बहुविवाह मुद्दाका फरार प्रतिवादी पक्राउ
गुलरिया : बहुविवाह मुद्दामा बर्दिया जिल्ला अदालतबाट सजाय तोकिएका बर्दियाको गुलरिया नगरपालिका-२ संगम बस्तीका फरार प्रतिवादी जितु बिकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। आफ्नै घरमा लुकीछीपी बसिरहेको अवस्थामा जिल्ला प्रहरी कार्यालय बर्दियाको टोलीले पक्राउ गरेको छ।
बर्दिया जिल्ला अदालतको २०८० मंसिर २९ गतेको फैसला आदेशले ३ वर्ष ४ महिना १४ दिन कैद सजाय र ३५ हजार रुपैयाँ जरिवाना तोकिएका फरार विकलाई विशेष सूचनाका आधारमा घरमै पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी निरीक्षक कुशल सिंह ठकुरीले जानकारी दिए।
बिकलाई आवश्यक कारबाहीका लागि बर्दिया जिल्ला अदालतमा दाखिला गरिएको निरीक्षक ठकुरीले बताए। पछिल्लो समय बर्दिया प्रहरीले फरार प्रतिवादीहरूलाई धमाधम पक्राउ गर्न थालेको छ।