३२ सय किलो सुन अवैध पैठारी, आज मुद्दा दायर गर्ने तयारी
काठमाडौं : सरकारी वकिल कार्यालय, काठमाडौंले संगठित रूपमा सुन चोरी पैठारीमा संलग्नहरूविरुद्ध मंगलबार मुद्दा दायर गर्ने तयारी गरेको छ।
सुन चोरी पैठारीका सम्बन्धमा अनुसन्धान गरी प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले आइतबार सरकारी वकिल कार्यालयमा प्रतिवेदन पेश गरेको थियो। दुई दिनसम्म सरकारी वकिल कार्यालयले अध्ययन गरी पूरक अभियोग पत्र पेश गर्ने तयारी गरेको छ। ‘प्रहरीले बुझाएको प्रतिवेदन अध्ययन गरेर सकिएको छ। अध्ययनका आधारमा मुद्दा दर्ताको निर्णय हुन्छ,’ सहन्यायाधीवक्ता सन्देश श्रेष्ठले भने, ‘सम्भवतः मंगलबार मुद्दा दायर हुन्छ।’
यसअघि सरकारी वकिल कार्यालयले २०८० भदौ ३१ गते काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो। २९ जनालाई प्रतिवादी कायम गरि मुद्दा दायर भएको थियो। तत्काल पक्राउ परेका २५ जनामध्ये काठमाडौं जिल्ला अदालतले २४ जनालाई पुर्पक्षका लागि थुनामा पठाएको थियो।
अवैध सुन पैठारीका सम्बन्धमा एक हदसम्म अनुसन्धान पूरा भएको छ। श्यामलाल ज्ञवाली, प्रहरी अतिरिक्त महानिरीक्षक, सीआईबी
२०८० साउन २ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ६० किलो ७१६ ग्राम अवैध सुन बरामद भएको भएपछि प्रहरीले अनुसन्धान अघि बढाएको थियो। यही समूहले थप ३१ सय ९४ किलो ६६८ ग्राम सुन पैठारी गरेको पाइएको छ। केन्द्रीय अनुसन्धान व्युरो(सीआईबी)का प्रवक्ता होबिन्द्र बोगटीका अनुसार प्रचलित बजारमूल्य अनुसार, ३० अर्ब ८२ करोड २२ लाख ९१ हजार २ सय ७२ रूपैंयाँ बराबरको अवैध सुन चोरी पैठारी गरेको पाइएको छ।
सीआईबीले २० जना प्रतिवादीहरू पक्राउ गरेको छ। २६ जना प्रतिवादीहरू फरार रहेको जनाइएको छ। अवैधरूपमा सुन पैठारीमा चिनियाँँ, भारतीय र नेपालीको संलग्नता रहेको अनुसन्धानमा देखिएको छ। अनुसन्धानका क्रममा पक्राउ परेका २० जनाप्रतिवादीमाथि अनुसन्धान गरी पेश गरिएको छ। २६ जना प्रतिवादीहरू फरार रहेका छन्। सीआईबीले २ खर्ब ६६ अर्ब ६७ करोड ९ लाख ९ हजार ३ सय ८ रुपैयाँ बिगो मागदाबीको रायसहितको प्रतिवेदन पेश गरेको छ।
३० अर्ब बढीको सुन तस्करी
सीआईबीका डीएसपी सुन्दर तिवारीका अनुसार, डमि कम्पनीबाट प्रज्ञापन पत्रका आधारमा ब्रेक सु र अन्य मालवस्तु (पानी तान्ने पम्प, स्मार्ट वाच, सेभिङ मेसिन) बाट सून पैठारी भएको देखिएको छ। ब्रेक सुमा लुकाइछिपाइ ३ सय ६२ किलो ७७८ ग्राम र विद्युतीय मालवस्तुमा २८ सय ३१ किलो ८९ ग्राम सुन अवैधरूपमा ल्याएको पाइएको छ। चोरी पैठारीमा संलग्न व्यक्तिहरूले ५ वटा डमि कम्पनीबाट विभिन्न मालवस्तु र ब्रेक शुबाट ३ हजार १ सय ९४ किलो ६६८ ग्राम अवैध सुन चोरी पैठारी गरेको पाइएको छ। भुजेल इलेक्ट्रिक सप्लायर्स प्रालिका साथै हवादा, छुङ्गाक दोलखा इलेक्ट्रिक सप्लायर्स र रेडि ट्रेड प्राइभेट कम्पनीको सुन चोरी पैठारीमा संलग्नता रहेको प्रहरी अनुसन्धानमा देखिएको छ। यी ५ वटा सप्लायर्सबाट २७ अर्ब रूपैंभन्दा बढी परिमाणको २८ सय ५१ किलो ८९ ग्राम सुन बरामद भएको छ।
प्रहरीले बुझाएको अनुसन्धान प्रतिवेदनमाथिको अध्ययन सकिएको छ। सम्भवतः मंगलबार मुद्दा दायर हुन्छ। सन्देश श्रेष्ठ, प्रमुख, सरकारी वकिल कार्यालय, काठमाडौं
वैध सुनको भुक्तानी प्रक्रियामा नेपालका दुइटा पेमेन्ट गेटवेसमेत संलग्न भएको पाइएको छ। पेवेल नेपाल प्राइभेट लिमिटेड र सजिलो पेमेन्ट सर्भिस प्राइभेट लिमिटेडका खातामा बचत गरी एजेन्टमार्फत अवैध सुनको भुक्तानी भएको अनुसन्धानमा देखिएको छ। सीआईबीले सोमबार आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै प्रहरी अतिरिक्त महानिरीक्षक श्यामलाल ज्ञवालीले एक हदसम्म अनुसन्धानको चरण पुरा गरिएको बताए। ‘अनुसन्धानको एउटा पाटो सकिएको छ,’ उनले भने।
प्रतिक्रिया दिनुहोस !