सप्तकोशीमा पानीको बहाब वर्षकै उच्च , ब्यारेजका ५६ मध्ये ४८ ढोका खोलिए
धरान : सप्तकोसीमा पानीको बहाब यो वर्षकै उच्च भएको छ । पूर्वी पहाडी जिल्लाहरूमा लगातार परेको वर्षातका कारण सप्तकोसी नदीमा पानीको बहाब बढेको हो ।
आइतबार सप्तकोसीमा पानीको बहाब प्रति सेकेन्ड ३ लाख ४९ हजार ४ सय क्युसेक पुगेको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता डिएसपी नबिनकृष्ण भण्डारीले जानकारी दिएका छन् ।
सप्तकोशीमा पानीको बहाब बढेपछि कोशी ब्यारेजका ५६ मध्ये ४८ वटा मात्र ढोका खोलिएका छन् । सप्तकोशीमा प्रति सेकेन्ड एकलाख ५० हजार क्युसेक पानीको बहाब पुगेपछि खतरा मानिन्छ ।
सप्तकोशीमा पानीको बहब उच्च हुँदा समेत कोसी ब्यारेजका सबै ढोका नखोलेका कारण सप्तकोसीले वराहक्षेत्र नगरपालिकाको श्रीलंका टापु, प्रकासपुर र महेन्द्रनगर, मधुवन लगायतका स्थानमा कटान सुरु गरेको छ ।
सप्तकोशीको बाढीबाट हुने क्षतिलाई नियन्त्रण गर्न नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोली आसपासका क्षेत्रमा परिचालन गरिएको छ ।