए। लेखक ह्यारी वर्नस्टिनले ९७ र ९८ वर्षमा विश्वव्यापी चर्चासहित सर्वाधिक बिक्री हुन सफल दुई पुस्तकहरू लेख्न सके। त्यसैले वृद्ध मानिसहरूले आफ्ना अनुभव, बुझाइ तथा भावी पुस्ताका लागि उपयोगी दर्शनलाई लिखतमार्पmत सुरक्षण गर्न सके उनीहरू पनि व्यस्त रहन्छन् अनि इतिहास पनि जोगिन्छ।
झन्डै दुई दर्जन बढी विश्व धनाढ्यहरूले ५५ वर्षपछि सुरु गरेका नयाँ व्यवसाय वा पेसाबाट सफलता हात पारे। विख्यात वैज्ञानिक चाल्स डार्विन पनि यही समूहमा पर्छन्। साहित्यमा फ्र्यांक मसिकोर्ट, कलामा म्यारी डिलाने, अभिनयमा इस्टेले गेटी, फास्ट फुडको व्यवसायमा हारल्यान्ड सेन्डरस केही यस्ता उदाहरण हुन् जसले सामान्यतया अरू मानिसहरू निवृत्त हुने उमेर नजिकैबाट आफ्नो काम सुरु गरेर पनि अलौकिक विश्व सफलता हात पारे। उमेर आपैmंमा समस्या हैन। निवृत्त मानिसहरूको मानसिकतामा सकारात्मक सोच निर्माण गराउँदा र बाँकी समाजले उनीहरूलाई त्यसैगरी परिचालन गर्दा समस्याको हल सहज हुन्छ।
त्यस्तै वृद्धहरूको नियमित सत्संग, उनीहरूबीच विभिन्न विषयमा साश्त्रार्थ गर्नाले उनीहरूलाई बढी पुनर्ताजगी गर्न सक्छ। आवश्यक सबै पूर्वाधार र सुविधासहितको वयस्कहरूको एकीकृत सामूहिक बस्ती विकास अर्को सहयोगी अभ्यास हुन सक्छ। बुल्गेरियाले वयस्कको समस्या सामधान गर्न वर्क फोर्स पार्टिसिपेसनमा वृद्धि गरेको छ। जापानले मानिसलाई ८० वर्षसम्म काम गर्ने अनुमति दिन्छ। मासाच्युसेटले हेल्दी एजिङनामक कार्यक्रम सुरु गरेको छ। केही एसियन देशहरूले परामर्श समूहका व्यापारमा निवृत्तहरूको सघन सदुपयोग गर्ने नीति बनाएका छन्।
समाजलाई युगीन विकासमा लैजाने सूत्रहरू प्रतिपादन गर्ने अनुसन्धान गराउँदैछन्। यस्ता गतिविधिहरू बुढ्यौली समूहका मानिसका लागि सुहाउँदो र रमाउँदो समेत हुन्छ। यस्ता विविध सुधारात्मक कदमहरू लिएमा बुढ्यौली त्यति ठूलो समस्या नहोला। समयमै प्रभावकारी कदम नलिएमा चाहिँ बुढ्यौलीले व्यापक मनोवैज्ञानिक विचलन, सामाजिक असंगति अथा आर्थिक अस्तव्यस्तता ल्याउने निश्चित देखिन्छ।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)