अन्तत : मृत्युदण्डबाट जोगिए रामआशिष
भैरहवा : धनुषा जनकपुरधाम–१७ कनकपट्टीका रामआशिष यादव परिवारमा तीन छोरी र श्रीमती छन्। जेठी आरतीकुमारी यादव १८ वर्ष, माइली पूजाकुमारी यादव १५ वर्ष र कान्छि सञ्जुकुमारी १० वर्षकी भइन्। जेठी आरतीलाई मात्र बुवा रामआशिषको अलि–अलि सम्झना छ।
बुवा वैदेशिक रोजगारीका लागि साउदी अरब गएको दशक भयो। तर, फर्किएका छैनन््। अन्य साथीहरूको बाबाले विदेशबाट नयाँ लुगा, मिठाई, खेल्ने सामग्री ल्याउँदा तीनै जना छोरीहरूको मन कटक्क पोल्छ। र, आमालाई सोध्छन्, ‘आमा, आमा, हाम्रो बाबा कहिले आउनुहुन्छ ?’ अनुत्तरित आमा मनमा ढुंगा राखेर बालमनोविज्ञानलाई बुझ्दै सधैं एउटै जवाफ फर्काउँछिन्, ‘छिट्टै आउनुहुन्छ।’
यादव परिवार आर्थिक अवस्थाले थलिएपछि रामआशिष घरको गुजारा चलाउन लेबरको काममा साउदी अरब बिदेसिए। बिदेसिनका लागि पनि उनले २ लाख रुपैयाँ ऋण लिनुपर्यो। रूपन्देहीको कंचन गाउँपालिका–४ का दुर्गाप्रसाद शर्मा पनि रोजगारीका लागि साउदी पुगे। दुवै जनाबीच चिनजान त थिएन्। तर, संयोगले दुवै साउदीको ताबुकस्थित एउटै कम्पनीमा काम गर्न पुगे।
एउटै कोठामा बसेर काम गर्न थाले। करिब ६ वर्षअघि सन् २०१८ अक्टोबरमा मादक पदार्थ सेवन गरी दुवै जनाबीच झगडा भयो। र, यादवले छुरा प्रहार गरी शर्माको हत्या गरे। साउदी प्रहरीले कर्तव्य ज्यान मुद्दामा यादवलाई पक्राउ गर्यो। प्रहरीले पक्राउ गरेको ६ महिनापछि मात्र घरमा खबर पुग्यो। ताबुकस्थित क्रिमिनल कोर्टले सन् २०२० डिसेम्बर २० मा पब्लिक राइटअन्तर्गत यादवलाई मुद्दामा दोषी ठहराउँदै पाँच वर्ष र मादक पदार्थ उत्पादन, बिक्री तथा सेवन गरेको अभियोगमा थप एक वर्ष गरी ६ वर्षको जेल सजायको फैसला सुनायो।
यादवले जेल सजाय भुक्तान गरिरहेका छन्। यो विषय त्यहाँँको राजदूतावासमा पुगिसकेको थियो। त्यसपश्चात् साउदीको जेद्दास्थित नेपाली कन्सुलेट जनरलले कन्सुलर सेवा विभागमार्फत प्राइभेट राइटअन्तर्गत पीडकलाई साउदीको कानुन अनुरूप अधिकतम सजाय (मृत्युदण्ड सम्मको) को दाबी गर्ने वा क्षतिपूर्ति सहितको माफीमा मन्जुरीनामा दिने भन्दै रूपन्देहीमा रहेको मृतक परिवारसँग निर्णय माग्यो। मृतक परिवारले पीडक परिवारसँग सम्पर्क नरहेकाले निर्णय लिन नसकिएको जवाफ दियो। त्यसपछि जनरलबाट जेलमा रहेका यादवलाई भेट गर्न कर्मचारी पठाइयो। भेटमा जनरलको तर्फबाट पीडक परिवारले मृतक परिवारसँग छलफल गरी सहमतिमा माफीको रकम तोक्न सके दुवै पक्षलाई हित हुने यादवलाई सुझाइएको थियो।
कुराकानीसहितको घटना विवरणबारे उल्लेख गर्दै नेपाली कन्सुलेट जनरलबाट मृतक र पीडक पक्षका परिवारसँग आवश्यक समन्वय गरेर महावाणिज्य दूतावासलाई आवश्यक कागजात पठाइदिने भन्दै कन्सुलर सेवा विभागलाई बोधार्थ दिँदै परराष्ट्र मन्त्रालयलाई पत्राचार भयो।
पीडित परिवारका मामा ससुरा पर्ने प्रभु यादवका अनुसार कन्सुलर सेवा विभागमार्फत मृतक पक्षसँगको छलफलमा माफी रकम (ब्लड मनी) ७० लाख रुपैयाँ माग भएपछि दिन सक्ने अवस्था रहेन। त्यसपछि भान्जा ज्वाइँँ फर्किने आशा मारेर उनी जनकपुर फिर्ता भए।
पटक–पटकको छलफलमा पनि ‘ब्लड मनी’ मा कुरा मिलेन। यादव परिवारको सम्पूर्ण जायजेथा बेचेर पनि त्यति रकम दिने अवस्था थिएन्। जसका कारण उनीहरू आशा मारेर बसे। कुराकानी नमिलेपछि जनरलको पत्र संलग्न गरी विभागले जिल्ला प्रशासन कार्यालय रूपन्देहीलाई ०८० चैत १२ गते घटनाबारे जानकारी पत्र पठायो। प्रशासन कार्यालयले जनताको दैलोको सरकार र सुःख, दुःखमा साथ उभिने भएकाले आवश्यक सहजीकरण र सहयोग हुने अपेक्षासहित कंचन गाउँपालिका–४ को कार्यालयलाई पत्राचार गर्यो। वडा कार्यालयले ‘केही गर्न नसक्ने’ आशयको जवाफ फर्कायो।
तर, भ्रष्टाचारले डुंगडुंगति गनाएका मुलुकका स्थानीय तहहरूमध्ये साइनो रहेको पीडकको न जनकपुरधाम उपमहानगरपालिकाले साउदी जेलमा रहेको आफ्नो पालिकावासीका लागि ‘ब्लड मनी’ उपलब्ध गराएर जोगाउन खोज्यो, न त मृतकको कंचन गाउँपालिका जनप्रतिनिधि लगायतले नै मानवता देखाए।
साउदी जेलमा रहेका एक नेपालीलाई जोगाउन स्थानीय सरकारहरू उदार भएनन्। दुवै पालिकाको सूक्ष्म रुपमा योजना÷कार्यक्रमका फाइल अनुसन्धान गरे भ्रष्टाचारका अनेक नमुना फेला पर्ने उत्तिकै सम्भावना छ। तर, दुवै सरकारका नेतृत्वकर्ताहरूले सरकारी रकम नभए पनि अभियान चलाएर संकलन गर्न सकिने ‘ब्लड मनी’ प्रतिचासो देखाएनन्। नागरिकप्रति स्वार्थी निस्किए। ‘ब्लड मनी’ जुटाएर श्रीमान्लाई जोगाउन जनकपुरको गल्ली–गल्लीमा दौडिएर हात फैलाए पनि कसैले सहयोग नगरेको पीडककी श्रीमती रेनुकुमारी यादवले भक्कानिँदै सुनाइन्।
यादवलाई जोगाउन स्थानीय सरकारहरू तयार नभएपछि रूपन्देहीका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले धनुषा प्रशासनसँग ‘ब्लड मनी’ व्यवस्थापनका लागि पहल गरिदिन आग्रह गरे। तर, उताबाट पनि खासै पहल नभएको अर्याल बताउँछन्। ‘ब्लड मनी’ को कतैबाट पनि व्यवस्थापन नभएपछि जेलमा रहेका यादवका लागि मृतक परिवारसँग अधिकतम सजाय (मृत्युदण्डसम्म) को दाबी गराएर कागज पठाउनुपर्ने अर्यालसमक्ष कठिन परिस्थिति आइपुग्यो। ‘एक जनाको मृत्यु भइसकेको र अर्कोको अधिकत्तम सजाय (मृत्युदण्डसम्म) का लागि कागज बनाएर पठाउनुपर्ने अवस्था आएपछि मन धेरै चिन्तित हुनपुग्यो’, सीडीओ अर्यालले भने, ‘पैसाकै अभावमा कसैलाई मर्न दिनुहँुदैन भन्ने पक्षमा गएँ।’
सीडीओ अर्याल पीडक परिवारलाई लिएर मृतक परिवारको घरमा माफीको अपेक्षासहित पुगे। मृतक परिवार ‘ब्लड मनी’ लिएर माफीमा अख्तियारीनामा दिन तयार थिएन्न्। तर, पनि सीडीओ अर्याल दुवै परिवारलाई मिलाउने वातावारण बनाउनमा लागिरहे। पटक–पटक भेटघाट र छलफल गरे। तर, हार मानेनन्। ‘नहुनु भइसक्यो। परिस्थितिले तपाईंको सिउँदो पुछियो तर तपाईंको निर्णयले अर्को महिलालाई एकल नबाइदिनुस्। महान व्यक्तिले मात्र माफी दिन सक्छन्। उदार बनिदिनुस् भनेर धेरै सम्झाएँ’ सीडीओ अर्यालले भने, ‘सुरुमा उहाँ (मृतकको श्रीमती) मान्नुभएको थिएन्, जुन स्वाभाविक पनि थियो।
तर, सबैले आग्रह गरेपछि उहाँ ‘ब्लड मनी’ लिएर माफीमा अख्तियारीनामा दिन तयार हुनुभयो।’ जसमा कञ्चन गाउँपालिका अध्यक्ष र मृतकका दाजु मेघनाथ शर्माले सहयोग गरेको उनले बताए। मृतक परिवार तयार भएपछि ‘ब्लड मनी’ जम्मा गर्नु सीडीओ अर्याल समक्ष अर्को संकट आइपर्यो। किनभने पीडक परिवारको अवस्था दयनीय थियो। त्यसपछि सहयोगबाट ‘मुख फर्काएका’ स्थानीय सरकारहरूभन्दा माथि उठेर सीडीओ अर्यालले असल प्रशासकको भूमिका निर्वाह गरेको भन्दै स्थानीयले प्रशंसा गरेका छन्।
‘हामीले हाम्रो स्तरबाट बुझ्दा यादव परिवार ‘ब्लड मनी’ दिन सक्ने अवस्थामा थिएन्न्’ उनले भने, ‘कसैले सहयोग नगरेपछि मैले आफैं व्यक्तिगत रूपमा ५० हजार रुपैयाँ जम्मा गरेर ‘ब्लड मनी’ को सुरुवात गरे। किनभने विदेशी भूमिबाट नेपालीको ज्यान जोगाएर आमासँग बाबा कहिले आउनुहुन्छ ? भनेर सधैं प्रश्न खेपिरहने र गरिरहने आमा र छोरीहरूसँग मिलन गराउनु थियो।’ दुई जना सहायक प्रमुख जिल्ला अधिकारी, नेपाल प्रहरी, सशस्त्र प्रहरीका एसपी र राष्ट्रिय अनुसन्धान विभागको जिल्ला प्रमुखले पनि स्वचेछिक रूपमा २५/२५ हजार रुपैयाँ जम्मा गरे। रकम संकलन हुन थाल्यो।
त्यसपछि अर्यालले भैरहवाका व्यापारी, सामाजिक व्यक्तित्वहरूसँग घटनाबारे छलफल गरेर ‘ब्लड मनी’ जुटाउन अनुरोध गरे। सबै तयार भए। कुल ३६ लाख २५ हजार रुपैयाँ संकलन भयो। पीडक परिवारले पनि अढाई धुरमा रहेको फुसको घर र १५ धुर जग्गा गरी सम्पूर्ण जायजेथा बेचेर सात लाख रुपैयाँ जम्मा गर्यो र ऋण काढेर ३ लाख गरी १० लाख जुटायो। दुवै गरेर ४६ लाख २५ हजार ‘ब्लड मनी’ मृतकको श्रीमती सीता शर्मालाई उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष कृष्णप्रसाद शर्मा सहितले बैंकमा जम्मा गरिएको रकमको भौचर हस्तान्तरण गरे। भौचर बुझ्दै गर्दा मृतककी श्रीमती भक्कानिएकी थिइन्। श्रीमती शर्माले माफीमा मन्जुरीनामा सहितको अख्तियारीनामा दिइन्।
उता यादवकी श्रीमतीले जीवनकै ठूलो गुण लगाएको सम्झिएर सीडीओ अर्याललाई समाएर रुन थालिन्। सीडीओ अर्याल पनि भावुक हुँदै आँखा रसाएर आँसु झार्न थालेपछि उठेर कार्यकक्षतर्फ लागे। महासंघका अध्यक्ष शर्माले बजारको आर्थिक अवस्था राम्रो नरहे पनि सामाजिक उत्तरदायित्वअन्तर्गत रकम संकलन गरी सहयोग गरिएको बताए। मृतक परिवारका तर्फबाट प्राप्त माफीमा मन्जुरीनामा सहितको अख्तियारीनामा कन्सुलर सेवा विभाग पठाइएको अर्यालले बताए।
पीडकको श्रीमती यादवले रूपन्देहीका प्रमुख जिल्ला अधिकारी र यहाँका व्यवसायी आफ्नो परिवारका लागि भगवान् सरह भएको बताइन्।
‘धेरै जनासँग सहयोग माग्यौं। निकै भौतारियौं। कसैले सहयोग नगरेपछि हामीले श्रीमान् फर्किने आशा मारिसकेका थियौं। तर, चिनजान नै नरहेको सीडीओ साहबले सहयोग गर्नुभयो’, स्थानीय मैथिली भाषामा बोल्दै उनले भनिन्, ‘हामीहरूका लागि उहाँ भगवान् बनेर आउनुभयो। अब सीडीओ साहबको फोटो लगेर उहाँको पूजा गर्छौं।’
जसका लागि पीडक परिवारले सीडीओ अर्याललाई वास्तविकता जानकारी नगराई साथमा फोटो खिच्ने अनुरोध गरेर फोटो लिएर बसमा जनकपुरधाम फर्किएका छन्। कागजी प्रक्रिया अघि बढेपछि सामूहिक तस्बिर खिचाउने क्रममा सीडीओ अर्यालले यादव परिवारलाई भने, ‘अब चिन्ता नलिनुहोस्। मैले सकेको गरेको हुँ। रामआशिष छिट्टै घर फर्किनेछन्।’
‘अदालतबाट यादवविरुद्ध मृत्युदण्डको सजाए नै फैसला भएको होइन। ६ वर्ष जेल सजाए भएको हो’, कन्सुलर सेवा विभागका कानुन अधिकृत कृष्णप्रसाद बस्यालले अन्नपूर्ण पोस्टसगँ भने, ‘त्यही सजायमा पनि मृतक परिवारलाई चित्त नबुझे अधिकत्तम सजाय (मृत्युदण्ड सम्म) का लागि दाबी गर्न सक्ने वा क्षतिपूर्तिसहित माफी दिने विषय थियो। अधिकतम सजाएका लागि दाबी गरेको भए जेल सजाय बढ्ने वा मृत्युदण्ड सजायको सम्भावना पनि रहन्थ्यो। जसलाई नकार्न सकिँदैन। त्यो अदालतले विचार गर्ने विषय हो। तर, मृतक परिवारले क्षतिपूर्तिसहित माफीमा मन्जुरीनामा दिनुभएको छ। त्यसैअनुसार प्रक्रिया अघि बढाउँछौं।’
उनले प्रशासन कार्यालयबाट प्राप्त कागजपत्रहरू साउदी पठाइने र प्रक्रिया पूरा भएपश्चात् यादव स्वदेश फर्किने बताए। ‘अब जेलमा रहेका यादवको रिहाइका लागि प्रक्रिया सुरु हुन्छ’, उनले भने, ‘प्रक्रिया पूरा हुनका लागि केही समय लाग्छ। यादवले पाएको ६ वर्ष जेल सजाए भुक्तानअघि नै प्रक्रिया पूरा भए पहिल्यै रिहाइ हुन्छ, नभए केही समय लाग्न सक्छ तर उनी स्वदेश फर्किन्छन्।’