भारत र चीनसँग हामीले खेलवाड गर्नु हुन्न : केपी ओली


काठमाडौं : नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले दुई छिमेकी देश भारत र चीनसँग खेलवाड गर्न नहुने बताएका छन्। काठमाडौंमा आयोजित कार्यक्रममा शुक्रबार उनले बलियाहरूको प्रतिस्पर्धामा नेपाल पस्न नहुने बताए।

'सांस्कृतिक, आर्थिक र सामाजिक भिन्नताका दुई ठूला देशसँग हामी खेलवाड गर्नु हुन्न। ठूला, बलियाका प्रतिस्पर्धामा पर्नु हुँदैन। उनीहरूको बीचमा पस्नै हुँदैन। चाहे त्यो छिमेकी होस् या अलिक टाढाको छिमेकी किन नहोस्,' उनले भने। छिमेकीहरूले नेपालसँग न्यायोचित व्यवहार गर्नुपर्ने उनको भनाइ छ। उनले सरकारले पनि छिमेकीसँग जायज विषयहरूमात्रै उठान गर्नुपर्ने बताए। 

'जिओपोलिटिक्समा किन हामीले ध्यान दिनुपर्छ भने हाम्रो दुईतिर दुई ठूला छिमेकीहरू छन्। जो ठूलो जनसंख्या र क्रयशक्ति भएका देश हुन्। त्यसको उपयोग हामीले गर्नसक्नुपर्छ। किनकि उनीहरू ठूलो बजार पनि हो। उनीहरूसँग हामीले प्रतिस्पर्धा गर्न सक्दैनौं। नेपालको हितमा जायज कुरामात्रै राख्ने हो। किनकि जनसंख्या, भूगोल र पूर्वाधारमा हामी उनीहरूभन्दा पछाडि छौं। हाम्रो समुन्द्रसँग पहुँच छैन। उनीहरूले पनि हामीसँग फेबेरल पोलिसी, फेबेरल ट्रिटमेन्ट (सुहाउँदो नीति र व्यवहार) गर्नुपर्छ। जुन हाम्रो लागि न्यायोचित हुन्छ,' उनले भने। यसैका निम्ति नेपालले जिओपोलिटिक्समा ध्यान दिनुपर्ने उनको भनाइ छ।

अध्यक्ष ओलीले म्याराथनमा बलियाहरूमात्रै उपस्थित हुने भएकाले नेपाल अहिल्यै ग्लोबल प्रतिस्पर्धाको हिस्सा नभएको बताए। क्रिकेटमा त नेपाल विश्व प्रतिस्पर्धामा नरहेको उनको भनाइ छ। 'म्याराथनमा कोही कमजोर मान्छे जाँदैन। त्यसको लागि मुटु, फोक्सो र मसल बलियो हुनुपर्छ। त्यसैले हामी ग्लोबल कम्पिटिसनको म्याराथनमा छैनौं,' उनले थपे, 'क्रिकेटमा त भाग लिन पाएका छैनौं। इकोनोमिक म्याराथनमा कहाँ जान पाउँछौं।'

उनले नेपाल निर्विवादरूपमा शान्ति चाहेको प्रस्ट पारे। अरुको प्रतिस्पर्धाले नेपालमाथि कुनै आँच नआ‌ओस् भन्ने उनको चाहना छ। 'हामीलाई निर्विवाद रूपमा शान्ति चाहियो। कसैको प्रतिस्पर्धाले हामीलाई घचपच हुन भएन। अरुका इन्ट्रेस्टका झिल्काले हाम्रो घर जल्नु भएन। हाम्रो छानामा आउनु भएन। हो, हामीले हेर्ने जिओपोलिटिक्स यहाँ हो,' उनले भने।

उनले नेपालमा अझै २० प्रतिशत बढी गरिबीको रेखामुनि रहेको बताए। 'हामी बेतुकको बहसमा अल्झिन चाहँदैनौं। हामीलाई के थाहा छ भने हाम्रो देशको जनता २०.२६ प्रतिशत निरपेक्ष गरिबीको रेखामुनी छन्। गरिबीको रेखामुनी हुनु भनेको अत्यन्तै दुःखद कुरा हो,' उनले भने।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.