व्यवसायमा विकल्प खोज्दै, फड्को मार्दै
दोलखा : भीमेश्वर नगरपालिका-९ खरीढुंगाका सोनाम तामाङ व्यवसायबाट नै गुजारा चलाउन अनेक विकल्पको खोजीमा छिन्।
२०६८ सालबाट सदरमुकाम चरिकोटको बीच बजारमा फेन्सी पसल सुरु गरेकी सोनाम आजभोली अलि निरास छिन्। एक लाखको लगानीबाट सुरु गरेको फेन्सी पसल अहिले ५० लाखको भएको छ। तर व्यापार भने सुक्दै गएको छ। दसैंको सिजनमा दिनमा ३ लाखसम्म व्यापार गरेको उनलाई अहिले भाडा तिर्न पनि धौँ धौँ भएको छ। फेन्सी पसलले नै चिनाएको सोनामलाई बजारको आर्थिक मन्दीले प्रभाव पारेको छ।
साधारण लेखपढ गरेकी उनले पुर्ख्यौली पेशा आलु खेती र बन्दा खेतीलाई पनि निरन्तरता दिँदै आएकी छिन्। कोभिडको समयमा २०७६ सालको पहिलो लकडाउनले फेन्सी पसललाई नराम्रो असर गरेपछि उनले बोइलर कुखुरा पालन सुरु गरिन्। पाँच लाखको लगानीमा सुरु गरेको बोइलर कुखुरा पालन अहिले राम्रै छ। उनले दाना व्यापार पनि सुरु गरेकी छिन्।
फेन्सि पसल अहिले ठप्प छ। ‘वैकल्पिक पेसा नअपनाएको भए यतिखेर मेरो बिजोक हुने अवस्था थियो’, उनले भनिन्। अहिले चरिकोटका सबै व्यवसायी व्यापारको अवस्था देखेर दिक्क छन्। वैकल्पिक व्यवसाय खोजेको कारण आफ्नो गुजारा चलाउन सहज भएको छ। लकडाउनपछि वैकल्पिक पेसा कखुरा पालन, आलुखेती र बन्दा खेतीलाई प्राथमिकता नदिएको भए मेरो पनि उठीबास हुने थियो।
बैंक र सहकारीको किस्ता तिर्न नसक्दा घर जग्गा लिलाम भइरहेको अवस्था रहेको उनले बताइन्। ‘लेखपढ छैन तर व्यवहारले नै मलाई पढायो। जस्तोसुकै हरहिसाब गर्न पनि सक्छु। जुनसुकै काम गर्दा पनि मेहेनत गर्नुपर्छ। मेहेनत गरियो भने जीवन चलाउन खासै गारो छैन। एउटा काम भएन भनेर हात बाधेर बस्यो भने त यो परिवेशमा गारो छ। व्यापारलाई मात्र आस गर्दा चरिकोटका धेरै व्यवसायीहरुले अहिले पेशाबाट हात धोएर घरको न घाटको भएर बस्नु परेको अवस्था छ। काम गर्न डराउनु हुँदैन, मेहेनत गर्नुपर्छ’, उनले भनिन्।
उनले ५ लाखबाट बोइलर कुखुरा पालन सुरु गरिन्। ‘लोकल कखुरा पनि छन्। सँगै ७ लाख ५० हजारबाट दाना पसल पनि सुरु गरेको छु। बिहान उठेदेखि पसिना बगाउछु, मेहेनत गर्छु। दुई तिन जनालाई रोजगारी पनि दिएको छु। पेन्सी पसलबाट मात्रै हुन्छ भन्ने सोचेर बसेको भए व्यवसायको अवस्था यही हो, चरिकोटका चर्को घरभाडा थेग्न सक्ने अवस्था छैन’, उनले भनिन्। दोलखामा व्यवसायीलाई हौसला दिन र बजारलाई चलायमान बनाउन स्थानीय सरकारले केही कदम चाल्नुपर्ने उनको भनाइ छ।