साँढे १७ हजार पशुलाई लम्पी स्किन खोप
नुवाकोट : भयावह समस्याका रूपमा रहेको लम्पी स्किन रोगविरुद्ध नुवाकोटमा पशुचौपायालाई खोप लगाउने कार्य गरिएको छ। सो रोगका कारण नुवाकोटमा गत वर्ष तीन सय १४ वटा पशुको ज्यान गएको पशु सेवा कार्यालय नुवाकोटले जनाएको छ।
साताव्यापी अभियानका रूपमा रहेको सो खोप लगाउने कार्यका लागि ६० जना प्राविधिकसहितका कर्मचारी खटिएका छन्। गाईभैँसीमा लाग्ने विषाणुजन्य लम्पी स्किन रोगविरुद्ध पशु सेवा कार्यालय नुवाकोटले अभियान सञ्चालन गरेको हो।
अभियान सकिए पनि खोपको डोज बाँकी रहेका कारण यसलाई निरन्तरता दिइने कार्यालयले जनाएको छ। नुवाकोटका हजारौं किसानले पालेका गाईभैँसीलाई निःशुल्क खोप लगाउन आवस्यक खोपसहित ३५ जना खोपकर्ता परिचालन गरिएको छ।
अभियानअन्तर्गत २० हजार पशुचौपायालाई यो चरणमा खोप लगाउने लक्ष्य रहेको कार्यालयका प्रमुख तथा वरिष्ठ पशु विकास अधिकृत डा. रामप्रकाश प्रधानले बताए। उनका अनुसार बिहीबार बेलुकीसम्म १७ हजार पाँचसय गाईभैँसी, पाडापाडी र बाच्छाबाच्छीलाई खोप लगाइएको छ।