संघर्षले निखारिएका सागर

संघर्षले निखारिएका सागर

काठमाडौं : वीरगन्जका राजकुमार गुभाजु राष्ट्रिय स्तरका राम्रै खेलाडी थिए। उनले थुप्रै घरेलु प्रतियोगितामा प्रतिस्पर्धा पनि गरे। कयौं खेलमा उनले पदक पनि जिते। उनी नेपाली खेलकुदसँग राम्रै जानकार थिए। खेलकुदभित्रका राजनीति र बेथितिसँग राम्रैसँग जुधेका राजकुमार आफ्ना सन्तान खेलकुदमा नलागोस् भन्ने चाहन्थे। त्यसैले उनले आफ्ना छोरालाई खेलकुदबाट टाढा पनि राखे। तर, छोरा सागरले भने अन्जानमै उनकै पद्चाप पछ्याइसकेका थिए। सागर बुवाले जस्तै आफू पनि खेल्न चाहन्थे। सानोमा जति कर गरे पनि बुवाले उनको कुरा सुनेनन्। ‘खेलकुदमा लाग्नु हुन्न’ भन्दै पन्छाइरहन्थे। स्कुलमा सागरका साथीभाइ खासै थिएनन्। साथीहरूले हेप्ने र होच्याउने गरिरहन्थे। आठ कक्षा पास गरेपछि सागरले बुवालाई यही कुरा सुनाए। सेल्फ डिफेन्सका लागि मात्रै भए पनि खेल्छु भनेर उनी डोजाङमा छिरे। 

वीरगन्ज तेक्वान्दो डोजाङमा छिर्नासाथ उनले अनौठो अनुभव महसुस गरे। तेक्वान्दो खेल्ने वषौंदेखिको सपना पूरा भएकोमा उनी एकातिर खुसी थिए भने अर्कोतिर बुवालाई आगामी दिनमा कसरी मनाउने भन्ने चिन्ता पनि उनमा थियो। उनले धेरै कोसिस गरेर बुवालाई मनाए। बुवाको स्वीकृति पाएपछि उनी निर्धक्क भएर खेल्न थाले। उनले केही प्रतियोगिताहरू पनि खेले। तर, एसईईको तयारीका कारण उनले लामो समयसम्म खेल्न पाएनन्। सागर पढाइमै केन्द्रित भए। एसईई नदिउन्जेलसम्म उनी खेलकुदबाट टाढा भए। 

एसईई सकिएपछि सागर फुक्का भए, पढाइको बोझबाट पनि मुक्त। त्यसपछि उनले फेरि तेक्वान्दो प्रशिक्षण सुरु गरे। निकै मेहनती उनले छोटो समयमै निकै प्रगति गरे। २०७० मा नेकोस राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिपमा सहभागिता जनाए। उनले त्यो प्रतियोगितामा उत्कृष्ट प्रदर्शन मात्रै गरेनन्, धेरैको नजरमा पनि पर्न सफल भए। नेकोसमा उनले विभागीय टोलीका खेलाडीलाई पराजित गर्दै स्वर्ण पदक जितेका थिए। त्यसैले उनी विभागीय टोलीको नजरमा परे। उमेर सानो भएका कारण उनी त्यतिबेला कतै जान पाएनन्। पछि त्रिभुवन आर्मी क्लबले उनलाई प्रस्ताव गर्‍यो। उनले त्यसलाई सहर्ष स्वीकारे। २०७३ मा पूर्वाञ्चलमा आयोजना भएको सातौं राष्ट्रिय खेलकुद प्रतियोगिता आर्मीबाट खेल्दै स्वर्ण जित्न सफल भए। विभागमा आवद्ध भएपछि उनको खेल कौशलले झनै फक्रिने मौका पायो। आर्मीबाट उनले विभिन्न प्रतियोगितामा प्रतिस्पर्धा गरे। करिब ६ वर्षको अवधिमा ११ स्वर्ण मात्रै दिलाएनन्, थुप्रै प्रतियोगितामा आर्मीलाई च्याम्पियन बनाउन पनि अहंम भूमिका निर्वाह गरे। 

सागरले आर्मीबाट सातौं राष्ट्रिय खेलकुद, कोरियन एम्बेस्डर तेक्वान्दो च्याम्पियनसिप, एभरेष्ट अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिप र राखेप च्याम्पियनसिपमा स्वर्ण पदक जिते। नेपालगन्जमा भएको आठौं राष्ट्रिय खेलकुदमा भने उनी कांस्य पदकमा सीमित भए। उनले प्रधान सेनापति ट्रफीमा मात्रै चार स्वर्ण जित्दा एभरेष्ट अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिपको दुवै संस्करणमा पहिलो स्थान हासिल गरे। 

घरेलु प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेका सागर सन् २०१८ को एसियाली खेलकुदको बन्द प्रशिक्षणमा पनि सहभागी भए। इन्डोनेसियामा आयोजना भएको १८औं एसियाली खेलकुदका लागि तेक्वान्दोको तयारी दक्षिण कोरियामा भएको थियो। उनले त्यही भएको प्रतियोगितामा पनि प्रतिस्पर्धा गरे र स्वर्ण पदक जित्न सफल भए। यसैगरी कोरिया ओपनमा पनि प्रतिस्पर्धा गरेका थिए। १८औं एसियाली खेलकुदमा पहिलो खेल जित्दै क्वार्टरफाइनलमा प्रवेश गरेका थिए। तर, चोटका कारण उनी क्वार्टरफाइनलबाट अगाडि भने बढ्न सकेनन्। १९औं एसियाली खेलकुदको साइनो उनीसँग चार वर्ष अगाडि नै बनिसकेको थियो। दक्षिण कोरियाको इन्चोनमा भएको १७औं एसियाली खेलकुद हुँदा सागर वीरगन्जमै थिए। बुवाले बोलाएर टेलिभिजनमा एसियाली खेलकुद हेर्न लगाए। टेलिभिजनमा खेल हेरिरहँदा उनको मुखबाट अनायसै ‘अर्को पटक म पनि खेल्छु’ भन्ने शब्द निस्कियो। त्यतिबेला बुवाले त्यो कुरामा ध्यान दिएनन्। नभन्दै उनले चारपछि १८औं एसियाली खेलकुदमा प्रतिस्पर्धा गरे। 

त्यसपछि २०१९ मा चीनको वुहानमा आयोजना भएको वल्र्ड मिलिट्री गेम्समा सागरले सहभागिता जनाए। चीनबाट स्वदेश फर्किएलगत्तै नेपालमै तय भएको १३औं दक्षिण एसियाली खेलकुद (साग) को छनोटमा प्रतिस्पर्धा गरे। तर, उनलाई ‘डिसक्वालिफाइड’ गरियो। जसकारण उनले आफ्नै देशमा भएको बृहत अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्न पाएनन्। 

कोरोना कालमा मानसिक तनाव

आफ्नै देशमा आयोजना हुने १३औं साग खेल्छु भन्ने दृढ इच्छा सागरमा थियो। उनले यसका लागि निकै मेहनत पनि गरेका थिए। पहिलो चरणको छनोट पार गर्दै उनी दोस्रो चरणमा पुगेका थिए। तर, उनी दोस्रो चरणबाट भने अगाडि बढ्न सकेनन्। उनले खेल जित्दाजित्दै पनि ‘डिसक्वालिफाइड’ गरियो। आफूमाथि आइपरेको त्यो पीडा सहन उनलाई निकै गाह्रो भयो। १३औं सागअन्तर्गत तेक्वान्दोको प्रतिस्पर्धा सातदोबाटोमा भएको थियो। त्यो प्रतियोगिता हेर्न ब्यारेकका अधिकांश खेलाडी सातदोबाटो पुगेका थिए। तर, उनी भने ब्यारेकमै बसे। ब्यारेकको टेलिभिजनमा प्रत्यक्ष प्रशारण भइरहेको थियो। उनले त्यो हेर्न सकेनन् र टेलिभिजन बन्द गरेर बसे। त्यो बेला उनी निकै विक्षिप्त भएका थिए। १३औं साग सकिएलगत्तै संसारभर कोभिडको महामारी पनि सुरु भयो। नेपालमा पनि लामो समय लकडाउन भयो। ब्यारेकमा बस्दाबस्दै उनलाई मानसिक समस्याले गाँज्न थाल्यो। उनले धेरै प्रयास गरेर यसबाट छुटकारा पाए। कोरोना भाइरसको महामारी ओरालो लागेसँगै उनी १९औं एसियाली खेलकुदको तयारीमा लागे। एसियाली खेलकुद र वल्र्ड मिलिट्री गेम्सका लागि छनोट पनि भएका थिए। यहीबीचमा उनी अध्ययनका लागि अस्ट्रेलिया हानिए। उनले त्यहाँ पढ्ने मात्रै होइन, तेक्वान्दोलाई पनि अगाडि बढाए। अस्ट्रेलियामा सनसाइन ओपनमा प्रतिस्पर्धा गरेका उनले स्वर्ण पदक पनि जिते। यस्तै डब्लुटी प्रेसिडेन्ट कप, अस्ट्रेलियन ओपन, केपीएनपी तेक्वान्दो च्याम्पियनसिपलगायतका प्रतियोगितामा उनले उत्कृष्ट प्रदर्शन गरे।

भाइलाई स्वर्णको श्रद्धाञ्जलि

सागर अस्ट्रेलियामा पढाइसँगै खेलकुदलाई अगाडि बढाइरहेका थिए। उनी अस्ट्रेलियामा आफै प्रशिक्षण गर्थे भने त्यहाँका खेलाडीलाई प्रशिक्षण पनि गराउँथे। त्यही क्रममा उनले विभिन्न प्रतियोगितामा प्रतिस्पर्धा गरे। केहीमा स्वर्ण पदक पनि जित्न सफल भए। उनी २०२३ मा केपीएनपी तेक्वान्दो च्याम्पियनसिपमा सहभागी हुने तयारीमा थिए। त्यही बेला आफ्नो भाइको मृत्युको खबर सुने। केही समय त उनले त्यो कुरा पत्याउनै सकेनन्। कल्पनै नगरेको कुरा कसरी हुनसक्छ भनेर एकोहोरो सोचिरहे। तर, सत्य त्यही थियो। २५ वर्षको अल्पआयुमै उनका भाइ यस संसारबाट बिदा भएका थिए। त्यसैले उनले यो शोकलाई शक्तिमा बदल्ने संकल्प लिए। उनीसँग बिताएका पललाई सम्झिँदै सागरले केपीएनपी च्याम्पियनसिपमा प्रतिस्पर्धा मात्रै गरेनन्, स्वर्ण पदक पनि जित्न सफल भए। ‘कोरोना महामारीकै समयमा म मानसिक रुपमा कमजोर भएको थियो। भाइ बितेको खबर सुनेपछि त झन् विक्षिप्त भएँ। कहिल्यै कल्पनै नगरेको खबर सुन्नुपर्दा आफूलाई सम्हाल्न एकदमै गाह्रो हुँदोरहेछ’, सागर भन्छन्, ‘सधैं त्यही कुरा सोचेर मात्रै हुँदैन। शोकलाई शक्तिमा बदल्नु पर्छ र खेलबाटै भाइलाई श्रद्धाञ्जलि दिनुपर्छ भनेर प्रतियोगितामा भाग लिएँ र स्वर्ण पदक पनि जित्न सफल भएँ।’ पछिल्लो समय अमेरिका भ्रमणमा रहेका सागरले त्यहाँ प्रतिष्ठित प्रतियोगिताहरूमा पनि प्रतिस्पर्धा गरेका थिए। उनले दोस्रो एभरेष्ट राष्ट्रिय खुला तेक्वान्दो प्रतियोगिता, डालास ओपन र क्यापिटल ओपनमा स्वर्ण पदक जितेका थिए। निकै मेहनती र प्रतिभावान सागरले लेभल वान प्रशिक्षण कोर्स पनि उतीर्ण गरेका छन्। उनी सक्रिय खेलाडी जीवनबाट विश्राम लिएपछि पनि तेक्वान्दोमै समर्पित हुने बताउँछन्। ‘तेक्वान्दोबाट कहिल्यै पनि टाढा हुन सकिँदैन। त्यसैले आफूले सकुञ्जेल तेक्वान्दोमै लाग्ने योजना बनाएको छु’, सागर भन्छन्।  
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.