ताप्लेजुङको पाथीभरा क्षेत्रमा झडप हुँदा सुरक्षाकर्मीसहित १२ जना घाइते, ७ सेल अश्रुग्यास प्रहार
विराटनगर : पदयात्रा गर्दै ताप्लेजुङको पाथीभरा मन्दिर पुगेका ‘नो केबलकार’ पक्षधर र सुरक्षाकर्मीबीच बिहीबार दिउँसो झडप भएको छ।
पाथीभराको केबलकार निर्माण क्षेत्रमा पुगेर ‘नो केबलकार समूह’ले सुरक्षाकर्मीलाई ढुंगामुढा गरेपछि झडप भएको ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले बताए। उनका अनुसार झडपमा सुरक्षाकर्मीसहित १२ जना घाइते भएका छन्। घाइते हुनेमा सुरक्षाकर्मीको संख्या धेरै छ।
शर्माका अनुसार निर्माणस्थल कब्जामा लिने भन्दै उक्त स्थानमा रहेका सुरक्षाकर्मीको घेरा तोड्न खोजेपछि नेपाल प्रहरी र सशस्त्र प्रहरीले रोक्न खोजेका थिए। त्यसपछि विरोध गर्दै पुगेको समूहले ढुंगा हान्न सुरु गरेपछि झडप भएको उनको भनाइ छ।
उनका अनुसार झडपमा नेपाल प्रहरी र सशस्त्रका गरी ११ जना र प्रदर्शनकारीतर्फ १ जना घाइते भएका छन्। पाथीभरा क्षेत्रमा केबलकार बनाउँदा ऐतिहासिक पहिचान मेटिने भन्दै मुक्कुम्लुङ संयुक्त संघर्ष समिति र मुक्कुम्लुङ केबलकार खारेजी संघर्ष समिति बनाएरै चरणबद्ध आन्दोलन भइरहेको छ। तर, ताप्लेजुङका जनप्रतिनिधिदेखि बहुसंख्यक स्थानीय भने केबलकारको पक्षमा छन्। केबलकार पक्षधरले केबलकार बन्नुपर्ने मागसहित यसअघि फुङलिङमा सद्भाव र्याली निकालेका थिए।
प्रतिक्रिया दिनुहोस !