तीज नजिकिँदै गर्दा तीज गीतको रौनक बढ्दो छ। यद्यपि पछिल्लो समय तीज गीतमा मौलिकता हराउँदै गएको देखिन्छ। कतिपय गीतहरूप्रति सामाजिक सञ्जालमा निकै व्यंग्य गरिएको पाइन्छ। भाइरल हुने लोभमा केही अश्लील शब्दसहितका गीत पनि बजारमा व्याप्त छन्। भ्युज बटुल्ने होडबाजीले मौलिक गीतका सर्जकहरू मारमा परेका छन्। तर पनि बर्सेनि तीजका राम्रा गीतको पर्खाइमा बस्ने श्रोता एवं दर्शक भने भाइरल गीतको पछाडिभन्दा सभ्य र मौलिक तीज गीतमै रमाउँछन्।
काठमाडौं : लोकप्रिय गीतका सर्जक शिव पलाँस भन्छन्, ‘घरमा एक्लै तीज गीत हेर्दै थिएँ, साथी अचानक ढोका ढकढक्याउन आयो। मेरो पालो झ्याप्प विश्व घटनातिर लगाए। गाह्रो छ हो मलाई। यो उनको सामाजिक सञ्जालमा तीज गीतप्रतिको व्यंग्य थियो।
अर्का एक जना सामाजिक अभियन्ता लेख्छन्, ‘तीज गीत सुन्नै नसकिने भो बरु रत्यौली सुन्न सकिएला, तर तीज गीत सुन्न सकिएन।
अभियन्ताको पनि टिप्पणी निराशाजनक नै छ। ‘बुवा, आमा, दिदी, बहिनी अथवा परिवारसँगै बसेर तीजका गीत हेर्न लाजमर्दो छ।’ उनले सामाजिक सञ्जालमा पोख्छन्।
सामाजिक सञ्जालमा व्यंग्य र पछिल्लो केही तीजप्रतिको चिन्ता व्यक्त गर्नेहरूको संख्या धेरै छ। तीजको गीतसँगै पछिल्लो समय तीजमा हराउँदै गएको मौलिकताप्रति बुढापाकाको गुनासो उत्तिकै छ।
भाद्र महिनाको शुल्क पक्ष तृतीया तिथि हिन्दु महिलाको महान् धार्मिक चाड हरितालिका तीज हो। तीज विशेषगरी महिला माइत जाने, दरखाने, भगवान् शिवको लागि व्रत बस्ने, नयाँ रातो लुगा, गहना लगाउनेसँग बढी चर्चामा आउँछ। तर पछिल्लो समय गीतहरू निकै लाजमर्दो र सुन्नै नसक्ने अवस्थामा पुगेका छन्। तर केही गीत अश्लील र महिलाको महान् चाडमा महिलालाई नै अपमानित गर्ने खालक छन्।
यस्ता गीतले समाजको मानसिकतामा कस्तो प्रभाव पर्ला ?
तीजको अवसरमा सार्वजनिक भएका गीत ‘मायाको पोको चोखो छ चोखो बिहेअघि दिन्न म लरीलरी लै’, ‘रननन रन्काउँदै ए होई मादलु घन्काउँदै’, ‘हेर्नीले हेर्छ मलाई सुन्नेले सुन्छ’, ‘टिकटकमा भाइरल भा हल्लाएरै हो’,। यो सँगै ‘काले केके बोल्यो बोल्यो, मलाई बिस्ताराले पोल्यो’ भन्ने गीत विवादित भएका छन्। आफ्नो गीत विवादित भएसँगै लोकप्रिय गायिका शान्ति श्री परियारले माफी नै माग्नु परेको छ।कतिपय तीज गीत परिवारसँगै बसेर सुन्न र हेर्न नसक्ने खालका छन्।
विगतका वर्षमा तीजका समयमा उत्ताउला खालका तीजका गीत नल्याइएको होइन। ‘पोइल जान पाम’, ‘डिस्कोमा तीज’, ‘छोटो लुगा’, ‘देखियो जामा फाटेर’ ‘तीजमा दरको साटो रक्सी खाइन्छ’ जस्ता गीत पनि शब्द र ‘भिडियो’का कारण विवादमा परेका थिए तर सुधार होलाभन्दा झनै बढ्दै गएको अवस्था छ। नाचगान गर्ने, मीठोमसिनो खाने र साथीसंगिनीसँग भेटघाटमा भलाकुसारी गरेर परम्परागत शैलीमा मनाउँदै आएको तीज भड्किलो, उत्ताउलो उच्छृंखल बन्दै गएको छ।
तीज हिन्दु नारीले मनाउँदै आएको प्राचीन तथा महत्त्वपूर्ण चाड उच्छृंखलता र अश्लीलता भरिएका शब्द र भिडियो सार्वजनिक गर्दै डिजिटल प्लाटफर्ममा भ्युज बटुल्ने होडबाजीले मौलिक गीतका सर्जकहरू मारमा परेका छन्। समाजमा विकृतिको जन्म भएको छ।
‘मौलिकता बिगार्नु हुँदैन’
त्यसो त राम्रा गीतहरूले पनि ‘भ्युज’ नबटुल्ने होइनन्। हरेक वर्ष तीजका गीत गाउँदै आएकी चर्चित लोकगायिक विष्णु माझीका गीत हरेक वर्ष हिट हुने गरेका छन्। ‘मै छोरी, आइन ओ यो तीजमा आइन आमा, ओ यो तीजमै। एकै झल्को देख्न मन छ तिम्रो आँगन टेक्न मन छ ’ भन्ने गीत सार्वजनिक भएको छ। यो गीत सर्वाधिक लोकप्रिय भएको छ। सबैभन्दा धेरै भ्युज पाएको छ। सबैले मनबाट प्रशंसा गरेका छन्। माँझीको गीत सेयर गर्दै तीजमा उनका गीत नसुनेसम्म तीज आएको महसुस नहुने जस्ता अभिव्यक्ति सामाजिक सञ्जालमा आएका छन्। विष्णु माझी सार्वजनिक नभएको भन्दै विभिन्न टिप्पणी हुने गरे पनि उनका गीत सबैको मन मुटुमा बस्ने गरेका छन्।
सार्वजनिक व्यक्तित्व भएर पनि निजी जीवन हराएकी माझीको ‘बलमा’ ‘चरी जेलैमै’ र ‘चरी जेलैमै २’ ल धेरैले मन पराएका थिए। सपना म्युजिक इन्डस्ट्रिजको युट्युब च्यानलबाट भदौ ८ गते शनिबार सार्वजनिक ‘आइन आमा यो तीजमा’ बोलको गीत युट्युबबाट दुई दिनमा ३० लाख बढी हेरेका थिए भने २० हजारभन्दा बढीले उनको प्रशंसा गरेका छन्।
वरिष्ठ लोकगायिका हरिदेवी कोइरालाको तीज गीत ‘घर धानेर बस राजै’ सार्वजनिक भएको छ। यो गीतमार्फत तीजमा माइत जाँदा घरमा रहेका श्रीमान्ले गर्नुपर्ने कामको बारेमा बुझाएकी छन्। श्रीमतीको अनुपस्थितिमा घरको काम श्रीमान्ले पनि गर्नुपर्छ गृहिणीको कामलाई सामान्य ठान्नेहरूलाई घरमा महिला नहुँदा कति गाह्रो हुन्छ भन्ने महसुस गराउने हरेक घरको यथार्थ नयाँ पुस्तालाई समेत घरमा काम गर्नुपर्ने गीतमार्फत प्रष्ट्याउन खोजिएको छ।
हरिदेवी कोइराला चर्चित लोकगायिका एवं साहित्यकार हुन्। २०४० सालदेखि निरन्तर गायन क्षेत्रमा रहेकी उनले ३ सय तीजका गीतसहित एक हजारभन्दा बढी गीत गाएकी छन्। समाजको यथार्थता र मौलिकता उनका गीतका विशेषता हुन्। तीजमा विशेष गरेर महिलाकै स्वतन्त्र पर्व भएको उनको बुझाइ छ।
उनका उनुसार तीजको विशेष गरेर तीनवटा पाटा छन्। धार्मिक, सांस्कृतिक र सांगीतिक। यो तीनवटाको संयोजन त्रिवेणी तीज हो। केही वर्षयता परिवर्तन भएर आएका तीजका गीतले संस्कृति जोगाउन सकिन्न कि भन्ने चिन्ता कोइरालाको छ। ‘भोलिको पुस्तालाई तीजको महत्त्व यत्तिकै विलिन हुने पो हो कि भनेर तीजको मूल एकदमै धमिलिरहेको अवस्था छ। सबैले चिन्ता व्यक्त गर्दा कलाकार भाइबहिनीहरूले सुधार पनि गर्नु भएको छ। सचेत भइयो भने विस्तारै सङ्लो हुन सक्छ।’ कोइरालाले भनिन्।
४६ सालको जनआन्दोलन, श्रीमान् मन्त्री हुँदा गरेका भ्रष्टाचारका कुरा, विदेशमा बेचिएका चेली, शोषणमा परेका महिलाको व्यथा, श्रीमान्ले रक्सी पिएर दिएका दुःख, गरगहनालगायतका समेटेर विभिन्न भाकामा तीजको गीत गाएकी छन् हरिदेवी कोइरालाले।
उनी भन्छिन्, ‘पुरानो हजुर आमाको पालामा गाउने, हम्केइलो, जुन कतिपयलाई थाहा छैन। यो गण्डक क्षेत्रमा प्रख्यात हो। हिजोदेखि आजसम्म सबै समेटिएको छ।’ कोइरालाको पहिलो तीजको गीत यस्तो छ।
‘आफ्ना माइती मावली नआउने चेलीको
घुमीघुमी किन आयो तीज बरिलै
माइती घर जाउ भने माइती झरे मुग्लान
रुँदै रुँदै गयो, तीज बरिलै’
यसैगरी
‘भृकुटी र सीताजस्तो नारीको यो देशमा
यो देशका चेलीबेटी बेचे विदेशमा’
‘पाइन खबर घर फर्की आउनु मेरो हजुर
यही खनौला गैंची र कोदाली
खाँउला बरु खोलेमा नुन हाली’
यो गीत पनि निकै चर्चा पाएको उनी बताउँछिन्। मौलिकता जगेर्ना, विकृति कसरी रोक्ने ?
पछिल्लो पुस्तालाई तीजको मौलिक भाका, भेषभूषा चिनाउन आवश्यक रहेको कोइरालाको भनाइ छ। ‘गीतको पनि वर्गीकरण हुनु आवश्यक छ। तीजमा जस्तो पायो उस्तै भाका रोक्नुपर्छ।’ उनी भन्छिन्। अश्लील, भड्किलो गीत नियन्त्रण गर्न सरकारी मान्यता प्राप्त सेन्सर बोर्ड हुनु आवश्यक उनको विचार छ।
‘सांस्कृतिक निकाय कलाकार र सञ्चार माध्यमले चाडलाई जीवन्त राख्ने प्रयास गर्नुपर्छ। राष्ट्रियता बोकेको तीजलाई सबैले माया गर्नु भएको छ। भाकालय, भेषभूषा र अनावश्यक कुरा हटाउनेप्रति ध्यान दिइयो भने मौलिकता जोगाउन सकिन्छ। तीजको महिमा र महत्त्वलाई जोगाएर नयाँ पुस्तालाई हस्तान्तरण गर्नु हाम्रो दायित्व हो। हामी कलाकारले पनि हाम्रो कलाकारिताको दायित्व, धर्म पनि निभाउनुपर्छ।’ उनी भन्छिन्, युट्युबमा भ्युज बढाउने होडबाजी तीजका गीतलाई अडियो, भिडिओ तथा पछिल्लो समय सामाजिक सञ्जालमार्फत तीजका गीतमाथि व्यवसाय गर्न थालिएको छ। अग्रज लोक तथा दोहोरीगायक पुरुषोत्तम न्यौपाने पैसा आम्दानी गर्ने माध्यम बनाउन थालिएको बताउँछन्। सबै मिलेर हाम्रो रीतिरिवाज र परम्परालाई जोगाउनु भोलिका भावी पिँढीलाई पनि हाम्रो संस्कृति र मौलिकताको परिचय दिनुपर्ने उनको भनाइ छ।
न्यौपाने भन्छन्, ‘पहिला पहिला ‘लाली जोवन कालीले लग्यो सलल्, कति मार्मिक गीत हुन्थे। घटना गीत वेदना, धार्मिक, विभिन्न घटनाहरूलाई पोखिएको हुन्थ्यो। बाल्यकालमा गाईबाख्रा चराएका पढ्न नपाएका वेदनाका पोकाहरू फुकाइन्थ्यो, समय परिस्थिति परिवर्तन भयो। सुधार भयो यो ठीक हो तर, अहिले तीज बिगारियो। एक महिनाअघिदेखि महँगा पार्टी प्यालेसमा नाच्ने गाउने दरखाने सँगै गीतका भाका टुक्काहरू सुन्नै नसकिने अवस्थामा छन्। रत्यौलीभन्दा पनि अझ सुन्न नसकिने तीजका गीतका अगाडि रत्यौली पनि फेल खान थाल्यो। न्यौपानेले भने।
समाजले पचाएको छ कि छैन् भन्ने हेक्का छैन्। तीजको गीत के हो किन गाइयो। पत्तो छैन। हुँदाहुँदा अहिले त फागुमा पनि तीज गीत प्रतियोगिता गर्न थाले।
उनले थपे, ‘नाम नभनौ केही कलाकार दिदीबहिनीहरूले स्टेजमा नांगा शरीर साप्रा देखाएर भ्युज धेरै बटुल्ने नाममा विकृति निम्त्याएको छ। भनौं भने हामीसँग झगडा गर्छन्, नभनौं भने तीजको मौलिकता हराएर पनि रत्यौलीभन्दा बढी भइसक्यो। छोरी चेलीबेटी दिदीबहिनी आमासँग बसेर तीजका गीत हेर्न नसक्ने अवस्था भयो।’
लोक तथा दोहोरीगायक प्रजापति पराजुली सस्तो भ्युज बढाएर पैसा कमाउने होडबाजीका कारण विकृति फैलिएको दाबी गर्छन्। ‘सस्तो भ्युज आर्यआर्जन लोभले पनि यस्तो विकृति भित्रिएको हो।’ उनी भन्छन्।
उनले विकृति झांगिनुको कारण मिडियालाई पनि दोषी ठान्छन्। यो विकृति फैलिनुमा मिडियाकर्मी पनि दोषी छन्। त्यस्तै गीत गाउनेको तस्बिर भिडियोलार्ई प्राथमिकता दिन्छन्, प्रोत्साहन, प्रचार गर्छन्। श्रोता दर्शकले पनि यस्तै गीत बढी सुन्छन्। शर्मिलाको गीतलाई प्राथमिकता दिँदैनन्। जसरी पनि कमाऊ, चाहे राम्रो गरेर कमाऊ, चाहे नराम्रो गरेर कमाऊ। दामका लागि स्टेज चढछन्, दाममात्र ठूलो कुरा होइन् इमेज बर्बाद हुन्छ। इज्जतको ख्याल गर्नुपर्छ भन्ने छैन। गीत गाइसकेर विवाद आएपछि केहीले माफी पनि माग्छन् तर यसले सच्याएर जानुपर्छ सबैले मनन् भन्नुपर्छ अनि मात्र मौलिकता जोगाउन सकिन्छ। पराजुली थप्छन्, ‘विदेशतिर पनि सञ्जाल समाज छ। संगठन भ्रातृ संगठन छ। त्यस्तै गीत गाउन र आफ्ना सर्कलका कलाकार खोज्छन्। राम्रा गीत र गायक छनोटमा पर्दैनन्। राम्रो नराम्रो बुझ्दैनन्। तिनैसँग सम्बन्धितलाई बोलाउँछन्। समाजले पचाएको छ कि छैन् भन्ने हेक्का छैन्। तीजको गीत के हो किन गाइयो। पत्तो छैन। हुँदाहुँदा अहिले त फागुमा पनि तीज गीत प्रतियोगिता गर्न थाले।
‘सञ्चै छु म हजुरसँग बोल्न पनि डराउछु। साउदी अरब जंगलमा भेडा चराउछु।’ भन्ने गीतका गायक पराजुली आफूले तीजका गीत गाउँदा पुरुषले तीजका गीत गाएको भनेर आरोप खेप्नु परेको सम्झिन्छन्। ‘मलाई पुरुष पनि तीजको गीत गाएको भन्थे म त राम्रो गीत गाउथे नि, अहिले गीत सुन्नै नसकिने छन्। पुरुषले गाएर नाच्दैमा तीजका गीतमा विकृति भन्न नमिल्ने उनको दाबी छ।
सेन्सर बोर्ड नहुँदा समस्या
लोकदोहोरी गीत प्रतिष्ठानले यस्ता गीतहरूलाई नियमन गर्न खाजे पनि गर्न नसक्ने पराजुलीको बुझाइ छ। नियमन निकाय नहुँदा पनि समस्या परेको भन्दै नियमनका लागि सेन्सर बोर्ड आवश्यक भएको बताए। उनले भने, ‘संस्कृति पर्यटन मन्त्रालयले यसमा चासो दिनुपर्छ एउटा सेन्सर कोर्ड आवश्यक छ। लोकदोहोरी, भजन, संगीत सबैलाई नियमन गर्नुपर्छ जसका लागि सेन्सर बोर्ड अनिवार्य हुनुपर्छ। होइन भने नियमन गर्न सकिन्न, यस्तो गीत नगाऊ भन्ने हो भने उल्टै हामीलाई कुट्छन्।
समाजले पचाएको छ कि छैन् भन्ने हेक्का छैन्। तीजको गीत के हो किन गाइयो। पत्तो छैन।
लोक तथा दोहोरी गीत प्रतिष्ठानको अध्यक्ष रीता थापामगर सामाजिक सञ्जाललगायत मिडियाहरूले तीज गीत विकृतिलाई बढावा दिएको बताउँछिन्। लोकसंस्कृतिमा लागेका सर्जकहरूले गल्ती गरे पनि दर्शक, श्रोताले पनि खबरदारी गर्नु आवश्यक छ। हामी दर्शक, श्रोता, सञ्चारमाध्यम र सर्जकले विकृति फैलाउने खालका गीतमा रोक लगाउने र प्रोत्साहन नगर्ने हो भने केही हदसम्म गीतसंगीतको विकृति हट्ने उनको अनुमान छ।
मगरले भनिन्, ‘मिडियाले पनि मौलिक गीतसंगीतलाई मात्र प्राथमिकता दिनुपर्छ। मौलिक गीत गाउनेलाई नसुन्ने उनीहरूलाई निराश बनाउने, यस्तै गीतहरू बढी सुन्दिने हेर्दिने काम भइरहेको छ।’ लोक तथा दोहोरी गीत प्रतिष्ठानले यस्ता गीतहरू रोक्न वा सुझाव दिन किन नसकेको भन्ने प्रश्नमा मगर भन्छिन्, ‘हामीले त आग्रह गर्ने हो, हामीसँंग सदस्य नरहेकालाई हामी रोक्न स्वतन्त्रलाइ (संस्थामा आबद्ध) नहुनेलाई रोक्न सक्दैनौं आग्रह मात्र गर्ने हो।’ मौलिक संस्कृति जोगाउने काम राज्यको पनि दायित्व रहेको बताउँदै उनले सरकारको पनि ध्यान जानुपर्ने धारणा राखिन्।