सञ्चार अभावमा पिरोलिएको हुम्लाको चाला गाउँ
हुम्ला : चारैतिर चाँदीजस्तै टल्किने हिमालहरू। चाला गाउँको पहिलो दृश्यबाट प्रत्येक दिनको हेराई सुरुवात हुन्छ। बिहानै उठ्ने बित्तिकै दुलही लजाएर घुम्टाले झपक्कै छोपिएको जस्तै हिउँले छोपिएका हिमाल देख्दा चालाबासी आफूलाई गर्वको महसुस गर्छन्। त्यही सैपाल हिमालको छेउमै रहेको हुम्लाको चाला गाउँका मानिसहरूलाई त्यतिकै सताएको पनि छ। मसिंर-पुस महिनामा हिमाली क्षेत्रमा बाक्लो हिमपात भएपछि चाला गाउँबाट यताउता आवतजावत बन्द हुन्छ।
बाक्लो हिमपात हुने बित्तिकै यहाँको जनजीवन समेत प्रभावित हुन पुग्छ। नाम्खा गाउँपालिका-४ का सोनाम र्दोजी तामाङ वडा सदस्य हुन्। गाउँपालिका र वडाको बैठक भएपछि उनलाई थाहा हुँदैन। गाउँ भन्दा दुई घण्टा टाढा दूरीमा पुगेर टेलिफोन गरेपछि मात्रै सूचना थाहा पाउने गरेको वडा सदस्य सोनाम तामाङले बताए। गाउँमा सञ्चार नहुँदा गाउँपालिकामा हुने बैठकका विषयमा आफूलाई थाहा नहुने गरेको तामाङको दुखेसो छ।
गाउँभन्दा बाहिर गएका आफन्तसँग फोन गर्न दुई घण्टा टाढा पुगेर कुराकानी गर्दै आएको स्थानीय छिरिङ तामाङले बताइन्। काठमाडौंमा अध्ययनरत बच्चाबच्चीसँग कुरा गर्न समस्या हुने गरेको तामाङको भनाइ छ। ‘नत सञ्चार छ नत गुणस्तरीय स्वास्थ्य सेवा नै छ। हामी चालाबासी राज्यबाटै पछाडि परेका छौं,’ तामाङले भनिन।
गाउँमा सञ्चारको पहुँच नुहुँदा चालाबासी बर्सेनि समस्या झेल्न बाध्य भएको स्थानीय टोपछिरिङ लामाले बताए। जिल्ला बाहिर गएका आफन्तसँग कुराकानी गर्न दुई घण्टा टाढा अग्लो स्थानमा पुग्न पर्ने बाध्यता रहेको लामाले बताए। गाउँमा कोही स्थानीय बिरामी हुँदा समेत कठिनाइ हुने उनको भनाइ छ।
गाउँमा झण्डै ३५ घरधुरी सञ्चारविहीन छन्। कसैले चाला गाउँको विषयमा चासो चिन्ता देखाएको उनले दुखेसो छ। ‘निर्वाचनको समयमा भोट बैंकका रुपमा चाला गाउँलाई प्रयोग गर्ने गर्छन्। तर, विकासका विषयमा कुनै पार्टीका नेताहरूले चासो देखाएका छैनन्,’ लामाले भने। हुम्लाको दुर्गम गाउँ वर्षौंदेखि सञ्चार सेवाबाट पिरोलिँदै गएको छ।