जन्मभूमिमाथि दिव्यदृष्टि

पुस्तक

जन्मभूमिमाथि दिव्यदृष्टि

बाँच्नका लागि मात्र भए पनि मान्छेले कर्म त गर्नैपर्छ। तर त्यो बाँच्नु केवल आफ्ना लागिमात्र नहोस् भन्ने मूल हेतु हो।

‘अर्जुनदृष्टि’ अर्जुनकुमार श्रेष्ठद्वारा लिखित निजी अनुभूतिहरूको सँगालो हो। पुस्तकमा श्रेष्ठले जीवनयात्राका क्रममा भोगेका, अनुभूत गरेका, सिकेका र सिकाएका कुराहरू संग्रृहीत गरेका छन् । नेपाललाई नै सुन्छु, नेपाललाई नै पढ्छु, नेपाललाई नै लेख्छु र नेपाललाई नै बोल्छु। (पृ.४०) यही अर्जुनदृष्टिलाई सृष्टिमा परिणत गर्न अर्जुनकुमार श्रेष्ठले जीवनभर साधना गरिरहने अठोट लिएका छन्।

पर्वत जिल्लाको फलेबासमा जन्मिएका श्रेष्ठ सबैको सपनाको सहर अस्ट्रेलियाको भिसा त्यागेर देशमै केही गर्छु भनेर बसे। जागिरमा भन्दा व्यवसायमा बढी रुचि भएकाले उनले छोटो समयमै म्याग्दी र पर्वतमा औषधि, हार्डवेयरलगायतका विभिन्न व्यवसायमा सफलता प्राप्त गरे। भनिन्छ, इच्छाशक्ति र अठोट भयो भने जुनसुकै काममा पनि सफलता प्राप्त गर्न सकिन्छ। सोही कुरालाई मनन् गरेर अघि बढिरहेका श्रेष्ठ देशको अस्तव्यस्त राजनीतिका कारण बाध्यताले बिदेसिन पुगे। बेल्जियम पुगेका उनी म्यानेजरको जागिरबाट टाढिएर उद्यमी बन्ने यात्रामा लागे र सोही देशमा सन् २००७ मा ‘ओसियन सुशी’ नामक व्यवसाय सञ्चालन गरे। जापानी खाद्य परिकारमा लोकप्रिय रहेको सुशीका शाखा विस्तार गर्दै उनले सुशीबाट मनग्गे खुसी पाए। 

व्यवसायमा संस्थापक बनेर काम गरिरहेका उनी आफ्नो नेतृत्व विश्वभर फैलाउनुपर्छ भन्ने उद्देश्यका साथ सन् २००९ मा गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद् सदस्य बने। पद र प्रतिष्ठा भन्ने कुरा मागेर र चाहेर पाउने कुरा होइन। श्रेष्ठले उक्त परिषद्को सदस्य विश्वास, क्षमता र नेतृत्वदायी भूमिकाले प्राप्त गरेका थिए। एनआरएनएमा प्रवेश गरेपछि विभिन्न पदीय भूमिकामा रहेर वैदेशिक रोजगारीका क्रममा समस्यामा परेका नेपालीको राहत र उद्धारका गर्ने, नेपालमा २०७२ सालमा गएको भूकम्प पीडितका उद्धार गर्ने, गोरखा जिल्लाको लाप्राकमा ५ सय ७३ ओटा घर निर्माण गरी नमुना बस्ती निर्माण गर्ने जस्ता विभिन्न कार्य सम्पन्न गरी परोपकारी कार्यमा सामेल हुँदै आए। 

बाँच्नका लागि मात्र भए पनि मान्छेले कर्म त गर्नैपर्छ। तर त्यो बाँच्नु केवल आफ्ना लागिमात्र नहोस् भन्ने मूल हेतु नै मेरो जीवनको र खासगरी व्यावसायिक जीवनको खोज, सोच र भविष्य हो। नेपालमा औषधि व्यवसायमा मानवीय सेवाको भाव कम र व्यापारीकरणको स्थिति ज्यादा देखिन्छ। मेरो मूल उद्देश्य व्यापारीकरणभन्दा पनि सर्वसुलभ रूपमा आम उपभोक्ताले सेवा प्राप्त गर्न सकून् भन्ने हो। (पृ.९०) श्रेष्ठको यो भनाइले उनमा मानवीयता र सेवाभाव रहेको झल्किन्छ। व्यक्तिगत स्वार्थभन्दा माथि उठेर कर्म गर्ने स्वभावले उनको कर्मको सकारात्मक गति विस्तार भएको देखिन्छ। उनमा व्यापारभन्दा माथि सेवा र सेवाभन्दा माथि सन्तुष्टिले नै मानिसलाई कुनै पनि व्यवसायमा दिगो रूपमा स्थापित हुन सहयोग गर्छ भन्ने भावना रहेको पाइन्छ।  

श्रेष्ठको नेतृत्वमा चितवनमा स्थापना भएको ओम मेगाश्री फर्मास्युटिकल्स औषधि कम्पनीले औषधि उत्पादन गरी देशमा मात्र होइन विदेशमा पनि निर्यात गर्ने लक्ष्य राखेको छ। देशको आर्थिक अवस्थालाई टेवा दिनका लागि देशभित्र नै स्थापना भएका व्यवसाय हुनु पर्दछ। जब देशमै बनेका र उत्पादन भएका सामग्री विदेशसम्म पुग्छ तब विदेशी मुद्रा पनि स्वदेशमै भित्रिन थाल्छन्। यसरी आफ्नै देशमा बसेर देशकै नागरिकलाई साथमा लिएर व्यवसाय गर्नु र त्यसमा सबैको अपनत्व हुने वातावरण बनाउनु भनेको देश विकासका लागि चालिएको महŒवपूर्ण र सराह्रनीय कदम हो। अपनत्व हुनु भनेको स्थायित्व प्राप्त गर्नु हो; दिगो हुनु हो। जब औषधि व्यवसायमा उपभोक्ताको अपनत्व हुनेछ त्यसले समग्रमा औषधि व्यवसायलाई नै दिगो बनाउँछ। ...दीर्घकालसम्म स्थापित गराउन ‘हामी र हाम्रो’ भावको विकास गराउनु आवश्यक ठानेका छौं। यसैको स्वच्छ र स्वस्थ अभ्यास ओम मेगाश्री फार्मास्युटिकल्सको आईपीओ निष्कासन हो। 

एकातर्फ आवश्यकताअनुसार वस्तुको उपभोगका लागि पनि हुने र अर्कोतर्फ वस्तुकोे उपभोगमा खर्र्चिएको रकमको लाभांश स्वयंका लागि पनि प्राप्त हुने हुँदा आईपीओ निष्कासन र जनसहभागिता एकअर्काका सारथि बन्नेछ भन्ने विश्वास लिएको छ। (पृ.९२) एकलभन्दा सामूहिक लगानीमा व्यवयाय सञ्चालन गरी सामूहिक रूपमा अघि बढ्ने चाहना राख्ने श्रेष्ठ व्यक्तिगत स्वार्थमा कुनै पनि कार्य गर्दैनन् भन्ने कुुराको प्रमाणित झन्डै १९ वर्षपछि नेपाल फर्किएर सुरु गरेका औषधि व्यवसायले गरेको छ। 

हामी र हाम्रो भन्ने भावनाका साथै व्यवसायलाई स्थायित्व दिनका लागि सर्वसाधारणलाई समेत आईपीओ निष्कासन गर्ने ध्येय राख्नु भनेको झनै सुन्दर पक्ष हो। आफैंले प्रयोग गरिरहेको औषधिको फाइदा आफ्नै स्वास्थ्य र अर्थका लागि हुनु भनेको पनि अत्यन्तै राम्रो कुरा हो। वास्तवमा यिनै सेवाभाव र समतामूलक सोचका कारण श्रेष्ठले व्यवसायमा सफलता हासिल गरिरहेका हुन् भन्ने कुरा उनको भनाइ र सोचाइबाट प्रस्ट हुन्छ। 

अर्जुनकुमार श्रेष्ठको व्यावसायिक जीवन अनुकरणीय छ। उनको पारिवारिक जीवन पनि उत्तिकै लोभलाग्दो छ। जिम्मालका नाति, प्र्रधानपञ्चका छोरा भएर पनि उनमा कुनै किसिमको घमण्ड छैन। हाम्रो समाजमा हुने खाने र हुँदा खानेबीचको खाडल अझसम्म कायमै छ तर श्रेष्ठले पुस्तकमा लेखेअनुसार हुने खाने परिवारमा जन्मिए पनि उनीभित्र सो खाडललाई 
मलजल गर्ने स्वभाव पटक्कै देखिन्न। उनी परिवारप्रति पनि उत्तिकै उत्तरदायी छन्। 

आमाबुबाका बारेका लेखेका उनका शब्दहरूले आँखा रसिलो बनाउँछ। पारिवारिक, सामाजिक र व्यावसायिक भूमिकालाई बरोबर रूपमा अगाडि लैजान सक्ने सामथ्र्य जो कोहीमा हुँदैन। तर श्रेष्ठले लेखेका शब्दहरू पढ्दा र उनीभित्र रहेको भावना बुझ्दा लाग्छ देशले एक होनहार र असल मान्छे पाएको छ। जीवनको पाँच दशकसम्म उही रफ्तारमा अघि बढ्नु, विदेश पुगेर सफल बनिसक्दा पनि देशमै केही गर्छु भनेर फर्कनु भनेको चानचुने कुरा पक्कै होइन। धन कमाउनु ठूलो कुरा होइन तर मान्छे कमाउनु ठूलो कुरा हो भन्ने सोच बोकेर नेपाल फर्किएका श्रेष्ठ विश्वासले नै लक्ष्य प्राप्तितर्फ लैजान्छ भन्ने सोच राख्छन्। भौतिक सुखसुविधाका लागि बिदेसिएका नेपालीहरू आफ्नोपनबाट टाढिँदै गएका छन्। आर्थिक रूपमा कमजोर भएकाहरू बिदेसिनु बाध्यता हो तर क्षणिक खुसीका लागि बिदेसिनु भनेको राम्रो कुरा होइन भन्ने सोच श्रेष्ठको रहेको छ।

आफूमा भएको ज्ञान र सीप आफ्नै देशमा खर्चिएर देशमै सेवा गर्नुपर्ने उनको धारणा मननीय र अनुकरणीय छ। विदेश जान जस्तोसुकै परिस्थितिको सामना गर्न तयार नेपालीहरूको अवस्था एकातिर देखिन्छ। अर्कोतिर रातो पासपोर्ट फालेर आफ्नै देश फर्किएर औषधिजस्तो अत्यावश्यक र जीवनदायी व्यवसायमा सामूहिक यात्रा गर्ने अर्जुनकुमार श्रेष्ठ जस्तो नेपाली देख्दा गर्व गर्न मन लाग्छ। श्रेष्ठको पुस्तकभित्र श्रेष्ठलाई पढिरहँदा यस्तो लाग्छ वास्तवमा जीवन भनेको सुख र सन्तुष्टिको सिंगो रूप हो। सुख र सन्तुष्टि प्राप्त गर्न अर्जुनदृष्टि चाहिन्छ। त्यस्तो दृष्टि जसले आफू हुनुको अर्थ महसुस गराओस्। 

कर्ममा विश्वास गर्दै अघि बढियो भने सफलताको सिँढी पार गर्न सहज हुन्छ। सफल हुनु भनेको आफूमात्र सम्पन्न हुनु होइन। सफल हुनु भनेको सहकार्य, सहअस्तित्व र सहसम्बन्धको जगलाई बलियो बनाउनु हो। जीवनमा आएका अप्ठ्यारा परिस्थितिहरूलाई सामान्यीकरण गरेर, त्यसबाट पाठ सिकेर अघि बढ्नु सफल हुनु हो। यिनै विचारहरूको समष्टि रूप हो अर्जुनदृष्टि।

फलेको हाँगो निहुरिन्छ भने झैँ श्रेष्ठले लेखेका हरेक शब्दहरूमा नरमपना छ। त्यही नरमपनाले उनी व्यवसायमा सफल भएका हुन् भन्ने अनुमान गर्न सकिन्छ। जीवनलाई सार्थक बनाउन तल्लीन श्रेष्ठको यस कृति पठनीय र मननीय छ। व्यावसायिक र नेतृत्वको सोच बदल्न 
विशेष भूमिका खेल्ने यस पुस्तकले पाठकलाई छुट्टै स्वाद दिनेछ।


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.