अनि दैलेखमा थालियो तामाखानीको अध्ययन

अनि दैलेखमा थालियो तामाखानीको अध्ययन
सुन्नुहोस्

दैलेख : नारायण नगरपालिका–३ खुर्सानीबारी गाउँकी ८६ वर्षीया देउमनी जैसीलाई वर्षौं पहिले गाउँमै तामा निकालेको याद ताजै छ। उनी सानै छँदा गाउँमा तामाखानी रहेको र खानीको खोजी गर्ने हल्ला चल्यो। ‘त्यसबेला तामाखानी खोतल्न ठूलो खाडल खनियो। तामाजस्तो वस्तु देखिएपछि कसले निकाल्छ भनेर छलफल चल्यो। पछि गाउँकै मोतीलाल कामीले तामा काट्छन् भन्ने थाहा भएपछि उनलाई बोलाइएको थियो,’ उनी भन्छिन्। मोतीलाल आएर तामा काटेर लिएको सम्झना छ उनलाई। ‘पहिले कालो–कालो वस्तु देखियो। त्यसपछि तामा देखा प¥यो। मोतीलालले आराले काटेर चार हात लामो तामा काटेर लिएँ,’ देउमनीले भनिन्।

तत्कालीन समयमा तामाखानीको चर्चा बेस्सरी चल्यो। स्थानीय ८४ वर्षीय मनकेशरी कोइरालाका अनुसार तामाखानीको चर्चा तत्कालीन बडाहाकिम रत्नविक्रमले थाहा पाए। ‘बडाहाकिमले आठ जनाको टोली ल्याएर तामा निकाले, स्थानीयले पनि तामा लिए। उनीहरूले गाग्री र थाल बनाए। पछि गाग्री पनि चर्किन थाल्यो। थालहरू भुइँमा खस्नासाथ फुट्यो। त्यसपछि यो तामामा अरू रसायन मिसाएर बनाएपछि राम्रो तामा रहेछ भनेर बडाहाकिमले उक्त ठाउँ पुर्न आदेश दिए,’ मनकेशरी भन्छन्। त्यसपछि तामा खानीको चर्चा सेलाएको उनी बताउँछन्।

स्थानीय उदयराम कोइरालाले तामा देखेको बताउँछन्। ‘तामा निकाल्न भनेर खनिएको गहिरो खाडल थियो, त्यसबेला गाउँका मुखिया मनिराम कोइरालाले तामाखानी खोज्न बडाहाकिमलाई ल्याएर खनेका हुन्। यहाँ तामाखानी छ। तलपट्टि फलामखानी पनि छ भनेको सुनेका हौं,’ उनले भने। फलामको कच्चा पदार्थ भनेर साना–साना गिट्टीहरू अहिले भेटिने गरेको कोइराला बताउँछन्।

उनीहरूजस्तै खुर्सानीबारी क्षेत्रमा बूढापाकाहरूले स्थानीय तामाखानी सामुदायिक वनमा तामाखानी भएको वर्षौंदेखि बताउँदै आएका थिए। कुनै समय तामा निकालेको भन्दै प्रत्यक्षदर्शीहरूले जानकारी गराएपछि यस क्षेत्रमा तामाखानीको प्रारम्भिक अध्ययन थालिएको छ। खानी तथा भूगर्भ विभागको टोलीले यस क्षेत्रमा प्रारम्भिक अध्ययन थालेको हो। 

यहाँका स्थानीयले तामाखानीको तथ्य बताएपछि प्रतिनिधिसभाका सांसद सूर्यकुमारी श्रेष्ठले संसदमा समेत उठाएकी थिइन्। दैलेखमा पेट्रोलियम पदार्थ अन्वेषणको अध्ययन चलिरहेका बेला अन्य सम्भावित खानीहरू अध्ययन गरिदिन विभागलाई आग्रह गरेको सांसद श्रेष्ठ बताउँछिन्। उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी पेट्रोलियम अन्वेषणको ड्रिलिङ उद्घाटन गर्न दैलेख आउँदा स्थानीय जनप्रतिनिधिहरूले तामाखानीको अध्ययन गरिदिन आग्रह गरेका थिए।

विभागका जियोलोजिस्ट प्रकाश लुइँटेलले दैलेखमा पेट्रोलियम पदार्थ अन्वेषण चलिरहेका बेला तामाखानीबारे विभागलाई जानकारीमा आएको बताए। ‘जनप्रतिनिधिलगायतको अनुरोधमा हामी तामाखानी रहेको भनिएको क्षेत्रमा पुगेका छौं, हामीले त्यहाँबाट केही ढुंगाको नमुना संकलन गरेका छौं। पहिला खानी भनेर खनिएको गहिरो स्थानकै ढुंगा छ भने उपलब्ध गराइदिन स्थानीयलाई भनेका छौं,’ उनले भने। पहिलो चरणको अध्ययनले सकारात्मक परिणाम दिएमा थप प्रक्रिया अगाडि बढाउने लुइँटेलले बताए। तामा देखेका पुराना व्यक्तिहरूको भनाइका आधारमा अध्ययन गर्न सजिलो हुने नारायण नगरपालिका–३ का वडाध्यक्ष चन्द्रप्रसाद उपाध्याय बताउँछन्। ‘खानी भएको भनिएको भागमा सडकको माटोले पुरिएको छ। चट्टान देखिने भागसम्म खोलेर विभागको टोलीलाई पुनः बोलाएर अध्ययनका लागि थप सहजीकरण गर्छांै,’ उनले भने।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.