संस्कृति संरक्षणका लागि लाखे प्रदर्शनी
![संस्कृति संरक्षणका लागि लाखे प्रदर्शनी](https://annapurnapost.prixacdn.net/media/albums/Untitled-1_6Kr06KnvJd_wvBBWMO3EN.jpg)
दोलखा : दोलखा सदरमुकाम चरिकोटमा सांस्कृतिक विकास र जात्रा-पर्वहरूको संरक्षण र प्रवर्द्धनका लागि लाखे नाचको आयोजना गरिएको छ।
बिहीबार दोलखासहित विभिन्न ४ जिल्लाको १७ प्रकारका लाखे नाच प्रदर्शन गरिएको हो। जिल्लाको चरिकोट, जिरी र लापीलाङ, रामेछापको भंगेरी, चिसापानी र मन्थली, काठमाडौंको मच्छेगाँउ, काभ्रेपलाञ्चोकका धुलिखेलबाट आएका टोलीले लाखे नाच प्रस्तुत गरेका थिए।
भीमेश्वर नगरपालिकाको सहयोगमा लालीगुराँस युवा क्लब चरिकोटले लाखे नाच प्रदर्शनी कार्यक्रमको समन्वय गरेको लालीगुराँस युवा क्लबका अध्यक्ष प्रविन श्रेष्ठको भनाइ छ। क्लबले चरिकोटमा प्रदर्शन गर्दै आएको लाखे नाचलाई जिल्लाको जिरी, मैनापोखरी, किर्नेटार, मागादेउराली, सिंगटी, काठमाडौंको मच्छेगाँउ र चितवनमा समेत प्रदर्शनको लागि लगेको र सोही क्रममा यो बर्ष अन्य जिल्लाको लाखे नाच पनि चरिकोटमा प्रदर्शनका लागि ल्याउने कार्यक्रमअनुसार बिहिबार दोलखा लगायत विभिन्न ४ जिल्लाको लाखे नाच प्रदर्शन गरिएको हो।
चरिकोटमा विभिन्न जिल्लाको लाखे नाच प्रदर्शन गर्दा सांस्कृतिक आदान– प्रदानसँगै सदरमुकामको आर्थिक विकासमा समेत टेवा पुग्न सक्ने उद्देश्यले लाखे महोत्सव गरिएको क्लबका अध्यक्ष श्रेष्ठले बताए। ‘संस्कृति आदान प्रदान कै लागि आगामी भदौ १४ र १५ गते दोलखा चरिकोटका टोली लाखे प्रदर्शनका लागि काठमाडौंको मच्छेगाँउ जाने भएको छ,’ उनले भने।
सुनसान चसरकोटमा चहलपहल बढाउन प्रदर्शन गरिएको लाखे नाचमा धेरै संख्यामा मानिसहरूको उपस्थिति रहेको थियो। क्लबले चरिकोट गुठीको सहकार्यमा प्रत्येक वर्ष गठेमंगलदेखि कृष्ण जन्माष्टमीको भोलिपल्टसम्म चरिकोट बजारमा लाखे नाच प्रदर्शन गर्दै आएको छ। धेरै वर्ष अघिदेखि सुरु भएको लाखे नाचले सदरमुकामको रौनक बढाएको र अन्य जिल्लाको लाखे नाचबाट पनि नयाँ अनुभव साटासाट हुने हेतुले यो वर्ष अन्य जिल्लालाई आमन्त्रण गरिएको हो।
लाखे नाच ऐतिहासिक सहर दोलखाबाट सुरु भएको हो। दोलखा कै सिको गर्दै २०१६ सालबाट सदरमुकाम चरिकोटमा पनि लाखे नाच प्रदर्शन सुरु गरिएको चरिकोट बासीको भनाइ छ। झण्डै डेढ सय वर्ष अघि चरिकोट पुरानो बजारमा नेवार समुदायको बसोबास सुरु भएपछि विभिन्न पर्व तथा जात्राको सुरुवात भएको हो।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)